बन्दीपुर केबलकार वैशाखदेखि सञ्चालनमा आउने

तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा निर्माणाधीन बन्दीपुर केबलकारको परीक्षण थालिएको छ । बन्दीपुर गाउँपालिका–४ मा केबलकार निर्माण गरिरहेको बन्दीपुर केबलकार एन्ड टुरिजम लिमिटेडले परीक्षण थालेको हो । हाल आठ क्याबिन राखेर परीक्षण भइरहेको लिमिटेडका निर्देशक तारानाथ उपाध्यायले जानकारी दिए । केही दिनमा २० क्याबिन राखेर परीक्षण गरिने उनले बताए । ‘यस अगाडि लट्ठाको परीक्षण गरिएकामा केही प्राविधिक समस्या देखिएपछि त्यसलाई निराकरण गरेर हाल डब्बा राखेर परीक्षणको काम भइरहेको छ’, उनले भने । आगामी वैशाख १ गतेदेखि केबलकार सञ्चालन गर्ने तयारी गरिएको छ । उनले भने, ‘केबलकारको सबै परीक्षण सकिएपछि व्यावसायिक प्रमाणपत्र प्राप्त हुनेछ, नयाँ वर्षदेखि केबलकार सञ्चालनमा आउनेछ ।’

यसैगरी निर्माणाधीन पाँच तारे होटल भने आगामी वर्षको मङ्सिरदेखि सञ्चालन गर्ने तयारी छ । होटलको भित्री कामबाहेक अन्य सबै सकिएको उपाध्यायले बताए । उनले भने, ‘होटलको काम पनि अन्तिम चरणमा पुगेको छ, पहिला केबलकार सञ्चालनमा आउने र होटलको काम बाँकी नै रहेकाले होटलपछि सञ्चालन गर्ने गरी काम भइरहेको छ ।’ प्रति घण्टा पाँच सय यात्री बोक्न सक्ने क्षमता रहेको केबलकार विभिन्न ‘सिफ्ट’ गरेर दैनिक बिहान ६ देखि राति ११ बजेसम्म सञ्चालन हुनेछ ।

केबलकारले साँझ ५ देखि राति ११ बजेसम्म रेष्ट्रो क्याबिन रेष्टुराँ एवं आराम कक्ष सञ्चालन गरेर नयाँ स्वाद पस्किने तयारी गरेको छ । विसं २०७५ साउनदेखि केबलकार निर्माणको कामलाई अगाडि बढाइएको थियो । करिब ३९ प्रतिशतमात्र ऋण लिएको यस परियोजनामा एसबीआई बैंक र सहवित्तीयकरणका रुपमा एनएमबी बैंकको सहकार्य रहेको लिमिटेडका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिए । विसं २०८१ मङ्सिरभित्र पाँच तारे होटल, माघभित्र सम्मेलन केन्द्र निर्माण सम्पन्न गर्ने लक्ष्य छ । सोही वर्षको जेठभित्र भ्युजरुम, असारभित्र बाक्स म्युजियम, साउनभित्र जिपलाइन, भदौभित्र बन्जी, स्काइवाक, असोजभित्र रेष्ट्रो क्याबिन सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।

केबलकार सिधै होटलभित्र छिर्ने प्रविधिसहित काम भइरहेको छ । पाँच तारे होटलसहितको केबलकारमा लगानी वृद्धि भएको छ । केबलकार र होटलको क्षमता बढेकाले लगानी पनि वृद्धि भएर रु दुई अर्ब ६० करोड पुगेको छ । यसअगाडि केबलकारको क्षमता प्रतिघण्टा तीन सय रहेकामा त्यसलाई बढाएर पाँच सय पु¥याइएको छ । होटलको कोठा संख्या ६६ रहेकामा त्यसलाई बढाएर ८७ पु¥याइएको छ । दश तल्लाको होटलसहितको भवनमा आधुनिक दृश्यावलोकन स्तम्भ, ‘बेनक्युट हल’ र ८० कोठाका स्तरीय होटल निर्माण हुनेछ ।

प्रतिक्रिया