गाजामा इजरायली आक्रमण : दर्जनौँ व्यक्तिको मृत्यु, मृतक अधिकांश महिला र बालबालिका

गाजा पट्टी । इजरायली आक्रमणमा परी दर्जनौँ व्यक्तिको मृत्यु भएको गाजाको स्वास्थ्य मन्त्रालयले बिहीबार जनाएको छ । नयाँ मध्यस्थता सम्झौताअन्तर्गत प्यालेस्टिनी भूमिमा नयाँ सहायता प्रवेश गरेको र लडाकूहरूले बन्धक बनाएकाहरूको लागि औषधि आपूर्ति भएको समय यो नयाँ आक्रमण भएको मध्यस्थकर्ता कतारले जनाएको छ ।

दक्षिणी सहर राफाको एउटै घरमा भएको आक्रमणमा परी १६ जनासहित बुधबार रातभरको आक्रमणमा ९३ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको हो ।

प्यालेस्टिनी मन्त्रालयले भनेको छ, ‘एउटा घरमा भएको आक्रमणमा परी १६ जनाको मृत्यु भएको छ भने मृत्यु हुनेमा अधिकांश महिला र बालबालिका रहेका छन्, घटनामा २० जना घाइते भएका छन् ।’

दक्षिणी सहर खान युनिस र मध्य गाजामा प्यालेस्टिनी शरणार्थी शिविरमासमेत दर्जनौँ आक्रमण भएको मन्त्रालयले जनाएको छ । हडतालपछि बिहानै खान युनिसमाथि कालो धुवाँको मुस्लो देखिएको थियो ।

इजरायलमाथि अक्टोबर ७ मा हमासले एक्कासी गरेको अकल्पनीय आक्रमणका कारण करिब एक हजार १४० जनाको मृत्यु भएपछि इजरायलद्वारा आक्रमण सुरु गरेको थियो । इजरायली बमबारी र स्थलगत आक्रमणमा परी कम्तीमा २४ हजार ४४८ जना प्यालेस्टिनीको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

हमास र अन्य लडाकूहरूले अक्टोबर ७ मा भएको आक्रमणका क्रममा करिब २५० जनालाई बन्धक बनाएका थिए र तिमध्ये करिब १०० जनालाई युद्धविराम र बन्धकतथा कैँदी फिर्ता गर्ने सम्झौता अन्तर्गत फिर्ता गरिएको थियो भने अझै १३२ जना गाजामा रहेका छन् । बनधकमध्ये कम्तीमा २७ जना मारिएको विश्वास गरिएको छ ।

फ्रान्स र कतारी मध्यस्थतापछि मङ्गलबार घोषणा गरिएको सम्झौताअनुसार बन्धक र सहायताका लागि आक्रमण हुनुभन्दा ‘केही घण्टाअघि’ औषधि गाजा प्रवेश गरेको कतारको विदेश मन्त्रालयका प्रवक्ता माजेद अल अन्सारीले बताए ।

दोहा र फ्रान्सले औषधि र खाद्यान्नसहित उपलब्ध गराएको ६१ टन सहयोग लिएर दुई विमान गाजाको सीमा नजिकै रहेको इजिप्टको एल–अरिश शहरमा आइपुगेको कतारले जनाएको छ ।

रेडक्रसको अन्तर्राष्ट्रिय समितिले यस सम्झौतालाई ‘राहतको अति आवश्यक क्षण’ को रूपमा स्वागत गरेको छ, जसअन्तर्गत ४५ बन्धकहरूले औषधि प्राप्त गर्ने अपेक्षा गरिएको छ ।

फ्रान्सले ती औषधिहरू राफाको एक अस्पतालमा पठाइने र रेड क्रसलाई दिइने र बन्धकहरूलाई हस्तान्तरण गर्नुअघि समूहमा विभाजन गरिने बताएको छ ।

यसैबीच, इजरायली रक्षामन्त्री योआभ ग्यालेन्टले गाजाको मुख्य दक्षिणी सहर खान युनिसमा हमास नेतृत्वलाई ध्वस्त पार्न सेनाले कडा प्रहार गरिरहेको बताए ।

इजरायली सेनाले बुधबार एक सैनिकको मृत्यु भएको घोषणा गरेसँगै गाजामा अक्टोबरको अन्त्यमा जमीनी कारबाही सुरु भएयता मारिने इजरायली सैनिकको संख्या १९३ पुगेको छ ।

प्रतिक्रिया