भारतको बालगृहबाट उद्धार गरिएका बालकहरु परिवारको जिम्मा लगाइयो

मधेस । लामो समयदेखि भारतको मुम्बइस्थित बालगृहमा रहेका ८ जना बालकलाई उद्धार गरेर परिवारको जिम्मा लगाइएको छ । रौतहट जिल्लाको दुर्गाभगवती, इशानाथ ,राजपुर लगायतका स्थानीयतहका ती बालकहरुलाई शनिबार अभिभावकको जिम्मा लगाइएको हो ।

जिल्ला प्रहरी कार्यालय गौरमा बालकहरुलाई अभिभावकको जिम्मा लगाइएको छ । ति बालबालिकाहरुलाई बिगत करिब चार महिनादेखि भारतको मुम्बई मटुंगमा रहेको बालगृहमा राखिएको थियो । उद्धार गरिएका बालकहरु १३ देखि १६ वर्ष उमेरसम्मका छन् ।

विभिन्न बहानामा भारतको मुम्बई पुगेका ती बालकहरु विभिन्न ब्याग फ्याक्ट्रीहरुमा काममा लगाइएको थियो । मुम्बई प्रहरीले ब्याग फ्याक्ट्रीमा छापामारी गर्दै ति बालकहरुको उद्धार गरेको थियो । उद्धारपछि ती बालकहरुलाई मुम्बइको मटुंगमा रहेको बाल गृहमा राखिएको थियो ।

१८ वर्ष उमेर नपुगेसम्म बालबालिकालाई काममा लगाउनु गैरकानूनी रहेकोले प्रहरीले विभिन्न कारखानाहरुमा कारवाही गर्दै आएको छ । नेपालका बालकहरु बालगृहमा फसेको सूचना पाएपछि बालबालिकाको क्षेत्रमा कार्यरत संस्थाहरुको संयुक्त प्रयासमा ती बालकहरुलाई परिवारको जिम्मा लगाइएको हो ।

ग्रामिण विकास केन्द्र नेपाल गौर, सामुदायीक विकास तथा सचेतना नेपाल मकवानपुर, राष्ट्रिय बाल अधिकार परिषद्, जिल्लास्थितका सरकारी निकायहरुको समन्वयमा ती बालकहरुको उद्धार गरिएको हो । उद्धारको क्रममा मुम्बई पुगेकी ग्रामिण विकास केन्द्र नेपाल रौतहटकी कोषाध्यक्ष ममता झाले बालकहरुलाई परिवारको जिम्मा लगाउन पाउँदा निकै खुसी लागेको बताइन् ।

उनले अझै पनि कयौँ नेपाली बालकहरु भारतको विभिन्न बालगृहमा रहेकोले पारिवारिक पुनरमिलनको लागि सबैको प्रयास आवश्यक देखिएको बताइन् । आफ्नो छोरा पाउँदा स्थानीय दुर्गा भागावती गाउँपालिका– ३ मत्सरिका प्रमोद राउतले अब उप्रान्त आफ्नो छोरालाई विद्यालयमा भर्ना गर्ने बताए ।

आरके श्रीवास्तव

मधेश ब्युराे प्रमुख

प्रतिक्रिया