‘शंकरपोखरीमा रहेको खानेपानीको समस्या समाधान गर्छु’

पर्वत । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पर्वतको शंकरपोखरीमा जटिल रूपमा रहेको खानेपानीको समस्या समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सहिद हरिदत्त तिवारीको २१औँ स्मृति दिवसमा प्रमुख अतिथिको मन्तव्य राख्दै उनले अहिले सञ्चालनमा रहेको लमाएखोला लिफ्ट खानेपानीको योजनाको काम पूरा गर्ने र अन्य स्थानमा स्रोत खोजेर पानीको समस्या समाधान गर्ने बताए ।

कार्यक्रममा बोल्दै सहिद पुत्र तथा फलेवास नगरपालिकाका प्रमुख गंगाधर तिवारीले अहिले पनि फलेवास नगरपालिका–३ शंकरपोखरी पिउनेपानीकै अभावमा छटपटाइरहेको बताउँदै तत्कालीन राजा महेन्द्रलाई आफ्ना बुबाले शंकरपोखरीमा पानीको व्यवस्था मिलाइदिन अनुरोध गरेका कुराहरू सुनाए । त्यसपछि आफ्ना भनाइ राख्दै मुख्यमन्त्री पाण्डेले वर्षौं अगाडि राजा महेन्द्रकासामु राखिएको पिउनेपानी जस्तो गम्भीर समस्याको समाधान अहिलेसम्म पनि हुन नसकेको भन्दै राजाहरूले गरेको विकासमाथि प्रश्न गरे ।

हरिदत्त तिवारीले राजा महेन्द्रलाई भनेको कुरा पूरा नभएको स्मरण गर्दै पाण्डेले प्रदेश सरकारले राजा महेन्द्रले पूरा नगरेको माग पूरा गर्ने बताए । राजाहरूको शासनकालको तुलनामा अहिलेको विकास निकै राम्रो भएको भए पनि आर्थिक सम्पन्नताको बाटो समात्न भने नसक्दा देश आर्थिक रूपमा बलियो हुन नसकेको मुख्यमन्त्री पाण्डेले बताए । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा संविधानसभाका सदस्य अर्जुनप्रसाद जोशीले स्व.तिवारी जनताको अधिकारको पक्षमा लड्दालड्दै सहिद बनेको बताए ।

सहिदहरू पार्टीका लागि मात्रै नभएर समग्र देशवासीका लागि भएको भन्दै उनले यही कारण नै अहिले लोकतन्त्रमा सबैले खुला रूपमा विचार राख्न पाएको उनको भनाइ छ । खुट्टाले हिँड्ने अवस्था हटाउँदै सडक, टुकी बालेर उज्यालो बनाउनुपर्ने अवस्था हटाउँदै बिजुली, विद्यालय नै नभएको अवस्था हटाउँदै गाउँमा सुविधायुक्त कलेजहरू बनेको बेलामा गाउँहरू भने रित्ता हुँदै गएको अवस्थाप्रति उनले चिन्ता व्यक्त गरे । प्रदेशका खानेपानी तथा ऊर्जामन्त्री एवं सरकारका प्रवक्ता सरस्वती आर्याल तिवारीले पूर्वाधार विकासका कामसँगै प्रदेश सरकारले सामाजिक एवं आर्थिक विकासमा पनि उत्तिकै ध्यान दिएको दाबी गरे । उनले जहाँ समस्या रहेको छ त्यहाँ सरकारले आफ्नो बलबुताले भ्याएसम्म सहयोग गर्ने उनको भनाइ छ । १९८७ साल पुसमा जन्मिएका हरिदत्तको २०६० सालको माघ १ गते राती तत्कालीन विद्रोही माओवादीका कार्यकर्ताले हत्या गरेका थिए । उनको संझनामा प्रतिष्ठानले हरेक वर्ष कार्यक्रम आयोजना गर्दै आएको छ ।

प्रतिक्रिया