किसानको २५ करोडभन्दा बढी भुक्तानी

सर्लाहीमा दुई ओटा चिनी उद्योगले उखु क्रसिङ गर्दै

लालबन्दी । सर्लाही जिल्लामा चालु सिजनको हालसम्म ११ लाख क्विन्टलभन्दा बढी उखु क्रसिङ भएको छ । यहाँ रहेका दुई वटा उद्योगले सो परिमाणको उखु क्रसिङ गरेका हुन् । जिल्लामा हाल तीन वटा चिनी उद्योग रहे पनि हालसम्म हरिवनको इन्दुशंकर चिनी उद्योग र बगदहको महालक्ष्मी चिनी उद्योगले मात्र क्रसिङ गरिरहेका छन् । धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले उपकरण मर्मत लगायतका काम चलिरहेकाले उद्योग सञ्चालनको तयारी भइरहेको जनाएको छ ।

पुसको दोस्रो हप्ताको आसपासबाट क्रसिङ सुरु गरेको इन्दुशंकर चिनी उद्योगले यस सिजनमा अहिलेसम्म ५ लाख ७४ हजार ९ सय क्विन्टल उखु क्रसिङ गरेको जनाएको छ । उद्योग सञ्चालन भएको १६ दिनमा उद्योगले उक्त परिमाणमा उखु क्रसिङ गरिसकेको उद्योगका प्रशासकीय प्रमुख ठाकुरप्रसाद नेपालले बताए । उद्योगले चालु सिजनमा ३५ लाख क्विन्टल उखु क्रसिङ गर्ने लक्ष्य राखेको छ । मिलगेट क्षेत्रमा यसपटक उखु उत्पादन वृद्धि भएकाले क्रसिङ लक्ष्य बढाइएको उद्योग प्रशासनले जनाएको छ । यो क्रसिङ लक्ष्य गत वर्षको भन्दा सात लाख क्विन्टल बढी हो । गत सिजनमा उद्यागले २८ लाख क्विन्टल हाराहारीमा उखु क्रसिङ गरेको थियो ।

इन्दुशंकरले चालु सिजनमा क्रसिङ गरेको उखुको पहिलो तालिकाअनुसार ६ करोड ५१ लाख रुपैयाँ किसानको भुक्तानी गरिसकेको जनाएको छ । उखु खरिद गरेबापतको उक्त रकम किसानको बैंक खातामा दाखिला गरिएको उद्योगले जानकारी दिएको छ । देशभरिमै किसानको भुक्तानी नियमित गर्ने उद्योगमध्ये हरिवनको इन्दुशंकर पनि एक हो । तत्काललाई सरकारले तोकको मूल्यमै किसानको भुक्तानी भइरहेको उद्योगका उखु प्रबन्धक योगनारायण रजकले जानकारी दिए ।

यस्तै, जिल्लाको गोडैता नगरपालिकाको बगदहमा रहेको महालक्ष्मी चिनी उद्योगले पनि चालु सिजनमा पाँच लाख क्विन्टल उखु क्रसिङ गरिसकेको छ । उद्योगको तथ्यांकअनुसार क्रसिङ सुरु भएदेखि उक्त परिमाणमा उखु क्रसिङ गरेको हो । यस उद्योगले मंसिर दोस्रो हप्ताबाटै उद्योग सञ्चालन गरेको थियो । उद्योगले उखु खरिदबापत किसानको ३ लाख ५० हजार क्विन्टल उखुको १९ करोड बराबर रकम भुक्तानी गरिसकेको उद्योगका उखु प्रबन्धक पवनकुमार सिंहले जानकारी दिए । यो सिजनमा क्रसिङ गरेको उखुको भुक्तानी क्रमैसँग किसानको खातामा पठाइएको उनको भनाइ छ ।

यो सिजनको समर्थन मूल्य तय हुनुअघिबाटै सो उद्योग सञ्चालनमा थियो । पहिलेदेखि नै सञ्चालन भएकाले महालक्ष्मी चिनी उद्योगले गत सिजनकै मूल्य राखेर नेटपुँजी वितरण गरिरहेको छ । किसानको भुक्तानीसमेत गत सिजनको ५ सय ४० रुपैयाँ प्रतिक्विन्टललाई आधार बनाएर भुक्तानी गरिरहेको छ । तर, यस वर्षको समर्थन मूल्य तय भइसकेकाले सोहीअनुसार भुक्तानी हुनुपर्ने किसानको माग छ । उद्योगले भने तत्काललाई पुरानो मूल्यअनुसार सिस्टम तयार भएकाले थप पैसा पछि दिने गरी पुरानो दरअनुसार भुक्तानी गरिएको जनाएको छ ।

त्यस्तै, धन्कौलमा रहेको अन्नपूर्ण चिनी उद्योगले यस सिजन उद्योग सञ्चालन गर्न सकेको छैन । उद्योगको उपकरणहरू समयमै निर्माण तथा मर्मत हुन नसक्दा उद्योग सञ्चालनमा ढिलाइ भएको उद्योगका प्रशासकीय प्रमुख रमेश श्रीवास्तवले जानकारी दिए । उद्योगको ‘बोइलर’ लगायतका उपकरण मर्मत तथा निर्माण कार्य अन्तिम चरणमा पु¥याएकाले छिट्टै उद्योग सञ्चालनमा आउने उनको भनाइ छ । उद्योग माघ १५ गतेबाट सञ्चालनको तयारी गरिएको श्रीवास्तवले बताए । यो सिजनमा कम्तीमा १० लाख क्विन्टल उखु क्रसिङ गर्ने उद्योगको लक्ष्य छ ।

जिल्लाका महालक्ष्मी र इन्दुशंकर चिनी उद्योगले यस सिजनको करिब २५ करोड रुपैयाँ किसानलाई भुक्तानी गरिसकेको जनाएका छन् । उच्च क्षमताका तीनवटा चिनी उद्योग सञ्चालनमा रहेको सर्लाही जिल्ला देशमै राम्रो उखु उत्पादन हुने क्षेत्रमा पर्दछ । यहाँ वार्षिक झन्डै ७० हजार हेक्टर क्षेत्रफलमा उखु खेती हुँदै आएको कृषि ज्ञान केन्द्रको तथ्यांक छ । तर, किसानले पाउने मूल्य तथा नियमित भुक्तानीलगायत बर्सेनि झेल्नुपर्ने समस्याका कारण जिल्लामा पछिल्लो समय किसानले उखुखेती घटाउँदै लगेका छन् ।

उखु किसानको आन्दोलनपछि यो सिजनका लागि सरकारले उखुको समर्थन मूल्य ६ सय ३५ रुपैयाँ प्रतिक्विन्टल तय गरेको छ । त्यसमा उद्योगले ५ सय ६५ रुपैयाँ र अनुदानबापत सरकारले ७० रुपैयाँ भुक्तानी गर्ने सहमति छ । तर किसानले सरकारले तोकेको समर्थन मूल्य अस्वीकार गर्दै आएका छन् ।

प्रतिक्रिया