सन् २०२४ विश्वका २४ देशमा हुँदैछ चुनाव

नयाँ दिल्ली । सन् २०२४ विश्वभरका लागि चुनावी वर्ष बन्दैछ । विश्वका ६४ मुलुकमा यस वर्ष निर्वाचन हुँदैछ । छिमेकी मुलुक भारतदेखि मित्रराष्ट्र अमेरिकासम्म युरोपेली युनियनदेखि युद्धग्रस्त युक्रेनसम्म यसवर्ष निर्वाचनमा होमिँदैछन् ।

विश्वका ४९ प्रतिशत जनसंख्याले यस वर्ष निर्वाचनलाई नजिकबाट हेर्नेछन् । यस वर्ष हुने निर्वाचनले उनीहरुको कम्तीमा चार वर्षसम्मको भविष्यलाइ निर्धारण गर्नेछ । सबैस्थानमा स्वच्छ र निष्पक्ष निर्वाचन हुन्छ भन्ने सुनिश्चितता भने अवश्य छैन । उदाहरणका लागि बंगलादेशमा जनवरीमा हुने निर्वाचनबाट शेख हसिना पुनः सत्तामा आउने निश्चित छ । विभिन्न षड्यन्त्रमार्फत आफ्नो जित सुनिश्चित गर्न उनले प्रतिपक्षविहीन रुपमा निर्वाचन गराउन लागेको आरोप विपक्षीहरुले लगाइरहेका छन् । प्रतिपक्षी दलहरुले निरंकुशरुपमा हुन लागेको निर्वाचन बहिष्कार गर्ने बताएका छन् ।

यता, पाकिस्तानमा पनि इमरान खानलाई जेलमा राखेर निर्वाचन गराउने तयारी भइरहेको छ । यसपटक सेनाले नवाज सरिफलाई पुन सत्ताको बागडोर जिम्मा लगाउने संभावना छ । खानका समर्थकहरुलाई राज्य सत्ताले दमन गरिरहेको छ । पाकिस्तानमा फेब्रुअरीमा निर्वाचन हुनेछ । भारतमा पनि सन् २०२४ को अप्रिल वा मे महिनामा लोकसभाको निर्वाचन हुँदैछ । निरन्तर तेस्रो कार्यकाल पनि प्रधानमन्त्री हुँदै इतिहास रच्ने दाउमा बहालवाला प्रधानमन्त्री नरेन्द्र मोदी रहेका छन् ।

यस्तै, युद्धमा रहेको युक्रेनमा पनि चुनावी बहस चलिरहेको छ। चुनाव गराउनका निम्ति राष्ट्रपति भोलोदिमिर जेलेनेस्कीलाई अमेरिकाको दबाब छ । सन् २०२४ मा राष्ट्रपतीय निर्वाचनमा होमिन लागेको अमेरिकाले नै युक्रेनमा चुनावको बहस गराएको हो । रिपब्लिकन पार्टीभित्रको सानो समूहमा यससम्बन्धी बहस झाँगिएको छ । चुनाव निगरानी सञ्जाल ओपोराकी अध्यक्ष ओलाह एभीजोयस्का भन्छिन्, ‘कट्टर दक्षिपन्थी रिपब्लिकनहरु युक्रेनलाई सैन्य सहायता रोक्नुपर्ने आफ्नो माग जायज ठह¥याउनका निम्ति चुनावको बहस गरिरहेछन् ।’

डोनाल्ड ट्रम्पको अलगवादी विचारले रिपब्लिकनमा प्रभाव जमाइरहँदा अमेरिकी घरेलु राजनीतिमा युक्रेन सहायताको मुद्दा राजनीतिक मतभेदमा फसिरहेको छ । एभीजोयस्का भन्छिन्, ‘धेरै रिपब्लिकनले युक्रेनलाई समर्थन गर्छन् तर युक्रेनमा चुनावको विषयलाई यिनीहरुले मुद्दा भने पक्कै बनाउनेछन् ।’

यसको सुरुवात उनीहरुले गरिसकेका छन् । अघिल्लो महिना रिपब्लिनबाट राष्ट्रपतिमा उम्मेदवारी दिने तयारी गरिरहेका विवेक रामास्वामीले भनेका छन्, ‘युक्रेन लोकतन्त्रको प्रतिमूर्ती होइन र अमेरिकाले थप सहायता नदिएसम्म चुनाव नगर्ने धम्की उसले दिइरहनेछ ।’

रिपब्लिकनका सांसद लिन्ड्से ग्राहमले पनि अगस्तमा किभ भ्रमणका दौरान युक्रेनले सन् २०२४ मा चुनाव गर्नैपर्ने बताएका थिए । युक्रेनका राष्ट्रपति जेलेनेस्कीले अमेरिकामा उठिरहेको आवाजको तात्पर्य बुझेका छन् । आफ्नो प्रमुख सहयोगीले सहायता रोकेमा रुससँग प्रतिद्वन्द्विताका लागि कठिन हुनेमा उनी जानकार छन् । गत अगस्टमा टेलिभिजन अर्न्तवार्तामा उनले भनेका छन्, ‘अमेरिकाले युक्रेनलाई सहायता रोक्न सक्ने केही कारणहरु छन् । तीमध्ये युक्रेनमा चुनाव पनि एक हो । युक्रेनमा चुनावको माग गर्दै अमेरिकामा रिपब्लिकनले चर्काइरहेको आवाजबारे म जानकार छु ।’

हालसम्म जेलेनेस्कीले चुनावलाई अस्वीकार गरेका छैनन् । चुनावका निम्ति सुरक्षा, कानुन र सहायता सबैको चुनौती रहेको उनी बताउँछन् । तथापि युद्धकै समयमा चुनाव भए दोस्रो कार्यकालमा उठ्न आफू तयार रहेको उनको भनाइ छ । हालैको अन्तरवार्तामा उनले भनेका छन्, ‘एक वर्षभित्र वा त्यस अवधिको जुनसुकै समयमा पनि चुनाव गराउन म तयार छु ।’

युक्रेनमा हमला गरेको रुसले पनि निर्वाचन गराउदैछ । मार्चमा हुने निर्वाचनबाट त्यहाँ पनि भ्लादिमिर पुटिन फेरि अनुमोदन हुनेमा कुनै शंका छैन । तर उनलाई समर्थन गर्ने प्रतिशतबारे संभवत कसैलाई सुइको छैन । केही मुलुकमा बाहेक अन्यको निर्वाचन परिणाम उत्साहप्रद नै हुनेछ ।

जस्तो कि बेलयतामा यसपटक १४ वर्ष शासन गरेको कन्जरभेटिभलाई लेबरले उछिन्न सक्ने आँकलन भइरहेका छन् । नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपतीय निर्वाचनको परिणाम पनि निकै रोचक हुनेवाला छ । अमेरिकी चुनावमा डोनाल्ड ट्रम्पको उदयको सम्भावनालाई द इकोनोमिष्टले लेखेको छ, ‘ पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्प सन् २०२४ को राष्ट्रपतीय निर्वाचननमा विजयी भए विश्वका लागि सबैभन्दा ठूलो खतरा हो ।’

प्रतिक्रिया