भिरकोटमा रहेको मन्दिरमा तोडफोड र आगजनी

स्याङ्जा । स्याङ्जाको भिरकोट नगरपालिका—९ स्थित नारायण गिरी मण्डली बाबाको मन्दिरमा अज्ञात समूहले आगजनी तथा तोडफोड गरेका छन् । भिरकोट नगरपालिकाको उच्च भू–भागमा रहेको धार्मिक स्थलको रुपमा यो मन्दिरलाई चिनिन्छ ।

मन्दिरको मूर्ति, हतियार, घण्टीलगायतका सामग्रीमा तोडफोड भएको वडाध्यक्ष भिम गुरुङले बताए । दाउरा काट्न गएका स्थानीयले मन्दिरको अवस्था देखेपछि गाउँवासीलाई खबर गरेका थिए । जनप्रतिनिधि र स्थानीयको रोहोबरमा प्रहरीले मुचुल्का उठाएको छ ।

‘घटनाको प्रकृति हेर्दा त्रिसुल र घन प्रयाग गरेर मन्दिर तोडफोड भएको देखिन्छ, मट्टीतेलको प्रयोग गरेर आगजनी भएको छ,’ भिरकोट—९ का वडाध्यक्ष गुरुङले भने । प्रत्येक वर्ष वैशाख पूर्णीमामा उगौली र मङ्सिर पूर्णिमामा अधौली पर्वको अवसरमा यहाँ पूजा हुने गर्दछ । उक्त घटनामा भएको क्षति र विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

सुशील सुवेदी

स्याङ्जा

प्रतिक्रिया