ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई चीनको आग्रह

बेइजिङ । वासिङ्टनले यसै साता हुने निर्वाचनपछि ताइवानमा एक प्रतिनिधिमण्डल पठाउने बताएपछि चीनले स्वशासित ताइवानको चुनावमा हस्तक्षेप नगर्न अमेरिकालाई आग्रह गरेको छ ।

चीनको विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले चीन–अमेरिका सम्बन्धमा गम्भीर क्षति नपुगोस् भनेर वासिङ्टनले ताइवान क्षेत्रको चुनावमा कुनै पनि प्रकारको हस्तक्षेप नगर्न आग्रह गरेकी छन् ।

वासिङ्टनले स्वशासित टापुमा महत्त्वपूर्ण निर्वाचनपछि ताइवानमा ‘अनौपचारिक’ प्रतिनिधिमण्डल पठाउने घोषणा गरेपछि उनले भनिन्, ‘चीनले अमेरिका र ताइवानबीच कुनै पनि प्रकारको आधिकारिक आदानप्रदानको कडा विरोध गर्दछ ।’

‘ताइवान चीनको अविभाज्य अंग हो,’ उनले भनिन् । माओले बेइजिङसँग चुनावलाई लिएर तनाव नबढाउन अमेरिकाले दिएको चेतावनीको पनि विरोध गरेकी छन् ।

उनले भनिन्, ‘ताइवान क्षेत्रको निर्वाचनलाई लिएर अमेरिकी पक्षले गरेको अनावश्यक तामझामप्रति चीन कडा असन्तुष्टि र विरोध जनाउँछ ।’

‘हामी अमेरिकी पक्षसँग दुई देशका नेताले गरेका प्रतिबद्धता पूरा गर्न व्यवहारिक कदम चाल्न आग्रह गर्दछौँ,’ उनले भनिन् ।

प्रतिक्रिया