पोखराको पर्यटनमा एडीबीले साढे चार अर्ब सहयोग गर्ने

पोखरा । पोखराको पर्यटनलाई सघाउन एसियाली विकास बैंक (एडीबी)ले साढे चार अर्ब रुपैयाँ सहयोग गर्ने भएको छ । बिहीबार नेपाल सरकार र एसियाली विकास बैंक (एडीबी) बीच १६० मिलियन डलर सहुलियत ऋण र ६ मिलियन डलर बराबरको अनुदान सम्झौतामा हस्ताक्षर भएको छ । त्यसमध्येको झन्डै ३५ मिलियन (चार अर्ब ६६ करोड) बराबरको योजना पोखराको पर्यटन विकासमा खर्च हुने छ । यसमा विभिन्न परियोजनाहरू सञ्चालन हुने छन् । परियोजना अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म फास्ट ट्रयाक निर्माण, पञ्चासे क्षेत्र विकास परियोजना, ७ ताल जोड्ने साइकल ट्रेल, बोटानिकल गार्डेन, लेखनाथ क्षेत्रमा विपद् व्यवस्थापन युनिट स्थापना तथा सञ्चालन, फिर्के कोरिडोर निर्माणलगायत पर्यटन क्षेत्रसँग सम्बन्धित परियोजनाहरू रहेका छन् ।

अर्थ मन्त्रालयमा भएको सम्झौतामा अर्थ सचिव डा. कृष्णहरि पुष्कर र एसियाली विकास बैंकका नेपाल कार्यालयका निर्देशक अर्नाउड कौकोइसिसले हस्ताक्षर गरेका हुन् । जसमध्ये दिगो पर्यटन विकास तथा जीवन सुधारसँग सम्बन्धित परियोजनाका लागि पोखरा महानगरपालिकासँग साढे ४ अर्ब बराबरको सम्झौता भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले जानकारी दिए ।

सहरी विकास मन्त्रालयमा भएको दिगो पर्यटन विकासका परियोजनासँग सम्बन्धित सम्झौतामा परियोजना प्रमुख रोशनकुमार श्रेष्ठ र पोखरा महानगरपालिकाको तर्फबाट प्रमुख आचार्य र प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले हस्ताक्षर गरेका छन् । परियोजनाले पोखराको समग्र विकासमा महत्त्वपूर्ण टेवा पुग्ने प्रमुख आचार्यले बताए । महानगरपालिकाको तर्फबाट परियोजना कार्यान्वयनका लागि छुट्टै प्रोजेक्ट अफिस स्थापना गरी आवश्यक कर्मचारीहरूको व्यवस्थापन गरिएको महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्यामकृष्ण थापाले बताए । परियोजना सञ्चालनमा नगर विकास कोष साझेदारका रूपमा रहने छ । यसअन्तर्गत १५ वटा विभिन्न परियोजनाहरू सम्पन्न गर्न कुल लागत सात अर्ब ५० करोड अनुमान गरिएको भए पनि पहिलो चरणमा ४ अर्ब ५० करोड बराबरको सम्झौता भएको हो ।

प्रतिक्रिया