पुँजीवादी प्रणाली भनेकै दलाल वा बिचौलियाले चलाउने व्यवस्था हो । यसैले यो व्यवस्था अँगालेर बिचौलिया वा दलालको विरोध गर्नु मुर्ख हुनु हो । कमिसन लिनु वा दिनु पुँजीवादी व्यवस्थामा सामान्य मानिन्छ । तर, दलाल र बिचौलियाहरू कानुनका अधीनमा हुन्छन् र तिनले पनि सरकारलाई कर तिर्नु पर्दछ । लेनदेनका सबै कारोबार कागज वा प्रमाणसहित लेनदेन हुने गर्दछ ।
पद्धति बसेका देशमा दलाल वा बिचौलियालाई सामानको वा विकास निर्माणका कामको वा कुनै सेवाको गुणस्तरमा तलमाथि गर्ने अधिकार हुँदैन । जब कागजमा तोकिएकोभन्दा कम गुणस्तरको सेवा वा विकासका काम गरिन्छ तब त्यसरी लिइने वा दिइने कमिसनलाई भ्रष्टाचार भनिन्छ । जब अनावश्यकरूपमा वा अस्वभाविक तरिकाले समय लम्ब्याएर वा खर्च बढाएर काम गरिन्छ तब त्यसलाई भ्रष्टाचार भनिन्छ ।
जब आधारभूत कुरा पहिला नबनाएर रकम हिनामिना गर्ने मुख्य नियतले कुनै विकासका योजना बनाई कार्यान्वयन गर्न खोजिन्छ तब त्यसलाई भ्रष्टाचार भनिन्छ । संगठित गिरोहको पञ्जामा परी यस्ता योजना ल्याउनु, योजना बनाउने ठाउँ छान्नु, योजना–तस्करी गर्नु हो । जस्तैः पोखरा विमानस्थल । भारतसँग हवाई रुटको अनुमति नलिई बनाइएको भैरहवा विमानस्थल आदि ।
हामी कोही एमालेका, कोही कांग्रेसका, कोही माओवादीका, कोही राप्रपाका वा अरू कसैका कार्यकर्ता वा समर्थक छौँ । यसो गर्नु वा हुनु अपराध वा पाप गर्नु होइन । यसैगरी हामी कोही प्रजातन्त्रका, कोही साम्यवादका, कोही समाजवादका त कोही राजतन्त्रका समर्थक छौँ । यसो हुनु वा गर्नु पनि पाप वा अपराध गर्नु होइन । कोही बौद्ध धर्म, कोही हिन्दु धर्म, कोही इसाइ धर्म आदि धर्मका अनुयायी छौँ । यसो गर्नु पनि पाप वा अपराध गर्नु होइन । किनकी यी साधन हुन् साध्य होइनन् ।
बाहिरबाट हेर्दा सबै वाद, तन्त्र, धर्म आदिको उद्देश्य मानिसको कल्याण गर्नु नै हुन्छ । तर, जब आफ्ना समर्थकलाई मान्छे र अरूका समर्थकलाई नराम्रो व्यवहार गरिन्छ, आफ्ना समर्थकलाई स्वदेशी र अरूका समर्थकलाई विदेशी जस्तो व्यवहार गरिन्छ तब त्यस्तो वाद, तन्त्र वा धर्मलाई क्रमशः तस्कर वाद, तस्कर तन्त्र र तस्कर धर्म भनिन्छ ।
यो देशको समस्या कुनै तन्त्र, कुनै दल वा कुनै धर्ममा छैन । किनकी यो देशले विश्वमा प्रचलनमा रहेका हरेक तन्त्र, हरेक वाद र हरेक सिद्धान्त बोकेका दलका शासन प्रणाली र व्यवहार भोगिसकेको छ । अब सैनिक शासन मात्र भोग्न बाँकी छ । साम्यवाद त भोगेकै छैन नि भनिएला । सक्रिय राजतन्त्र प्रकारान्तरले एकप्रकारको साम्यवाद नै थियो । आफूले चलाउन पाए साम्यवाद हुने अरूले चलाए त्यो निरंकुशतन्त्र हुने भन्ने कुरा हुँदैन ।
हरेक तन्त्र, हरेक दल, हरेक व्यवस्था र राज्यका सबै क्षेत्र तस्कर–दलाल र तस्कर–कमिसनतन्त्रको कब्जामा छ । यसैले मेरो तन्त्र तेरो तन्त्र, मेरो दल तेरो दल, मेरो वाद तेरो वाद, मेरो धर्म तेरो धर्म, मेरा नेता तेरा नेता भनेर बहस गरिरहनु नै निरर्थक छ । अपवादमा बाहेक सबै दल र तिनका पहिलो तह र दोस्रो तहका नेतालाई तिनै तस्कर, माफिया र दलालले आफ्नो कब्जामा लिइसकेका छन् । त्यसैले ती कुन्नि केको पुच्छरजस्तो भएका छन् । न झिँगा धपाउन सक्छ न त आफ्नो लाज छोप्न नै ।
निराश जनताले त्यसपछि घरी राजालाई, घरी माओवादीलाई र घरी तराई आन्दोलनलाई एउटा हदसम्म साथ दिए । तर, जब अन्तिम परिवर्तनपछि परिवर्तनका बाहक मुख्य नेताहरू नै तस्करतन्त्रको जालोमा फसेर मानव तस्करीमा लागेको देख्न थालियो तब सबै दलका तस्करले गिदी र मुटु कब्जा गरिसकेका पहिलो र दोस्रो तहका नेताको अनुहार देख्दा पनि घृणा लागेर आउन थालेको छ ।
तिनका आदर्शका कुरा अब कसैले सुन्दा पनि पत्याउन छाडेका छन् । अरूको गल्ती देखाएर आफू चोखो हुन खोज्ने तिनको आदत देख्दा तिनका मुखमा हेर्न पनि लाज लाग्न थालेको छ । के परिवर्तनका लागि जनताले दिएको बलिदान यसैका लागि थियो त ? सबै आस्थाहरू पवित्र हुन्छन् र पवित्र हुनुपर्दछ । स्वार्थ नै नभई आस्था केही कुरामा पनि हुँदैन । तर जब त्यसमा व्यक्तिगत स्वार्थको मात्रा बढी हुन्छ, देशको स्वार्थ लत्याइन्छ तब त्यसलाई आस्था भनिँदैन, अन्धभक्ति भनिन्छ ।
हुनुपर्ने के हो ?
हरेक दलका तेस्रो तहका नेताले आफू तस्कर र माफियाको जालोबाट जोगिँदै पहिलो र दोस्रो तहका नेतालाई कठोर तरिकाले पाखा लगाउने र कारबाही गर्नुपर्ने हुन्छ । पुरा खान पल्केका नेता र कार्यकर्ताबाट तत्काललाई यो हुन सम्भव देखिँदैन । तिनले आफ्नो गिदी नै धितो राखेका हुन्छन् । यसैले अस्तित्व हराउने डरले आफ्ना नेताले नमिठो खाए पनि मिठो खाए भनेर कराउने गर्दछन् । तस्करतन्त्रले तिनलाई पनि आमाको मृगौला बेचेर भए पनि भट्टीपसलमा छिर्न सिकाएको देखिन्छ ।
दोस्रो उपाय तटस्थ जनता जागरुक भएर वास्तविक क्रान्ति गरी गलत विगतलाई बढारेर दण्डित गर्नु हो । तटस्थ वर्ग यति भ्रममा छ कि, ऊ पनि मौकाको ताकमा तस्कर–तन्त्रलाई नै सहयोग गर्नेगरी प्रायोजितरूपमा अति नै विभाजित मानसिकतामा पुगेको अवस्था छ । घरव्यवहार मिलाउन परिवारका सदस्य एक भएर सरसल्लाह गर्न सकिएन र गाउँलेको सहयोग लिन थालियो भने अरूले चलखेल गर्छन् नै । त्यसैले विदेशी हस्तक्षेप भयो भनेर कोलाहल गर्नु व्यर्थ छ ।
आमनागरिकको भावनालाई एकीकरण गर्ने खालको कि सिस्टम हुनुपर्दछ, कि नेता हुनुपर्दछ कि संस्था हुनुपर्दछ । दुर्भाग्यवश राष्ट्रपतीजस्तो गणतन्त्रको गरिमामय पदलाईसमेत यिनले कुकुरले हाडलाई चुसे जसरी चुस्ने र आफ्नो गलत मनशाय पूरा गर्ने कार्यका लागि प्रयोग गरे । बालुवाटार जग्गाकाण्डमा फसाइएका सोझा भनिने अचम्मका व्यक्ति पनि देशका मुख्यमुख्य पदमा कसरी योग्य भए ? छ कसैसँग उत्तर ? भुटानी शब्दको दुरुपयोग गरी मानव तस्करी हुँदा, अन्य अनेक काण्ड हुँदा व्यक्ति मात्र वा कर्मचारी मात्र दोषी हुन्छ भनेर सोच्ने हामी जनता महामूर्ख नभए के हौँ त ?
विगतका हरेक गल्तीलाई क्षमा दिने जुनसुकै तन्त्र, वाद वा सैनिक शासन आए पनि त्यो अन्तमा तस्करतन्त्रमै परिणत हुनेछ । जनता अन्धभक्त भएसम्म, राजनीतिलाई कमाइ खाने भाँडो बनाउने रोग रहेसम्म, रातारात अरब पति हुने सपनाले प्रश्रय पाइरहेसम्म, सन्तानलाई देशबाहिर लखेट्नुलाई पुरुषार्थ ठान्ने जनता भएसम्म, नेताको नाम लिएर चुस्ने जुकाहरूले देश खाइरहेसम्म यो देशमा परिवर्तन हुँदैन ।
जसरी पहिला पहिला ऋण दिएर कागज गराई शोषकसामन्तले गरिबका जग्गाजमिन र घर खाइदिन्थे त्यसरी नै विदेशीहरूले ऋण दिई दिई कागज गराएर यो देश खाइ दिनेछन् । हामी हावा चल्दा, पानी पर्दा वा राम्रो कुरा हुँदा ‘मैले वा हाम्रो दलले गरेको’ तथा तुवाँलो लाग्दा वा नराम्रो केही हुँदा ‘अरूले गरेको’ भन्दै भाषण गर्ने नेताको बोलीमा हो हो भन्दै थपडी मारेर बस्ने जनताका लागि यो देश भए के भो नभए के भो ?
प्रतिक्रिया