धुवाँमुक्त वडा बनाउन पोखरिया– ५ मा ग्यास सिलिन्डर र चुलो वितरण

वीरगञ्ज । पर्साको पोखरिया नगरपालिका– ५ सतवरियामा धुवाँमुक्त वडा बनाउने योजनाअतर्गत ३६ लाख ९० हजारको बजेटबाट ग्यास सिलिन्डर, चूलो, पाइप, रेगुलेटर, लाइटर पेचसहित एक–एक थान वितरण गरिएको छ ।

आइतबार एक कार्यक्रमबीच पोखरिया नगरपालिका– ५ का वडा कार्यालयको आयोजनामा ग्यास सिलिन्डर वितरण गरिएको हो । वितरण कार्यक्रम वडाध्यक्ष महेन्द्रमहतो चाईको अध्यक्षतामा भएको हो ।

कार्यक्रममा प्रमुख अतिथि पोखरिया नगरपालिकाका नगरप्रमुख प्रद्युमन प्रसाद चौहान, विशिष्ठ अतिथि पोखरिया नगरपालिकाका पूर्वनगर प्रमुख दीपनारायण प्रसाद रौनियार, नेकापा एमाले पोखरिया नगर कमिटीका अध्यक्ष बिधाचल ठाकुर, एमाले पर्सा क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति राजेश्वर प्रसाद रौनियार, गोवर्धन यादव,माया साह कानू, किसान चौहान, चांसी तुरहा, वडा सदस्यहरुलगायतको उपस्थिति रहेको थियो ।

वडा नम्बर ५ सतवरियामा करीब ५०५ घरधुरी रहेको छ । ५०५ घरधुरीमा वितरण भइरहेको ग्यास सिलिन्डर र चुलो १ घर १ ग्यास सिलिन्डर र चुलो वितरण गरिएको वडा सचिव हजारी यादवले बताए ।

कार्यक्रममा बोल्दै नगरप्रमुख प्रद्युमन प्रसाद चौहानले
पोखरिया नगरपालिका– ५ सतवरियामा वितरण भइरहेको ग्यास सिलिन्डर र चुलो प्रत्येक घरमा एक घर नछुटाई दिने बताए ।

कार्यक्रममा बोल्दै पोखरिया नगरपालिकाका पूर्वनगर प्रमुख दिपनारायण प्रसाद रौनियारले ग्यास सिलन्डर र त्यसको प्रयोग गर्ने तरिका सबैलाई थाहा नभएको र तरिकासम्बन्धी वडाबासीलाई तालिम दिनु र्ने आवश्यक रहेको बताए ।

ग्यास सिलिन्डर, चुलो वितरण कार्यक्रम आज बिहानदेखि सुरु भएको हो । पहिलो प्राथमिकतामा दलित, मुस्लिम जनजाति, आदिवासी, पिछडिएका वर्गलाई सुरुमा वितरण गरिएको छ भने
भोलि, कानु, रौनियार, मुखिया, बिन, मलाह, छेत्री, बाहुन, चौहानलाई वितरण गरिने वडाध्यक्ष महेन्द्र महतो चाईले बताए ।

प्रतिक्रिया