श्रीमतीको हत्या आरोपमा सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी पक्राउ

काठमाडौं । सर्वस्वसहित जन्मकैदको सजाय तोकिएका फरार प्रतिवादी २१ वर्षपछि पक्राउ परेका छन् । उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) ले सोमबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा धादिङको ज्वालामुखी गाउँपालिका–१ घर भएका सूर्य बहादुर दवाडी रहेका छन् । उनी रुपन्देहीको सिद्धार्थनगरस्थित बेलहियाबाट पक्राउ परेका हुन् ।

७० वर्षीय दवाडीलाई मुद्दा फैसला भएको २१ वर्षपछि पक्राउ गरिएको सीआईबीका सूचना अधिकारी (एसपी) नवराज अधिकारीले जानकारी दिए ।

२०५९ फागुन २८ मा दवाडीले अंश सम्बन्धी विषयमा विवाद हुँदा श्रीमती सानुमाया दवाडीको हत्या गरेको सिआइबीले जनाएको छ । श्रीमतीलाई कुटेर हत्या गरेपछि उनले नाम्लोले घाँटीमा बाँधेर रुखमा झुण्याएका थिए । त्यसपछि आत्महत्या गरेको भन्दै बुढी गण्डकीमा लगेर जलाएको प्रहरीको अनुसन्धान निष्कर्ष छ ।

जिल्ला अदालत धादिङले २०६१ जेठमा उनलाई सर्वस्वसहित जन्मकैद हुने फैसला सुनाएको थियो । जिल्ला अदालतको फैसलालाई सर्वोच्च अदालतले सदर गरेको छ । उनी लामो समय भारतमा लुकेर बसेको र नेपाल प्रवेश गरेको सुराकको आधारमा उनलाई पक्राउ गरिएको सीआईबीले जनाएको छ ।

प्रतिक्रिया