सर्लाही । यस वर्ष किसानले उब्जाएको हरियो तरकारीले उचित मूल्य नपाएपछि किसान चिन्तित बनेका छन् । गोलभेँडाको सहर भनेर चिनिने सर्लाहीको लालबन्दी नगरपालिकाका किसानले उत्पादन गरेका बोडी, गोलभेँडा लगायतका ताजा तरकारीले मूल्य नपाएको किसानको गुनासो छ ।
आकाशे पानीको भरमा खेती हुँदै आएको लालबन्दी नगरपालिकाको राजमार्गभन्दा उत्तरतर्फका धेरै भूभागमा पछिल्लो समय तरकारी खेती हुन थालेको छ । तर, आफूहरूले फलाएको तरकारीले बजार मूल्य नपाउँदा ब्यर्थैमा यो खेती गरिएछ भन्ने लागेको धेरै किसानले गुनासो गरेका छन् । यस वर्ष जिल्लाका दक्षिणी भेगमा पनि काउली, मुला लगायतका तरकारीको उत्पादन राम्रो भएको थियो ।
यसैवर्षबाट बोडी खेती थालेका लालबन्दी नगरपालिका–१५ तल्लो चिसापानीका गणेश कार्कीका बोडी बजारमा मूल्य नपाउँदा बारीमै सुक्यो । अर्काको जग्गा भाडामा लिएर खेती सुरु गरेका कार्कीले घ्यु बोडी र गोलभेँडा लगाएका थिए । बिउवीजन र औषधि गरी करिब १० हजार खर्च गरेर लगाएको बोडी खेतीमा कार्कीले जम्मा तीन सय रुपैयाँको बिक्री गरेको बताए ।
नौ किलोमिटर दक्षिण पश्चिममा रहेको तरकारी बजारसम्म पु¥याएर १० रुपैयाँ प्रतिकिलोमा बोडी बेच्न परेका कार्कीले बारीमा लटरम्मै फलेका बोडीलाई टिपेर फेरी बजार लगेनन्, बरु भैँसीलाई पकाएर खुवाए । बजारमा त्यहि बोडी खुद्रा ५०÷६० रुपैँया किलोमा बिक्री भइरहेको छ । तर किसानसँग व्यापारीले पाँच रुपैयाँ किलोमा मागिरहेका अर्का किसान लक्ष्मीमाया वाइबाले बताइन् ।
बोडीको मूल्य नआए पनि गोलभेँडाले लगानी उठाउलाकी भन्ने आसमा रहेकी उनले नौ क्रेट गोलभेँडा बेचेर एक बोरा चामल पनि किन्न नसकेको दुःखेसो सुनाइन् । थोरै मात्रै बिक्री गरेर बाँकी बोडी बारीमै सुकाएका अर्का किसान चन्द्र गोलेले सुनाए । ‘सिँचाइको सुविधा छैन, मल, उन्नत जातको बिउ, विषादी सबै महँगो मूल्यमा खरिद गर्नुपर्छ । तर आफूहरूले लगाएको तरकारीको उचित मूल्य आउँदैन’, उनले गुनासो गरे । यस वर्ष उत्पादन भएका काउली, मुला, बोडी, टमाटर, धनियाँ, प्याज, लौका, भान्टा लगायतका कुनै पनि हरियो तरकारीको मूल्य किसानले सोचेको भन्दा धेरै कम छ ।
लालबन्दीको कृषि थोक बजार ब्यवस्थापन समितिमा रहेका किसान प्रतिनिधि पशुपति शर्माले देशमा कोरोना कहरपछि आर्थिक समृद्धिका लागि केही न केही गर्नुपर्छ भन्ने सोच मानिसहरूमा आएको र बढी तरकारी खपत हुने क्षेत्रहरूमा पनि व्यावसायिक तरकारी खेती हुन थालेकाले यहाँको हरियो तरकारीको मूल्य घटेको जानकारी दिए । उनले धेरै तरकारी निर्यात हुने चितवन, हेटौंडा, काठमाडौं, भक्तपुर, विराटनगर लगायतका ठाउँहरूमा त्यहीँका किसानले तरकारी खेती सुरु गरेकाले अहिलेको अवस्था सिर्जना भएको बताए । अहिले उन्नत बिउवीजन, विभिन्न आधुनिक प्रविधि लगायतले गर्दा पहिलेको तुलनामा सबैखाले तरकारीको उत्पादनमा वृद्धि भएको भन्दै शर्माले सरकारले बजार ब्यवस्थापनदेखि भण्डारणको समेत राम्रो प्रबन्ध गर्नु अत्यावश्यक भएको बताए ।
यता लालबन्दी नगरपालिकाको कृषि शाखाका प्रमुख गोकर्ण पौडेलले बजेट अभावकै कारण कृषकहरूको हितमा परिणाममुखि काम गर्न नसकिएको प्रतिक्रिया दिएका छन् । कतिपयले लालबन्दी नगरपालिकाले असली किसानलाई नै पहिचान गर्न नसकेको बताइरहँदा नगरको कृषि शाखा भने बजेट चलाउने र पचाउने थलो मात्रै बनेको प्रष्ट हुन्छ ।
किसानको हितका लागि कस्तो कार्यक्रम गर्ने, समस्याको समाधानका लागि के गर्ने भन्ने सवालमा कृषि शाखा नै अनविज्ञ छ । अलि ठुलो स्वरले बोल्ने बिचौलियालाई मात्रै कृषक सम्झिने गल्ती नगरपालिकाबाटै भएकोले पनि किसान मारमा परेको केहीको बुझाइ छ । नगरप्रमुख बासुदेव अधिकारीका अनुसार किसानको उत्पादन बिक्रीका लागि प्रत्येक वडामा बजार बिस्तारको योजना अघि सारिएको छ । उद्योग वाणिज्य संघलाई ठाउँठाउँमा पुगेर तरकारी उठाइदिने प्रबन्ध मिलाउन आग्रह गरिएको बताउँदै नगरप्रमुख अधिकारीले कृषि र किसानको हितकारी धेरै योजना रहेको बताए । तत्काल गर्न सकिने र गरिहाल्ने खालको योजना कमै भए पनि गरिनेछ र गर्न सकिन्छ भन्ने अर्थका योजना सुनाउँदै उनले आफूहरूको ध्यान कृषिमा रहेको धारणा राखे । लालबन्दी गरपालिकामा मात्रै लालबन्दी, नवलपुर र रानीगञ्जमा बजार लाग्ने गर्दछ भने जिल्लाका अन्य ठूला बजारहरूमा बयलबास, हरिपुर, मलंगवा, कौडेनालगायत रहेका छन् ।
सर्लाही
प्रतिक्रिया