काम्लो बेचेर घर खर्च जुटाउदै विनमाया

काठमाडाैं । पश्चिम बाग्लुङमा अझै काम्लोको कारोबार हुँदै आएको छ । पिठ्युँमा भारी बोकेर बुर्तिवाङ बजारमा काम्लो बेच्न आएको विनमाया पुन जाडोमा यही बेच्न ठाउँठाउँ पुग्छिन् । पूर्वी रुकुमको लुकुम गाउँबाट आएकी विनमायाले गर्मी याममा निर्माण गरेको काम्लो बिक्रीका लागि जाडो याममा बजार खोज्दै हिँडेकी हुन् ।

उनले बाग्लुङको पश्चिम क्षेत्र निसीखोला, तमानखोला हुँदै बुर्तिवाङ बजारसम्म पश्चिम रुकुममा उत्पादन भएको काम्लो बिक्रीका लागि ल्याउने गरेकी छन् । ‘पहिलाजस्तो बजार त छैन, तर काम्लोको महत्व बुझेकाले मात्रै खरिद गर्छन, अन्यले महँगो भएको प्रतिक्रिया दिन्छन्,’ उनले भनिन्, ‘घरमा बसिबियालो हुन्छ, काम गरिरहेको बानी नगरी बस्न सकिँदैन, भेडा पालिएकै हुन्छ, तिनै भेडाको ऊनलाई काम्लो बनाएर बिक्री गर्दा कम्तीमा घरखर्च चल्छ ।’

लुकुम गाउँबाट काम्लो बिक्री गर्नकै लागि उनी बर्सेनि छिमेकी जिल्लाको बुर्तिवाङ बजारमा आउने गरेकी छन्। उनले काम्लोको महत्व घट्दा मूल्य भने ओरालो लागेको जानकारी दिइन् । ‘काम्लो कम बन्न थालेको छ, ऊनलाई प्रशोधन गर्न धेरै मेहनत गर्नुपर्दछ, तर काम्लो र घुमले पानीसमेत छेक्ने गरेको छ, बर्खामा घुम उडेर काम गर्नसमेत सकिन्छ, काम्लोलाई सिलाएर घुमसमेत बनाउँदा जाडोमा निकै तातो हुन्छ,’ उनले भनिन्, ‘एउटा काम्लोलाई दुई हजार पाँच सयमा बिक्री गर्दै आएकी छु जुन मूल्य सामान्य ज्याला मात्रै हो नाफा छैन ।’

भेडाको ऊनलाई प्रशोधन गरी तानमा बुनेर बनाइएको काम्लो धेरैका लागि रुचिकर कपडा लाग्न सक्छ । पछिल्लो पुस्ताले भेडाको ऊनबाट बनेको काम्लो र घुम देख्नै पाएका छैनन् । आधुनिकतासँगै तयारी पोशाक कपडाको प्रयोगले हातले निर्माण गरिएको काम्लो प्रयोग गर्नेको सङ्ख्या घटिरहेको छ । नेपालको उच्च पहाडी तथा पहाडी क्षेत्रमा पालिने भेडाको ऊनलाई प्रशोधन गरी काम्लो, बख्खु र हडौला बनाइन्छ । रासस

प्रतिक्रिया