इन्जिनियरिङ पढ्ने भवन नै जीर्ण

ललितपुर । ललितपुरको पुल्चोकमा राणा शासनको समयका प्रधानमन्त्री वीर शमशेरले आनन्द शमशेरका लागि निर्माण गरेको ऐतिहासिक राणाकालीन दरबार छ । यही ऐतिहासिक दरबारमा त्रिभुवन विश्वविद्यालय अन्तर्गतको इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक क्याम्पसको प्रशासन कार्यालय छ ।
वास्तुकला र युरोपेली शैलीमा निर्माण भएको आनन्द निकेतन राणाकालीन ऐतिहासिक दरबारमा २०२३ सालदेखि नेपाल इन्जिनियरिङ इन्स्टिच्युट सरेको थियो । दरबार परिसरमा इन्जिनियरिङ अध्ययन संस्थानका पहिलो डिन कुलरत्न तुलाधरको प्रतिमासमेत निर्माण गरिएको छ ।

१९९० सालको भूकम्पले सामान्य क्षति पु¥याए पनि २०७२ सालको भूकम्पले इन्जिनियरिङ अध्ययन संस्थानको प्रशासन रहेको आनन्द निकेतन दबारलाई क्षति पु¥याएको थियो । भूकम्पले जीर्ण अवस्थामा रहेको ऐतिहासिक दरबारलाई इन्जिनियरिङ अध्ययन संस्थान र पुल्चोक इन्जिनियरिङ क्याम्पस प्रशासनले मर्मत गरेर सञ्चालन गरेको छ ।

ललितपुरमा रहेका ऐतिहासिक राणाकालीन दरबारहरू, हरिहर भवन र नारायण भवन संरक्षणको अभावमा अलपत्र छन् । पुल्चोकको आनन्द भवन भने मर्मतपछि प्रयोगमा आएको छ । भूकम्पपछि पानी चुहिने समस्या रहेको ऐतिहासिक दरबारलाई मर्मत गरेर पानी नचुहिने बनाएको क्याम्पस प्रमुख इन्द्रप्रसाद आचार्यले जनाए ।

२०७२ सालको भूकम्पपछि भारत सरकारबाट २ अर्ब १९ करोड रकम इन्जिनियरिङ अध्ययन संस्थानका भवन पुनःनिर्माणका लागि दिने सम्झौता भए पनि हालसम्म सहयोग नआएको पुल्चोक क्याम्पसका प्रमुख आचार्यले जानकारी दिए ।

भारत सरकारबाट आउने २ अर्ब १९ करोड रकममध्येमा ३५ करोड रकम आनन्द निकेतन भवनको पुनःनिर्माणका लागि हो । विस्तृत परियोजना प्रस्ताव तयार भए पनि सम्झौता अनुसार अझै काम सुरु भएको छैन । ऐतिहासिक दरबार भूकम्पपछि चारैतिर चर्केको छ । कतिपय झ्याल फुटेका छन् । भवन जीर्ण अवस्थामा रहे पनि विज्ञको सल्लाहअनुसार मर्मत गरेर कार्यालय सञ्चालन गर्न मिल्ने भएपछि कार्यालय यथावत राखेको उनको भनाइ छ ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा अहिले पनि सयौँ विद्यार्थी इन्जिनियरिङ अध्ययन गरिरहका छन् । यही क्याम्पसमा इन्जिनियरिङ पढेर धेरै विद्यार्थी इन्जिनियर बनेका छन् । भूकम्पपछि जीर्ण अवस्थामा रहेको ऐतिहासिक आनन्द निकेतन दरबार पुनःनिर्माणको पखाइमा भए पनि निर्माणका लागि भने कुनै निकायले चासो देखाएका छैनन् ।

प्रतिक्रिया