माइक्रोसफ्टबाट वर्षेनी १ अर्ब डलर कमाउँदै छन बाल्मर

क्यालिफोनिर्या । अमेरिकी बहुराष्ट्रिय प्रविधि कम्पनी माइक्रोसफ्ट कर्पोरेसनका पूर्व प्रमुख कार्यकारी अधिकारी (सीईओ) स्टिभ बाल्मर शेयर लाभांशबापत वार्षिक १ अर्ब डलर भुक्तानीको रूपमा कमाउने बाटोमा छन् । बाल्मर अहिले विश्वका छैटौँ धनी व्यक्ति हुन् । उनी माइक्रोसफ्टका सबैभन्दा ठुला व्यक्तिगत शेयर धनी पनि हुन् ।

सन् २०१४ मा उनले सार्वजनिक गरेको स्वामित्वअनुसार माइक्रोसफ्टमा बाल्मरको ३३ करोड ३२ लाख कित्ता शेयर छ । यो भनेको कम्पनीको कूल शेयरको ४ प्रतिशत हाराहारी हो । कम्पनीमा बाल्मरको शेयर १ खर्ब ३० अर्ब डलर मूल्य बराबर भएको ब्लुम्बर्ग बिलेनियर इन्डेक्सले देखाएको छ ।

यो वर्ष मात्रै माइक्रोसफ्टको शेयर मूल्य ५६ प्रतिशतले बढ्दा बाल्मरको नेटवर्थ ४४ अर्ब डलरले बढेको छ । बाल्मबरले माइक्रोसफ्टमा ३४ वर्षको करियरमा टन्नै शेयर पाएका थिए । उनी सन् १९८० मा कम्पनीका ३० औँ नम्बरका कर्मचारीका रूपमा माइक्रोसफ्टमा छिरेका थिए । डट कम बबल उत्कर्षमा रहेकै बेलातिर सन् २००० मा उनी कम्पनीका सीईओ बने ।

सत्य नदेल्ला आएपछि सन् २०१४ मा उनले सीईओको पद छाडे । माइक्रोसफ्टले सन् २०२३ मा प्रतिकित्ता शेयरमा २ डलर ७९ सेन्ट लाभांश दिएको छ । यसको अर्थ बाल्मबरको कूल शेयरबापत उनले कम्पनीबाट यो वर्ष ९३ करोड डलर पाउनेछन् । सन् २०२४ मा भने भुक्तानीको आकार बढ्ने क्रममा छ ।

कम्पनीले हालै वार्षिक प्रतिकित्ता शेयरमा लाभांश १० प्रतिशतले बढाएर ३ डलरमा पु¥याएको छ । अर्थात् सन् २०२४ मा बाल्मरले लाभांश भुक्तानीबापत ९९ करोड ९६ लाख डलर पाउनेछन् । हरेक वर्ष कम्पनीले शेयरको लाभांश बढाइरहेको छ । यो प्रवृत्ति हेर्दा त्यसपछिका वर्षमा लाभांश भुक्तानीको आकार झनै बढ्ने देखिन्छ ।

माइक्रोसफ्टले गएको १८ वर्षदेखि लाभांशको आकार बढाइरहेको छ । माइक्रोसफ्टमा रहेको शेयर कै कारण बाल्मरको नेटवर्थ आकाशिरहेको छ । उनी विश्वका चौथो धनी व्यक्ति ल्यारी एलिसन र उनका पूर्व हाकिम बिल गेट्सभन्दा अर्बपतिहरुको वरियतामा केही मात्रै पछाडि छन् ।

प्रतिक्रिया