जनकपुरधाम । हुन त आफना विभिन्न माग पूरा गराउन शिक्षक आन्दोलित थिए, माग पूरा पनि गराए । तर, सामुदायिक विद्यालयका केही शिक्षकको चर्तिकलाले सामुदायिक विद्यालयको गुणस्तरप्रति आमजनताको विश्वास घट्दै गइरहेकोमा दुई मत छैन । सामुदायिकमा विद्यार्थी आउनै छाडे तर शिक्षकचाहिँ त्यसको चिन्ता लिनुभन्दा आयो, हाजिरी ग¥यो, ठूला ठूला कुरा ग¥यो र फर्किनमै सीमित हुँदा मधेसको शैक्षिक अवस्था दुर्गतितिर लम्किरहेको छ । यस्ता विद्यालय जनकपुरधामा धेरै छन् । तर यसमध्येमा विद्यार्थी एउटा पनि नरहेको तर शिक्षक सात जना, उनको काम ‘आयो कुराकानी गर्यो अनि फर्कियो’ जस्तो विकृतिका साथ अगाडि बढिरहेको विद्यालय हो जनकपुरधाम–१ स्थित मिथिला विहारी विद्यालय ।
करिब १० वर्षदेखि विद्यार्थीविहीन उक्त विद्यालयको विद्यार्थी हाजिरी रजिस्टरमा विद्यार्थी रहेको उल्लेख छ । जनकपुरधाम उपमहानगरपालिकासँग रहेको डाटामा १ सय ५० विद्यार्थी देखिन्छ । तर, बास्तविकतामा चाहिँ एउटा पनि विद्यार्थी त्यहाँ अध्यनरत रहेको देखिँदैन । यस विषयमा विद्यालयकी प्रधानाध्यापक गीता यादव यस बिषयमा केही कुरा गर्नै चाहदिनन् ।
जनकपुरधाम उपमहानगरपालिका–१ पुलचौकमा रहेको मिथिला विहारी राष्ट्रिय प्राथमिक विद्यालयमा विद्यार्थीको तुलनामा शिक्षक धेरै छन् । सो विद्यालयमा कक्षा ५ सम्म पढाइ हुन्छ । उक्त विद्यालयको हाजिरीमा जम्मा १ सय ५० विद्यार्थीको नाम छ । तर, यो सब कागजमा मात्रै । विद्यालयको हाजिरीमा १ सय ५० जना विद्यार्थीको नाम भएता पनि दैनिक १० जना पनि विद्यालय आउँदैनन् ।
नेपालको शिक्षा नियमावलीले विद्यार्थी शिक्षक अनुपात हिमालमा ४० विद्यार्थी बराबर १ शिक्षक, पहाडमा ४५ विद्यार्थी बराबर एक शिक्षक र मधेसका तथा उपत्यकामा ५० विद्यार्थी बराबर एक शिक्षक हुनुपर्ने व्यवस्था गरेको छ । नियमावलीमा प्राथमिक विद्यालयमा ५० जनासम्म विद्यार्थी भएमा कम्तिमा दुई जना र सोभन्दा बढी विद्यार्थी भएमा कम्तिमा तीन जना, निम्न माध्यमिक विद्यालयमा चार जना र कक्षा १ देखि ८ सम्म सञ्चालन भएको विद्यालयमा कम्तिमा सात जना शिक्षक रहने व्यवस्था रहेको छ । विद्यालयमा नौ जना कार्यरत रहेकोमा चार जना दरबन्दी, दुई जना राहत कोटा र दुई जना बालविकास गरी जम्मा आठ जना शिक्षक छन् र एक जना कार्यालय सहयोगीसमेत रहेका छन् ।
विद्यालय भत्कियो, कोही छैन हेर्ने निकाय
जनकपुरधाम उपमहानगरपालिका–१ र १६ को सीमामा पर्ने सो विद्यालय नजिकै जलाद पुल छ । जुन हुलाकी सडकमा परेसँगै पुल पुनः निर्माणका लागि भत्काइयो । ६ महिना पहिले बाढी आउँदा पुल नभएको कारण जीर्ण रहेको विद्यालयलाई पनि बाढीले बगाएर लग्यो । बाढीमा विद्यालयको भएको तीन वटा कोठा नै बाढीले बगायो । यता विद्यालयको भवन नहुँदा पढनका लागि आउने आठ÷नौ जना विद्यार्थीको पढाइ पनि विगत ६ महिनादेखि रोकिएको छ ।
पुलचौकमा गरिबको ठुलै वस्ती भएकोले त्यस्ता अभिभावकले आ–आफना बालबच्चालाई सोही विद्यालयमा अध्यापन गराउादै आएका थिए । तर, विद्यालय भवन नै भत्किएपछि पढाउन पाएका छैनन् । यता विद्यालय पुनः निर्माणका लागि पहल किन भएन भनेर वडा–१ का कार्यवाहक अध्यक्ष मनोज पुर्वेसँग प्रश्न गर्दा उनले जनकपुरधाम उपमहानगरपालिका कार्यपालिकामा पटकपटक पत्र पठाउँदा पनि कार्यान्वयन नगर्दा ढिलाइ भएको बताए ।
उनले भने, ‘जेठ २१ गते नै पुल निर्माणको क्रममा विद्यालयको तीन वटा कोठा सहितको पक्की भवन भत्किएकोले क्षतिपूर्तिका लागि पहलका साथ विद्यालय पुनःनिर्माणका लागि पहल गर्न जनकपुरधाम उपमहानगरपालिकामा पत्र पठाएको तर, चार महिना बितिसक्दा समेत विद्यार्थीको भविष्यमाथि खेलवाड गरिँदै आएको छ ।’
यता शिक्षाको स्थललाई पुनःनिर्माणका लागि किन अटेर गरिएको भनेर जनकपुरधाम उपमहानगरपालिकाका उपमेयर किशोरी साहसँग प्रश्न गर्दा उनले विद्यालयसँगै रहेको पुल निर्माणको काम चलिरहेकोले अहिले विद्यालय पुनःनिर्माणको काम गर्न नसकिने भएकोले पुलको निर्माणका साथ विद्यालयको पुनःनिर्माणको काम गरिने बताए ।
हुन त जनकपुरधाम उपमहानगरपालिकाको जवाफ जेजस्तो भए पनि विद्यार्थीलाई तत्कालका लागि कहाँ पठाउने भनेर केही निर्णय गर्न सकिएको छैन । यहासम्म कि विद्यालयमा कार्यरत आठ वटा शिक्षिका विद्यालय र विद्यार्थी नै नभए पनि दैनिक हाजिरी गरेर फर्किने गरेका छन् । यता विद्यालय पुनःनिर्माण हुँदासम्मका लागि शिक्षकलाई अर्कै विद्यालयमा काजमा खटाउने सम्मको पनि निर्णय गरिएको छैन ।
प्रधानाध्यापक सरुवाको निर्णय अटेर
जनकपुरधाम उपमहानगरपालिका–१ का अध्यक्ष दीपनारायण यादवको अगुवाइमा वैशाख २१ गते मिथिला विहारी राप्राविको प्रधानाध्यापक गीता यादवलाई सरुवा गर्न वडा समितिको बैठक बसेर निर्णय गरी उपमहानगरपालिकालाई जेठ १७ गते पत्र पठाएको देखिन्छ । तर कार्यान्वयन अहिलेसम्म भएको छैन । स्रोतका अनुसार वडा कार्यालयले लेखेको पत्रमा विद्यालयकी प्रधानाध्यापक गीता यादवले नियमानुसार गर्नुपर्ने पठनपाठन नगराएकोले कारबाही गरी सरुवा गर्नका लागि निर्णय भएकोले बैठकको निर्णय कार्यान्वयन गराउनका लागि पत्रमा अनुरोध गरिएको छ । पत्र पठाएको चार महिना भइसक्दा पनि कार्यान्वयन पक्षमा जनकपुरधाम उपमहानगरपालिका नदेखिएको वडाका वर्तमान कार्यवाहक अध्यक्ष पुर्वेले बताए ।
यसभन्दा पहिले व्यापक जनगुनासो र विद्यालयको विषयमा बेथिति बढ्न थालेपछि यसभन्दा पहिलेका मेयर लालकिशोर साहले मिथिला विहारी राप्राविलाई खारेज नै गरिदिएका थिए । तर गरिवहरूका लागि सामुदायिक विद्यालयका रूपमा एक मात्र विद्यालय रहेकोले स्थानीयवासीले विद्यालय खारेजी नगर्न निवेदन दिएपछि विद्यालयलाई खारेजी प्रक्रियाबाट बाहिर ल्याएका थिए ।
जनकपुर
प्रतिक्रिया