‘एल निनो’का कारण थप महँगो हुँदै छ चिनी

पेरिस । यो वर्ष एल निनोका कारण सफ्ट कमोडिटिजको भाउमा उच्च वृद्धि देखियो । आगामी महिनाहरूमा यसले उपभोक्ताको खर्चमा थप भार बढाउने देखिएको छ । एल निनोका कारण उत्पन्न विषम मौसम र आपूर्तिसँग सम्बन्धित चिन्ता अनि चासोले गर्दा यो वर्ष अरेन्ज जुस, कोकोआ, कफी र चिनीको फयूचर्स बढ्यो ।

‘एल–निनोलाई गुलियो मन पर्ने रहेछ । किनकि यसले विश्वको अधिकांश चिनीलाई खाइदिनेछ वा खोसिदिनेछ,’ नेदरल्यान्डस्थित राबोबैंकका एग्रि कमोडिटिज बजार अनुसन्धान प्रमुख कार्लोसे मेराले भने । चिनीको भाउ पहिलादेखि नै महँगो छ । उपभोक्ताहरूको टाउकोसम्म मूल्य वृद्धिको भार पुगिसकेको छ । तर खुद्रा बजारमा चकलेटको भाउमा झनै ठुलो वृद्धि देखिने भन्दै उनले एल निनोलाई नियालिरहनु पर्ने कुरा भएको बताए । एल निनो घटना यो वर्षको सुरुमा फर्किएको थियो । एल निनोका कारण आँधीबेहरी र सुख्खा बढ्छ । एल निनोको प्रभाव डिसेम्बरमा बढ्छ ।

तर यसको प्रभाव विश्वभर फैलिन चाहिँ केही समय लाग्छ । एल निनोको कारण सुख्खा बढ्दा दक्षिणपूर्वी एसिया, भारत, अस्ट्रेलिया र अफ्रिकाका केही हिस्सामा चिनी, कफी र कोकोआलगायतका सफ्ट कमोडिटिजको भाउ यो वर्ष बढेको राबोबैंकले २०२४ को वार्षिक परिदृश्यमा भनेको छ । वर्षौँदेखि मूल्य बढिरहेकोले विश्व बजारमा खाद्यान्नको मूल्य वृद्धिमा कमी आउने बैंकको अनुमान छ । आगामी वर्ष एल निनोका कारण कयौँ बालीमा प्रतिकूल असर पर्न सक्ने चेतावनी पिन दिइएको छ ।

सन् २०२३ मा अरेञ्ज जुस फयूचर्सको भाउ ८० प्रतिशतभन्दा धेरैले बढेको थियो । फ्लोरिडामा आँधीबेरी र रोगका कारण सुन्तलाका रुखहरू ध्वस्त भएपछि नोभेम्बरमा सुन्तलाको जुसको फ्यूचर्स अहिलेसम्मकै उच्च बिन्दुमा उक्लिएको थियो । भारी वर्षा र ढुसीका कारण दक्षिण अफ्रिकी आपूर्ति प्रभावित हुँदा चकलेट बनाउन प्रयोग हुने कोकोआको मूल्य पनि ६४ प्रतिशतले बढेको थियो । कफीको मूल्य पनि डिसेम्बर १५ मा १५ वर्षयताकै उच्च स्तरमा थियो । एल निनोका कारण थाइल्यान्ड, भारत र अष्ट्रेलियाजस्ता प्रमुख चिनी नियातकर्ता देशमा मौसम सामान्यभन्दा बढी नै सुख्खा बन्दा उखुको उत्पादन प्रभावित हुँदा चिनीको भाउ बढेको छ ।

के हो एल निनो ?

प्रशान्त महासागरको सतहमाथि तापक्रम वृद्धि हुँदा उत्पन्न हुने वातावरणीय समस्यालाई नै एल निनो भनिन्छ । प्रशान्त महासागरको सतहमाथिको तापक्रम शून्य दशमलव ५ डिग्रीभन्दा बढीले बढ्दा वायुको नियमित प्रणालीमा खलल पुग्छ । यसले कतै सुख्खा बढाउँछ भने कतै आँधी बेरी ल्याउँछ । यही अवस्था अल निनो इफेक्ट हो ।

प्रतिक्रिया