११ बुँदे सहमतिपछि शान्त बन्दै बरहथवा

सर्लाही । विगत तीन दिनदेखि अशान्त सर्लाहीको बरहथवा ११ बुँदे सहमतिपछि आईतबार साँझदेखि शान्त बन्न थालेको छ । आईतबार दिनभरी जिल्ला प्रशासन कार्यालयमा भएको सर्वपक्षीय छलफल साझ निष्कर्षमा पुगेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी कोमलप्रसाद धमलाले जानकारी दिए । जिल्ला प्रशासन कार्यालय मलंगवामा मधेश प्रदेशका स्वास्थ्य तथा जनसंख्या मन्त्री वीरेन्द्र सिंहसहितको टोली वार्तामा बसेर सहमति जुटाएको हो ।

छलफलपछि बरहथवा ९ मा रहेको प्राथमिक स्वास्थ्य केन्द्र मधेश सरकारलाई हस्तान्तरण गरि ५० सैय्याको बनाउने, सो अस्पतालको नाम मृतकको नाउँबाट नामाकरण गर्ने, मृतकको परिवारलाई रोजगारी प्रदान गर्ने, संघीय सरकारले मृतक परिवारलाई १० लाख रुपैँया दिनेसँगै प्रदेश सरकारले समेत थप राहतको लागि पहल गर्ने र गोली हान्ने प्रहरीलाई अविलम्ब कारवाही गर्नेलगायतका ११ वुँदामा सहमति भएको छ ।

सहमति अघि आईतबारको प्रदर्शनको क्रममा एक दर्जन बढी सुरक्षाकर्मी घाईते भएको र उनीहरुको सदरमुकाम स्थित अस्पतालमा उपचार भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रमुख प्रहरी उपरीक्षक प्रवीण धितालले जानकारी दिए ।

‘प्रदर्शनकारीहरुले ईलाका प्रहरी कार्यालय बरहथवामा ९ दर्जन बढी पेट्रोल बम प्रहार गरेका छन,’ उनले भने, ‘पेट्रोल बम प्रहारबाट कार्यालयको भौतिक संरचनामा ठूलो क्षति पुगेको छ ।’ स्थिति सामान्य बनेपनि क्षतिको विवरण यकिन गर्न नसकिएको उनले बताए ।

प्रदर्शनकारीले नेपाल प्रहरीको २ वटा पोष्टमा आगजनी गर्नुका साथै ईप्रका भित्रको प्रतिक्षलयलाई समेत जलाएर क्षति पुर्याएको उनले बताए । घटना उग्र भएको, हतियारै खोस्न खोजेपछि प्रहरीले वाध्यभई गोली चलाएको प्रहरी उपरिक्षक धितालले दाबी गरे ।

प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले दर्जनौं राउण्ड टियर ग्यास र हवाई फायर गरेपनि त्यसको यकिन तथ्यांक आउन बाकी रहेको उनको भनाई थियो ।
‘ईप्रका परिसर बोतलै बोतलले भरिएको छ,’ घटनास्थलमा पुगेका प्रहरी उपरिक्षक धितालले भने, ‘अवस्था सामान्य बनेपछि फिल्डमा खटिएको सुरक्षाकर्मीलाई फिर्ता बोलाएर अहिले सामेल गर्ने काम भईरहेको छ ।’ राती अबेरसम्म तथ्यांक संकलन गर्ने काम पुरा हुने उनले जानकारी दिए ।

प्रदर्शनकारी तर्फका व्यक्तीहरु घाईते भएपनि त्यसको जानकारी प्रहरीसंग उपलब्ध हुन नसकेको उनको भनाई थियो । बरहथवा नगर अस्पताललाई प्रदेश सरकारलाई हस्तान्तरण गर्ने बरहथवा नगरपालिकाको निर्णय विरुद्ध असन्तुष्ट पक्ष प्रदर्शनमा उत्रिएका थिए ।

प्रदर्शनकारीले उग्ररुप लिएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले चलाएको गोली लागेर बरहथवा नगरपालिका–६ बस्ने ३० वर्षिय जयशंकर साहको मृत्यु भएको थियो । प्रहरीको गोली लागेर साहको निधन भएपछि बरहथवा झन्न तनावग्रस्त बनेको थियो । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार बिहान ८ बजेसम्मका लागि कफ्र्यु जारी गरेको छ ।

बरहथवा नगरपालिकाको नगर कार्यपालिका बैठकले असोज ९ गते बरहथवा–६ स्थित नगर अस्पताल प्रदेश सरकारलाई हस्तान्तरण गर्ने निर्णय गरेको थियो । तर पुस १७ गते आफैले गरेको निर्णयबाट पछि हटेपछि असन्तुष्ट कांग्रेस, जसपा, जनमत लगायतका पार्टी तथा उद्योग वाणिज्य संघले विरोध गर्दै प्रदर्शनमा उत्रेका थिए ।

यसअघि गृह मन्त्रालयले घटनाबारे छानबिन गर्न समिति गठन गर्नुका साथै मृतकका परिवारलाई १० लाख रुपैयाँ दिने निर्णय गरेको थियो । तर स्थानीयले आफूहरुको माग पूरा नभएको भन्दै प्रदर्शनलाई जारी राखेका थिए ।

प्रतिक्रिया