विद्यालय समुदायबीच सम्बन्ध

अचेल निजी विद्यालयका तुल्नामा सामुदायिक विद्यालयका विद्यार्थीहरूका संख्या दिनप्रतिदिन घट्दै गएको देखिएको छ । विगतमा पनि यस्तै अवस्था देखिएपछि एकअर्कामा नजीकका विद्यालयहरूलाई गाभिएर तत्काल व्यवस्थापन गरिएका समाचार सुन्नमा आएकै थियो । सामुदायिक विद्यालयमा सरकारले निःशुल्क शिक्षाको व्यवस्था अनि सुविधा प्रदान गरेता पनि निजी विद्यालयको नै स्तरोन्नति बढी देखिन्छ ।

उदयकुमार यादव

विद्यालय सञ्चालनको संपूर्ण जिम्मा केबल सरकारको नै हो भन्ने विगतमा आमधारणा थियो । यो संकीर्ण धारणालाई हटाएर नागरिक समाज र विशेष गरी अभिभावकको प्रतिनिधिमूलक संस्था विद्यालय व्यवस्थापन समितिलाई अधिकार सम्पन्न बनाउने प्रयास भयो । विद्यालयको महत्वपूर्ण अंगका रूपमा व्यवस्थापन समितिलाइ स्थापित गर्ने दृष्टिकोण सुरु भयो । यही दृष्टिकोणबाट विद्यालय समुदाय सम्बन्ध अवधारणाको विकास हुँदै गएको हो । यसै दृष्टिकोणले सरकारी विद्यालयहरू समुदायलाई नै जिम्मेवारी दिने काम भइरहेकोछ । विद्यालय भनेका स्थानीय जनताकै सम्पत्ति हुन भन्ने आधुनिक अवधारणालाई व्यवहारमा लागुगर्न सरकारी विद्यालय समुदायमा हस्तान्तरण प्रकृया आगाडि सारिएको हो भन्ने बुमिmन्छ । तर समुदायका टाठाबाठाले यस अधिकारको राजनीतिक षडयन्त्र गरी दुरुपयोग गर्न थालेका छन् ।

समुदायमा रहेका स्रोतहरू विद्यालयका लागि परिचालन गरिनु पर्दछ । तर उल्टो भइरहेको छ । समुदायमा रहेका स्रोत साधनहरू विद्यालयका लागि परिचालन हुन नसक्नु, विद्यालयमा अनावश्यक रूपमा राजनीतिकरण हुनु, विद्यालयले लिनुपर्ने सहयोग र साधनका सुविधा लिन नसक्नु जस्ता समस्या तथा चुनौतीले विद्यालय व्यवस्थापन अपेक्षित रूपमा प्रभावकारी हुन सकेको देखिँदैन । समुदायलाई जिम्मेवार बनाउनसके मात्र हाम्रा विद्यालय राम्ररी सञ्चालन हुन सक्नेछन् ।

विद्यालयप्रति जिम्मेवार बनाउने केही उपायहरू

नागरिक समाज र विद्यालयले संयुक्त कार्यक्रमहरू आयोजना गरेर, अनिवार्य रूपमा अभिभावक दिवसजस्ता कार्यक्रमको आयोजना गरेर, विद्यालयका विशेष शुभचिन्तक तथा दाता परिवारहरूलाई समयसमयमा उचित सम्मान गरेर, समुदाय र विद्यालयको उन्नतिको लागि समुदायको बैठक आयोजना गरेर समुदायलाई विद्यालयप्रति जिम्मेवार बनाउन सकिन्छ । अर्थात् विद्यालय र समुदाय एकअर्काका परिपूरक भएकाले दुबैकाबीच अन्तर सम्बन्ध कायम भई कसरी एक आपसमा सुमधुर सम्बन्ध कायम होला त ? भन्ने विषयमा चिन्तन गर्नुपर्छ ।

शिक्षाको गुणात्मक विकासका लागि विद्यालयको शैक्षिक भौतिक तथा आर्थिक व्यवस्थाको नियमित निरीक्षण र रेखदेख गर्नेकाममा समुदायलाई जिममेवारी गराउन सकिए मात्र समुदाय र विद्यालयबीच सुमधुर सम्बन्ध कायम हुन सक्दछ । विद्यालयमा स्रोत साधन जुटाउनेदेखि लिएर यसका शैक्षिक क्रियाकलापहरू निरीक्षण, रेखदेख र मूल्यांकन गर्ने काम समुदायलाई जिम्मा लगाउनु पर्दछ । त्यस्तै व्यवस्थापन समितिलाई शैक्षिक जनजागरण सञ्चालन गर्ने, विद्यालय भवन निर्माणका लागि जग्गा उपलब्ध गराउने, ती आवश्यक भवनहरू निर्माण गर्न आर्थिक सहायता उपलब्ध गराउने, विद्यालयको फर्निचर, पिउने पानी, चर्पीको व्यवस्था गर्ने, वृक्षरोपण, वातावरणीय सरसफाइृ गर्नेजस्ता भौतिक कार्यहरू गर्नुका साथै शिक्षक विद्यार्थीको नियमित उपस्थिति हेर्ने, शिक्षकको सुपरिवेक्षण जस्ता कार्य गर्न वातावरण पनि मिलाउन समुदायलाई सचेत र सक्रिय गराउनसकेमा विद्यालयको समुचित विकास भई गुण स्तर शिक्षा प्रदान गर्ने काम सहज हुन सक्दछ ।

उपरोक्त नीति तथा सिद्धान्तलाई मूुर्त रूप दिन बुँदागत सुझाव तथा सल्लाहलाई चाहिँ यसरी प्रस्तुत गर्न सकिन्छ

१.शिक्षक संघ तथा अभिभावक संघ दुबैलाई सक्रिय बनाउने । २.विद्यालयको नीति तथा कार्यक्रम निर्माण सञ्चालनमा वुद्धिजीवी अभिभावकलाई अनिवार्य रूपमा संग्लग्न गराउने ३.विद्यालय क्षेत्रको समुदायको आवश्यकता पहिचान गरी आवश्यक सहयोग गर्ने । ४.शिक्षकहरूले पनि स्थानीय अभिभावक तथा समुदायका समाजसेवी तथा प्रबुद्ध वर्गसँग अनिवार्य रूपमा भेटघाट र अन्तरक्रिया गर्ने । ५.स्थानीय चाडपर्वदेखि अन्य सांस्कृतिक भेला वा समारोहमा आत्मीयतासाथ सहभागिता गराउने । ६.विद्यालय दिवसलगायत अभिभावक दिवसमा अनिवार्य रूपमा सामुदायिक महानुभावलाई निम्त्याउने । ७.विद्यालयको आय व्याय, वार्षिक कार्यक्रम, प्रगति प्रतिवेदन, आदिको बारेमा समुदायलाई जानकारी दिएर पारदर्शी नीति लिने । विद्यालय व्यवस्थापन समिति, अभिभावक संघ, शिक्षक अभिभावक, विद्यार्थी स्थानीय निकाय, गैरसरकारी संस्था सहकारी संघ संस्था आदिबीच अधावधिक रूपमा समन्वय र सहकार्य गर्ने ।

समुदायको विकासमा विद्यालयको भूमिका

विद्यालय समाजमा स्थापित एक व्यवस्थित किसिमको शिक्षा प्रदान गर्ने औपचारिक संस्था हो । कारण कुनै पनि विद्यालयको स्थापना समग्रमा व्यक्ति र समाजकै हित तथा भलाइका लागि भएको हुन्छ । विद्यालयले सामाजिक, सांस्कृतिक मूल्यमान्यता तथा आदर्शलाई नयाँ पुस्तामा हस्तान्तरण गर्न र संस्कृतिको संरक्षण गर्नुका साथै सम्बद्र्धनसमेत गर्न महत्वपूर्ण भूमिका निर्वाह पनि गरेको हुन्छ । विद्यालय समाजको अभिन्न अंगको रुपमा रहेको हुन्छ । विद्यालय बीना कुनै पनि समाजको प्रगति सम्भव छैन भने समाजबिना विद्यालयको पनि अस्तित्व रहँदैन । यस अर्थमा हेर्दा विद्यालय एउटा पूर्ण समाजको सानो अंग हो ।

कुनै पनि बालक जन्मदाखेरि नै खराब वा असल हंँदैन । जन्मदा नै उसले केही न केही अन्तरनिहित क्षमता पनि प्राकृतिक रूपमा लिएर आएकै हुन्छ । अर्थात् त्यो क्षमतालाई प्रस्फुरण गराउन उसको बाबुआमा, अभिभावक, घरपरिवार, छिमेकी, समुदाय, विद्यालय तथा समाजको वातावरणले पनि महत्वपूर्ण भूमिका खेलेको हुन्छ । भिन्नभिन्न समाजमा भिन्नभिन्न किसिमका सामाजिक मूल्य मान्यता, सांस्कृतिक आदर्शहरू पनि स्थापित हुन्छन् । त्यही सामाजिक बनौट, प्रक्रिया, संस्कृति तथा अन्तरक्रिया आदिका आधारमा नै विद्यालयको पाठ्यक्रम, शिक्षक, विद्यार्थीको स्थान, मूल्यांकन प्रक्रिया आदि निर्धारित हुन्छन् । यसर्थ यस मानेमा विद्यालय एउटा त्यो सामाजिक स्थल हो जहाँ प्रत्येक विद्यार्थीले आफ्ना शैक्षिक भविष्य निर्माण गर्दछ । कुनै पनि क्षेत्रका कुशल व्यक्तित्व उपार्जन गर्ने पवित्र स्थल भनेको विद्यालय नै हो ।

समाजमा मर्यादाका साथ जीवनयापन गर्ने योग्यता आचरण र उपयुक्त व्यवहार विद्यालयबाट नै सिकाइने भएकाले, प्रत्येक समुदायको विकासमा विद्यालयको महत्वपूर्ण भूमिका रहेको हुन्छ । प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा विद्यालय र समुदायको नङ र मासुकै सम्बन्ध हुन्छ, दुबै एकअर्काका परिपुरक भएकाले एउटाको सक्रियता र अर्काको निष्क्रियताबाट सामाजिक विकास तथा शैक्षिक विकास असंभव हुन्छ । दुबैको समानान्तर सक्रियताबाट नै समुचित विकास संभव हुन्छ । एकअर्काबिना दुबै अस्तित्वहीन हुनेछ ।

अचेल निजी विद्यालयका तुलनामा सामुदायिक विद्यालयका विद्यार्थीहरूका संख्या दिनप्रतिदिन घट्दै गएको देखिएको छ । विगतमा पनि यस्तै अवस्था देखिएपछि एकअर्कामा नजिकका विद्यालयहरूलाई गाभिएर तत्काल व्यवस्थापन गरिएका समाचार सुन्नमा आएकै थियो । सामुदायिक विद्यालयमा सरकारले निःशुल्क शिक्षाको व्यवस्था अनि सुविधा प्रदान गरेता पनि निजी विद्यालयको नै स्तरोन्नति बढी देखिन्छ । जबकि संयुक्त राज्य अमेरिकामा हाम्रो देश नेपालको ठीक्क उल्टो अवस्था रहेको समाचार विभिन्न मासमेडियाहरूबाट हामीलाई जानकारी भइराखेको छ ।

भनिन्छ, अमेरिकाका करिब ९० प्रतिशत सामुदायिक विद्यालयका अवस्था प्रगतिशील समुन्नत रहेको छ । बाँकी करिब १० प्रतिशतका हाराहारीमा संस्थागत विद्यालयहरू मात्र सन्तुष्टीजनक रूपमा सञ्चालन रहेका छन् । यसका पछाडि केबल सरकार होइन त्यहाँका समुदाय तथा विद्यालय व्यवस्थापन समितिका भूमिका सक्षम सफल र सर्वमान्य रहेको छ । विद्यालय प्रशासन तथा समुदायकै सुमधुर सम्बन्ध तथा समन्वय सहकार्यले गर्दा त्यहाँका ८० प्रतिशतभन्दा बढी विद्यार्थीहरू सामुदायिक विद्यालयमा नै भर्ना गरिन्छन् । तर, हाम्रो नेपालमा गाउँदेखि सहरमासमेत अमेरिकाको ठीक्क विपरीत अवस्था छ । हुन त यसका पछाडि धेरै कारणहरू छन्, तथापि ती मध्ये प्रमुख कारण विद्यालय समुदायबीचको सम्बन्धमा उत्पन्न अन्योल नै रहेको छ ।

विद्यालय र समुदायबीचको सम्बन्धले यस क्षेत्रमा महत्वपूर्ण भूमिका खेलेको देखिन्छ । तर हामी र हाम्रा समुदाय अमेरिकाजस्तो सभ्य तथा विकसित नभएकाले विद्यालय र समुदायको सम्बन्ध सुमधुर नभएर यस्तो विपरीत परिस्थितिको सामना हामीले गर्नुपर्दोरहेछ । हामी र हाम्रो समुदायमा बढीभन्दा बढी अभिभावक वर्ग नै संकीर्णता तथा संकुचित सोचबाट ग्रसित छन् । यस्तो सोच रहेसम्म हाम्रो समुदाय र विद्यालयको सम्बन्ध कहिले पनि सुमधुर हुन सक्दैन । यसका पछाडि विद्यालय र समुदाय दुबै दोषी देखिन्छ । एकातर्फ विद्यालयले आफ्ना चमत्कारी शैक्षिक वातावरणबाट गुणत्मक परिणाम ल्याई समुदायलाई विशेष कार्यक्रमहरूमा सक्रिय सहभागिताका साथ आकर्षण गर्न सक्नुपर्छ । अर्कातर्फ समुदायले पनि अनावश्यक राजनीतिकरण नगरी आफ्नै मान्छे सरुवाबढुवा गरी भर्ना गर्ने काम बन्द गर्नुपर्छ । निष्पक्ष र स्वतन्त्र रूपमा सबल जनशक्ति मात्र भर्ना गर्नुपर्छ । त्यसैगरी अर्को प्रमुख कारण के हो भने भर्ना सामुदायिकमा गर्ने प्रमाणपत्र (विभिन्न क्षात्रवृत्तिका उदेश्यले) का लागि तर पढाउने निजी विद्यालयमा । यो दलाली काम सदाकै लागि बन्द गर्नुपर्दछ । अन्यथा जबसम्म सामुदायिक विद्यालय माथिका सम्बन्धित समुदायद्वारा भएका ‘ब्लैकमेलिङ्ग’ पूर्णरूपमा बन्द हुँदैनन् तब सम्मसामुदायिक विद्यालयको अवस्था दिनप्रतिदिन यस्तै दयनीय हुँदै जानेछ । विद्यार्थी भर्नादरमा खडेरी पनि लाग्दै जानेछ ।

प्रतिक्रिया