जब नशामा रहेका यात्रुले परिचारकको पाखुरा टोके, विमान गन्तव्यबाट फर्कियाे !

टोकियो । अमेरिकातर्फ जाँदै गरेको अल निप्पोन एयरवेज (एएनए) को विमानका परिचारकलाई नशामा डुबेका यात्रुले टोकेपछि विमानलाई टोकियो फकाइएको जापानी वायुसेवा कम्पनीले बुधबार जनाएको छ ।

एएनएका प्रवक्ताले एएफपीलाई बताएअनुसार ५५ वर्षीय एक अमेरिकी नागरिकले मादक पदार्थ सेवन गरेर चालक दलका सदस्यको पाखुरामा टोकेका थिए ।

एएनएका अनुसार उक्त घटनाका कारण १५९ यात्रुसहित आकाशमा उडिरहेको विमानलाई चालकले प्यासिफिकको हनेदा विमानस्थलमा फर्काएका थिए ।

जापानी प्रसारक टीबीएसबाट प्रसारित समाचारमा ती यात्रुले अनुसन्धानकर्तासँग आफ्नो व्यवहारबारे आफूलाई पटक्कै केही याद नभएको बताइएको छ ।

यस घटनालाई जोम्बी चलचित्रको सुरुवातसँग तुलना गर्दै केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले घटनाबारे पोस्टहरू सार्वजनिक गरेका छन् भने केहीले यस वर्ष अहिलेसम्म भएका जापानी हवाई घटनाको बारेमा दुःख व्यक्त गरेका छन् । जापानमा दुई हप्ताभन्दा कम समयमा चार अन्य घटनाहरू पत्रपत्रिकामा हेडलाइनमा बनेर आइसकेका छन् ।

गत जनवरी २ मा हानेदामा जापान एयरलाइन्सको विमान र सामुद्रिक सुरक्षार्थ खटिएको सुरक्षागार्डको सानो विमान ठोक्किएर दुर्घटना भएको थियो । दुर्घटनामा जेएएल एयरबसमा सवार सबै ३७९ जना विमानमा आगो लाग्नुअघि नै सकुशल झर्न सफल भएका थिए भने मध्य जापानमा गएको ठुलो भूकम्पपछि राहत कार्यमा सहयोग गरिरहेको सानो विमानमा सवार छ जनामध्ये पाँच जनाको मृत्यु भएको थियो ।

मङ्गलबार कोरियन एयरको विमानको पखेटा उत्तरी टापु होक्काइदोको विमानस्थलमा गुडिरहेको समयमा क्याथे प्यासिफिकको पार्किङ गरिराखेको विमानसँग ठोक्किएको थियो ।

कोरियन एयरका अनुसार भारी हिमपातका कारण थर्ड पार्टी ग्राउन्ड ह्यान्डलर चिप्लिएपछि विमान दुर्घटना भएको हो ।

गत आइतबार सिकागो विमानस्थलमा डेल्टा एयरलाइन्सको विमानसँग एएनएको विमान ‘ठक्कर खाँदा’ पनि यस्तै दुर्घटना भएको जापानी एयरलाइन्सले एएफपीलाई जानकारी दिएको छ ।

बोइङ ७३७–८०० विमानको ककपिटको झ्यालमा समस्या देखिएपछि एएनएको अर्को विमान शनिबार नै आकस्मिक अवतरण गर्नुपरेको थियो ।

सेन्ट्रल क्विन्सल्याण्ड युनिभर्सिटीका उड्डयन विज्ञ डग ड्रुरीले एएफपीसँग भने, ‘धेरै विमानस्थलहरूले निर्माण गरिएका भन्दा ठुला विमानहरू ह्यान्डल गरिरहेका छन् त्यसैले विङ स्ट्राइकका घटनाहरू हुन्छन् ।’

उनले भने, ‘उचाइमा तापक्रम अत्यधिक हुने भएकाले विमानमा तातो सन्तुलन प्रणालीमा खराबी आएका कारण झ्याल फुटेको हुन सक्छ ।’ उड्डयन विज्ञ ड्रुरीले भने, ‘यो असामान्य कुरा होइन र मेरो क्यारियरको दौडान मैले पनि अनुभव गरेको छु ।’

प्रतिक्रिया