धनुषा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई वन विनाश गर्ने ऐन नबनाउन चुरे तथा वनजंगल संरक्षण अभियानका संयोजक सुनील कुमार यादवले आग्रह गरेका छन् । सप्तरीदेखि वीरगञ्जसम्म चुरे संकल्प यात्रा थालेका चुरे अभियानी यादवको यात्रा जनकपुरधाम पुगेको छ । जनकपुरधाममा पत्रकारहरूसँग कुरा गर्दै उनले प्रधामन्त्री प्रचण्डलाई सुकुम्बासी बसाउनेको नाममा वन विनास नगर्न उनले आग्रह गरेका हुन् ।
आइतबार टिमसहित जनकपुरधाम पुगेका अभियानी यादवले ‘हरियो वन नेपालको धन’ भन्ने नारा पहिलेदेखि नै रहँदै आएकोमा वन विनाश गरी मुलुकलाई पानीको समस्या बढाउनुभन्दा खाली रहेका हजारौँ बिघा जग्गामा सुकुम्बासीलाई बसाउन आग्रह गरे ।
उनले भने, ‘कुनै बेला माओवादीलाई सोही वनले रक्षा गरेको थियो । तर अहिले सोही वनलाई विनाश गर्ने किसिमको ऐन बनाउन लाग्नु अत्याचारभन्दा अरू केही होइन ।’ वन विनास गर्ने ऐन बनाइए सिंहदरबार घेरा गर्ने उनले चेतावनीसमेत दिए । सप्तरीको कोशीबाट चुरे संकल्प यात्रा सुरु गरेका अभियानी यादव हुलाकी मार्ग हुँदै वीरगञ्जमा यात्रा टुंग्याउनेछ ।
चुरे संरक्षणदेखि सिर्सिया नदी संरक्षण र भूमिहीनलाई लालपुर्जा सहितका माग राख्दै अभियानी यादवले चुरे संकल्प यात्रा सुरु गरेको जनाइएको छ । अभियानी यादव यसभन्दा पहिले पनि चुरे संरक्षणको माग गर्दै पटकपटक आन्दोलन गर्दै आएका छन् ।
प्रतिक्रिया