तीन सय बढी घरपरिवारको सुख–दुःखको सारथी देउराली

पशुपालन क्षेत्रमा मात्रै २ करोड ५० लाख ऋण लगानी

काभ्रे । जिल्लाको धुलिखेल–२ मा रहेको देउराली दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले ३० वर्षदेखि ३ सय १५ घरपरिवारका दैनिक सुखदुःखमा सहकार्य गर्दै आएको छ । शनिबार संस्थाको २०औँ वार्षिक साधारणसभामा प्रस्तुत गरिएको सञ्चालक समितिमा अध्यक्षको प्रतिवेदनअनुसार संस्थाले ती घरपरिवारको दैनिक उत्पादन हुने दुग्ध उत्पादनको संकलनदेखि दुग्ध उत्पादन गर्न आवश्यक पर्ने हरेक कुराहरूमा सहकारीले लगानी गरिरहेको प्रतिवेदनमा पेस गरेका छन् ।

निवर्तमान अध्यक्ष शिव कोइरालाले प्रस्तुत गरेको प्रतिवेदन अनुसार पशुपालनमा मात्रै सहकारीले २ करोड ४९ लाख १० हजार ६ सय ५७ रकम ऋण लगानी गरिरहेको बताएका छन् । उक्त संस्थाले आफ्नो स्थापनाकालदेखि नै सदस्यहरूलाई निर्वाहमुखी पशुपालनबाट व्यावसायिक बनाउँदै लैजाने, सदस्यहरूलाई संगठित गर्दै उत्पादन वृद्धिमा जोड दिने, सहरको पुँजीलाई गाउँमा पु¥याई ग्रामीण स्तरमा आफ्नो सन्ततीको शिक्षा, स्वास्थ, रोजगारी जीविकामा परिवर्तन स्वरोजगारीको सिर्जना, सहकारी शिक्षा अभिमुखीकरण, आदिलाई केन्द्रमा राख्दै विविधि कार्यक्रमहरू गर्दै आइरहेको बताए ।
कोइरालाले सभालाई सम्बोधन गर्दै नेपालको अर्थतन्त्र तीनखम्बे अर्थनीतिमा आधारित भएको, नेपालको अर्थतन्त्रमा कृषि तथा पशुपालन क्षेत्रले महत्वपूर्ण योगदान दिइको, कृषि क्षेत्रले कुल ग्रार्हस्थ उत्पादनको झण्डै एकतिहाइ योगदान जसमा दुग्ध क्षेत्रको मात्रै करिब नौ प्रतिशत रहेको बताए । उनले भने, ‘सहकारीले दिने सेवा प्रवाह चासो र जनसम्बन्धको भूमिका निजी क्षेत्रको भन्दा निकै विशिष्ट हुन्छ ।, कृषि उत्पादनलाई उत्पादक सहकारी र उपभोक्ता सहकारीको चेन जोड्ने हो भने निजी क्षेत्र र त्यस बीचमा उत्पन्न हुने विचौलियाको भूमिका शून्य हुने जानेछ । त्यसको प्रत्यक्ष फाइदा उत्पादक र उपभोक्ताले पाउनेछन् ।’

देउरालीले यो वर्ष ४ करोड २४ लाख ७ हजार १ सय ४१ रुपैयाँ बराबरको ६ लाख ६२ हजार ६ सय ११ लि. दूध संकलन गरेको थियो । उक्त दूध ४ करोड ४५ लाख २८ हजार ८ सय ८१ मा स्थानीय बजार तथा डिडिसीमा बिक्री गर्दा संस्थालाई २१ लाख २१ हजार ७ सय ४० रुपैयाँ मुनाफा प्राप्त भएको बताइन्छ । यसैगरी यस वर्ष पशुआहारका लागि १ करोड १३ लाख ६६ हजार ९ सय रुपैयाँमा दाना, ढुटो, पिना खरिद गरी १ करोड १८ लाख ६४ हजार २ सय ५० रुपैयाँमा बिक्री गरेको थियो । जसबाट संस्थालाई ४ लाख ९७ हजार ३ सय ५० रुपैयाँ मुनाफा प्राप्त भएको बताइन्छ ।
त्यसै गरी देउरालीले रासायनिक मल खरिद बिक्री गरी १ लाख ८३ हजार ७ सय २५ रुपैयाँ आम्दानी गरेको जनाएको छ । देउरालीले असार मसान्तसम्म २ सय ८३ जना सेयर सदस्यको कुल २० लाख १८ हजार १ सयमा सेयर रकममा यस आवमा २० प्रतिशत सेयर लाभांश वितरण गरेको उल्लेख छ । देउराली सहकारीलाई बागमती प्रदेश सरकारद्वारा उत्पादन प्रवर्धन कार्यक्रममार्फत दूध उत्पादन गर्ने कृषकलाई उत्पादनका आधारमा प्रति लि. ३ रुपैयाँ ५९ पैसाका दरले १९ लाख ८८ हजार ४ सय ४० रुपैयाँ अनुदान सहयोग प्राप्त भएकोमा संस्थाले २०८० असार २९ गते प्रत्येक सदस्यको बैंक खातामार्फत भुक्तानी गरिएको उल्लेख गरको छ ।

देउरालीले विगत वर्षदेखि आफ्नै स्वामित्वको पक्की भवन, संस्थाको लगानीमा निर्माण गरिएका दुग्ध संकलन केन्द्र ट्रस्ट चार वटा, चिलिङ भ्याट दुई हजार लि. एक ओटा, एक हजार लि. एक ओटा, पाँच सय लि. दुई वटा रहेको र मिल्क एनलाइजर पाँच वटालगायत अन्य सामग्रीसहित गरी जम्मा ३ करोड ७४ लाख ८ हजार ४ सय ६७ रुपैयाँ बराबरको सम्पत्ती रहेको जनाएको छ ।

पशुपालन व्यवसायलाई मजबुत बनाउन २०७८ मा सरकारको एनएलएसआइपीमा सम्झौता गराई गुणस्तरीय दूध उत्पादनसम्बन्धी योजनाको दोस्रो र तेस्रो किस्ताअन्तर्गत ५०÷५० प्रतिशत साझेदारीमा ५० वटा गाई खरिद, ५० वटा काउ म्याट, २५ वटा हिलटेक, २५ वटा च्यापकटरलगायत विविध सामग्री खरिद गरी किसानलाई वितरण गरेको थियो ।

सो योजनाका लागि संस्था र सदस्यको ४५ लाख ४५ हजार ७ सय ९३ र एनएलएसआइपीको पनि उति नै अनुदान गरी कुल ९० लाख ९१ हजार ५ सय ८० रुपैयाँ बराबरको किसान लक्षित कार्यक्रम प्रभावकारी कार्यान्वयन गरेको संस्थाका नवनिर्वाचित अध्यक्ष बलराम कोइरालाले बताए ।

सभालाई सम्बोधन गर्दै प्रमुखअतिथि बागमती प्रदेशसभा सचिवालायका पूर्वसचिव डा.चन्द्रप्रसाद लुइँटेलले देउराली जस्तै उद्देश्य लिएर सहकारी अभियानमा लाग्न सकेको भए कैयौँ सहकारी विस्थापनको अवस्था नआउने औँल्याए थिए ।

कार्यक्रममा काभ्रे जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष तथा धुलिखेल नगरपालिका–११ वडा अध्यक्ष नारायणप्रसाद बडालले किसानलाई सरकारले गरिरहेको व्यवहारमाथि शंका गर्नुपर्ने अवस्था आएको भन्दै किसानले उत्पादन गरेको दूधको मूल्य दिने र हाताहाती नगद दिने विषयमा आनाकानी गरेकोले पशुपालन व्यवसाय थप धारासाहीको खतरा बढेको भन्दै तत्कालै किसानलाई प्रोत्साहनउन्मुख कार्यक्रम ल्याउनुपर्ने धारणा राखे ।
धुलिखेल नगरपालिका–२ का वडा अध्यक्ष अर्जुन न्यौपानेले वडाबाट किसानलाई औषधि उपचारदेखि विविध कुराको सहुलियत प्रदान गरिरहेको भन्दै लम्पी, खोरेतलगायत माहामारीजन्य रोगहरूको खोप अभियानमा वडाले समन्वय गरी काम गरेको बताए ।

कार्यक्रममा सेतीदेवी दुध उत्पादक सहकारीका अध्यक्ष विदुर कोइरालाले सहकारीमा उत्पादन गराउने विषयमा प्रतिस्पर्धा भए पनि संस्थागत उद्देश्य कृषक लक्षित सेवा नै रहेको बताएका थिए ।

देउरालीको वार्षिक सञ्चालन मुनाफा ७ लाख १७ हजार ५ सय ९ रहेको छ । देउरालीले भावी दिनमा आफ्नो नियमित दैनिक दुईपटक दुध संकलन कार्य निरन्तरता गर्ने, उत्पादनमा आधारित पेन्सन कोषको निरन्तरता गर्ने, कर्मचारी हित कोषको निरन्तरता गर्ने, कृषक अवलोकन भ्रमण निरन्तरता गर्ने, भवनको तला थप्न पहल गर्नेलगायत योजना रहेको बताएको छ । देउरालीको २०औँ साधारणसभाबाट बलराम कोइरालाको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमितिसमेत चयन गरिएको छ ।

प्रतिक्रिया