औषधी तथा खुद्रा समान लाेड गरिएका तीनवटा ट्रक पर्सा प्रहरीको नियन्त्रणमा

वीरगञ्ज । बिल विजक भन्दा बढी औषधी तथा खुद्रा सामानहरू बोकेको तीनवटा मालवाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएको छ । वीरगञ्जबाट कैलाली, सुनसरी तथा काठमाडाैंतर्फ जाँदै गरेको सूचनाको आधारमा जिल्ला पर्सा वीरगञ्ज महानगरपालिका वडा नं. १५, ८ र १४ गण्डक, घण्टाघर र प्रतिमा चोकस्थित सडकखण्डबाट मालवाहक ट्रक पर्सा प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।

ना.४ ख ८३१८, ना.३ ख ४१४१ र NL01 G 1886 नम्बरको ट्रकलाई रोकी जाँच गर्ने क्रममा विल विजक भन्दा बढी मालबस्तुहरू लोड रहेको तथा सो विल बिजक संकास्पद देखिएको हुँदा साे ट्रकहरू नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता तथा सूचना अधिकारी कुमार बिक्रम थापाले जानकारी दिए ।

उक्त तीनवटा ट्रकमा एक करोड उनान्वे लाख सन्तान्वे हजार दुई सय सतासी रूपैयाँ बराबरको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू नियन्त्रणमा लिइएको थापाले बताए ।

नियन्त्रणमा लिएको ट्रक भित्र लोड रहेको औषधी तथा खुद्रा सामानहरू थप अनुसन्धान तथा आवश्यक कारवाहीको लागि राजश्व अनुसन्धान कार्यालय पथलैया बारामा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

प्रतिक्रिया