अमेरिकाले भन्यो– बंगलादेशको चुनाव स्वतन्त्र र निष्पक्ष छैन

वाशिङ्टन डीसी । संयुक्त राज्य अमेरिकाले आइतबार सम्पन्न बंगलादेशको आम चुनाव स्वतन्त्र र निष्पक्ष नभएको धारणा व्यक्त गरेको छ । अमेरिकाले चुनावमा सबै दलले भाग नलिएको विषयमा दुःख समेत व्यक्त गरेको छ ।

बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले विपक्षी दलले बहिष्कार गरेको चुनावमा अवामी लिग पार्टीका तर्फबाट संसद्को आधाभन्दा बढी सिट जितेर लगातार चौथो कार्यकालका लागि बहुमत प्राप्त गरेकी छन् ।

संयुक्त राज्य अमेरिकाले पर्यवेक्षकहरूसँग चुनाव स्वतन्त्र तथा निष्पक्ष नभएको धारणा व्यक्त गर्दै अमेरिकी विदेश मन्त्रालयले विज्ञप्तिमार्फत गहिरो खेद व्यक्त गरेको छ ।

विज्ञप्तिमार्फत अमेरिकाले बंगलादेशका जनताका लागि लोकतन्त्र र अभिव्यक्ति स्वतन्त्रताका लागि भने पूर्ण समर्थन रहेको बताएको छ ।

हाल जेलमा रहेकी पूर्वप्रधानमन्त्री खालिदा जियाको नेतृत्वको बंगलादेश नेसनलिस्ट पार्टीको बहिस्कारबिच आइतबार सम्पन्न निर्वाचनमा शेख हसिना पाँचौँ कार्यकालका लागि पुनः निर्वाचित भएकी हुन् ।

अमेरिकाले राजनीतिक गिरफ्तारी तथा अनियमितताका साथै निर्वाचनका समयमा भइरहेका हिंसाको पनि निन्दा गरेको छ । अमेरिकाले बंगलादेशी सरकारलाई हिंसाको छानबिनका लागि आग्रह गरेको छ ।

यसैगरी अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको साझा दृष्टिकोणलाई अगाडि बढाउन बंगलादेशसँग साझेदारी गर्न प्रतिबद्ध रहेको विज्ञप्तिमार्फत सार्वजनिक गरेको छ ।

अमेरिका स्वतन्त्र र खुला इन्डो–प्यासिफिकको लागि साझा दृष्टिकोणलाई अगाडि बढाई, बंगलादेशमा मानव अधिकार र नागरिक समाजलाई समर्थन गर्दै जनताको आर्थिक सम्बन्धलाई सुदृढ गर्न साझेदारी गर्न प्रतिबद्ध भएको पनि अमेरिकाले जनाएको छ ।

डेली स्टारका अनुसार, शेख हसिनाको पार्टीले १२औँ संसदीय चुनावमा लगातार चौथो कार्यकाल जितेको छ । जुन चुनावमा सन् १९९१ मा प्रजातन्त्रको पुनः स्थापनापछि दोस्रो सबैभन्दा कम मतदाताको सहभागिता रहेको जनाइएको छ ।

प्रमुख विपक्षी बीएनपी र अन्य १५ दलको बहिष्कार बिच अवामी लिगले पाँच निर्वाचन क्षेत्रमा जित हासिल गरेको छ ।

विजयपछि, हसिनाले बंगलादेशका जनताको सेवा गर्ने प्रतिबद्धता व्यक्त गर्दै, बारम्बार मतदान गर्ने नागरिकहरू प्रति आफ्नो जिम्मेवारी बोध भएको बताएकी छन् ।

प्रतिक्रिया