भारत अधीनस्थ कश्मिरको पहलगाममा भएको आतंकवादी हमलापछि नयाँ दिल्लीले पाकिस्तानसँगको सीमा बन्द गरेको छ । साथै पाकिस्तानसँगका करिब करिब सम्पूर्ण सम्झौता बन्द गरेको छ । के भारत र पाकिस्तानबीचमा युद्ध हुन सम्भव छ ? भारत अधीनस्थ कश्मिरको पहलगाममा आतंककारीहरूले २६ जनाको ज्यान जाने गरी गरेको आक्रमण पाकिस्तानको सबैभन्दा धेरै जनसंख्या भएको कराँची सहरको सबैभन्दा चासोको विषय भएको छ । इस्लामिक अतिवादी संगठनहरूले यसअघि पनि बारम्बार कश्मिरमा हमला गरेका थिए र सोही हमलापछि भारत र पाकिस्तानका सेनाका बीचमा हतियार उठाउने सम्भावनासमेत देखिएको थियो ।
यसपटक भने दिल्लीको प्रयास इस्लामवादलाई गतिलै पाठ सिकाउनेतर्फ उन्मुख छ । कश्मिरका पृथकतावादी समूहलाई साथ दिइरहेको आरोपसमेत पाकिस्तानलाई लागेको छ । यी २ ठुला आणविक महाशक्ति बीचमा तनाव भइरहेको समयमा पाकिस्तानका धेरै जना भने भारतसँग पुरै युद्ध हुने सोचमा रहेका छन् । ‘मलाई लाग्छ, भारत र पाकिस्तानबीचको युद्ध सम्भव छैन । इस्लामवादमा रहेको ‘सेन्टर फर रिसर्च एन्ड सेक्युरिटी स्टडिज्’का कार्यकारी निर्देशक इम्तियाज गुलले भन्छन्, ‘दुवै देशमा रहेको आणविक शक्तिका कारण एकअर्कामाथि जाइलाग्नबाट रोकिएका छन् ।’
पहलगाम आक्रमणपछि नयाँ दिल्लीले पाकिस्तानको विरुद्धमा केही कडा कदम उठाएको छ । यसरी उठाइएका कदममा कूटनीतिक सम्बन्ध बन्द, जमिन र आकाशको सीमा बन्द र सन् १९६० को सिन्धु जल सम्झौता भंगलगायत छन् । यही सन्धिको आधारमा सिन्धु नदीको पानीको वितरण भएको थियो ।
अबको सम्भावना ः सैन्य अपरेसन
सन् २०१९ मा भारत अधीनस्थ कश्मिरको पालुवामा भएको आत्मघाती बम आक्रमणमा ४० भारतीय पारा मिलिटरी जत्थाको ज्यान गएको थियो । त्यसको लगत्तै भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको थियो । सोही आक्रमणले युद्ध हुने सम्भावना प्रबल देखिए पनि समझदारीमै त्यो समयको संकट टरेको थियो ।
अहिले पनि सैन्य आक्रमण हुन सक्ने या नसक्ने भन्ने प्रश्न उठ्न थालेको छ । ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र उनको सरकारलाई सैन्य आक्रमण नै गरेर प्रतिक्रिया दिन दबाब परेको छ’, बेल्जियममा रहेको विश्वव्यापी युद्ध निरोधक संगठन इन्टरनेसनल क्राइसिस ग्रुपका वरिष्ठ विशेषज्ञ प्रवीण धोन्दी भन्छन् ।
जनताको मन जित्नका लागि भारत सरकार र भारतीय जनता पार्टी अहिले पाकिस्तानविरुद्धमा आक्रामक देखिएको छ । ‘यो सरकारलाई सबै तिरबाट हेर्दा सैन्य अपरेसनका लागि बाध्य भएकोझैँ देखिन्छ । साथै सन् २०१९ मा जस्तो आफ्ना समर्थकलाई खसी बनाउन मात्र केन्द्रित भएको देखिँदैन ।’ धोन्दी के कुरामा सहमत छन् भने सैन्य आक्रमणको चाहना राख्ने जनतालाई सैन्य आक्रमणले जस्तो कूटनीतिले तत्कालका लागि सन्तुष्टि मिल्दैन ।
अमेरिकाका लागि पाकिस्तानका पूर्व राजदूत मलेहा लोधीको मतमा भने भारतले पाकिस्तानलाई आक्रमण गरेमा यसको प्रतिकार गर्न पाकिस्तान पूर्ण रूपमा तयार छ । ‘यदि पूर्ण शक्तिका साथ दोहोरो आक्रमण हुने हो भने यसले कसैले पनि कल्पना नगरेको तथा जटिल र भयावह अवस्थाको सिर्जना गर्न सक्छ’, यस कारण त्यस्तो जटिल परिस्थिति आउन नदिन यी २ आणविक शक्ति नै सन्तुलित रहन आवश्यक रहेको उनी बताउँछिन् ।
पूर्वभारतीय जनरल सैयद अल हसन सैन्य र राजनीतिक नेतृत्वमाथि विश्वास गरेर जितको ग्यारेन्टी भए युद्धमा जान सकिने बताउँछन् ।
भारतको दबाबले पाकिस्तानलाई कति कमजोर बनाउँछ ?
अहिलेको लागि कूटनीतिक सम्बन्ध भत्किएका छन् । साथै अनुमानित भविष्य हेर्दा युद्धको लक्षण देखिएको छ । विश्लेषकहरूका अनुसार नयाँ दिल्लीले अन्तर्राष्ट्रिय सम्बन्धका आधारमा पाकिस्तानलाई दबाब दिइरहने छ । ‘भारत पाकिस्तानलाई एक्ल्याउन चाहन्छ । सिन्धु पानी सम्झौताबाट हात झिक्न नै ठुलो कुरा हो’, गुलले भने । भारतले पाकिस्तानलाई एक्लाउन भिसा रद्द गर्ने र अन्य व्यापारिक सम्झौताबाट पछि हटेको पनि गुल बताउँछन् । गुल भन्छन्, ‘यसले पाकिस्तानलाई नै अप्ठेरो पार्छ । भर्खरै लगानी भित्र्याउन लागिरहेको पाकिस्तानका लागि थोरै मात्र विकल्प छन् ।’
कमजोर अर्थतन्त्रमा घिस्रिरहेका पाकिस्तानका धेरैजना अहिले बढ्दो मुद्रास्फीतिका कारण समस्यामा छन् । पश्चिमको बलुचिस्तान र उत्तरपूर्वको खैबर पख्तुन्ख्वालगायत प्रान्तमा पाकिस्तानले अतिवादी संगठनका कारण सुरक्षा चुनौतीको सामना गरिरहेको छ । राजनीतिक हिसाबमा हेर्ने हो भने देशका एकजना लोकप्रिय नेता इमरान खान अझै जेलमा छन् । उनका समर्थकहरू सैन्य उपस्थिति चाहँदैनन् । अहिले कश्मिरमा भारत या पाकिस्तानको बीचको सम्बन्ध अझ खराब भएमा यसले पाकिस्तानको सुरक्षा संयन्त्रमा अझै अप्ठेरो अवस्था निम्त्याउन सक्ने उनीहरूको मत छ ।
भू–राजनीतिक विषय
संयुक्त राष्ट्र संघले यस समयमा भारत र पाकिस्तान दुवै देशले अति संयम अपनाउन आवश्यक रहेको जनाएको छ । यस संयमले मात्र समस्याको शान्तिपूर्ण रूपमा अर्थ लाग्ने ढंगले २ देशलाई सहमतिमा ल्याउन सकिने राष्ट्र संघले जनाएको छ । यसै गरी चिनियाँ विदेश मन्त्रालयले दुवै देशका नेताहरूलाई एकआपसमा भेटेर वार्तामार्फत् समस्याको समाधान गर्न प्रेरित गरेको छ ।
इरानले अहिले नै मध्यस्थताको प्रस्ताव राखिसकेको छ । साउदी अरेबियाले हमला रोक्नका लागि प्रयास जारी राख्ने बताएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि घटना भएलगत्तै आतंकवादी हमलाविरुद्ध ऐक्यवद्धता व्यक्त गरेका छन् । तथापि उनले पनि कुनै पक्षमा लागेर युद्धलाई प्रेरित गरेका छैनन् ।
‘कश्मिरको सीमामा समस्या भएको १ हजार ५०० वर्ष भइसकेको मलाई थाहा छ । तर, यसको पहिचान गर्ने सही बाटो पहिल्याउन सकिन्छ भन्ने मलाई थाहा छ । म भारत र पाकिस्तान दुवै देशका नेतालाई पनि चिन्छु’, पत्रकार सम्मेलनमा ट्रम्पले भने ।
न्युजविक म्यागेजिनमा प्रकाशित लेखका अनुसार ‘अमेरिकाले कूटनीतिक धरातलबाट अहिलेको समस्यालाई समाधान गर्न सक्छ’, कश्मिर आक्रमणपछि प्रकाशित लेखमा उल्लेख गरिएकोे छ, ‘भारतलाई अमेरिकाको समर्थनले २ देशबीचमा निकै क्षेत्रमा थुप्रै साझेदारी विकास भएको छ । साथै पाकिस्तानसँगको सम्बन्ध व्यवस्थित गर्न तथा उसको चीनसँगको सहकार्यका कारण दक्षिण एसियाली भूमिमा हुनसक्ने ध्रुवीकरणले जटिल अवस्था ल्याउन सक्छ ।’
‘वासिंगटनले कूटनीतिक रूपबाट समस्याको समाधान खोज्ने छ । साथै संकट र भविष्यमा हुन सक्ने हिंसाको सम्भावनालाई पनि न्यून गर्ने छ । अहिले संकट र अस्थिरताले दक्षिण एसियामा मात्र होइन विश्वव्यापी रूपमा नै सुरक्षा संयन्त्रलाई नयाँ बाटोमा लैजान सक्ने छ । विशेष गरी यसले सो क्षेत्रमा बढ्दै गएको चिनियाँ प्रभावलाई बढाउने छ’, लेखमा भनिएको छ ।
(समिल साम्स जर्मन समाचार संस्था डिब्लुका एसिया डेस्कका उपप्रमुख हुन् । उनले अफगानिस्तान र पाकिस्तानमा भएका द्वन्द्व तथा दक्षिण एसियाली समस्याका बारेमा कलम चलाउने गरेका छन् ।)
प्रतिक्रिया