स्वतन्त्रताको नाममा स्वच्छन्दता हावी

सत्य आफैँ जित्दैन । सत्यलाई जिताउनु पर्छ भनेझैँ लोकतन्त्र आफैँ बाँच्दैन । यसलाई हुर्काउने र यसको रक्षा गर्ने काम गणतन्त्रवादीहरूबाट भएपछि मात्रै लोकतन्त्र बाँच्छ । हामीले गणतन्त्रलाई बचाउने काम गरिराखेका छौँ कि के गरिरहेका छौँ ? यस सवालको उचित जबाफ खोजौँ । लोकतन्त्रमाथि खतरा कुन शक्ति र व्यक्तिबाट भयो ? त्यसको उचित प्रमाण खोजौँ ।

धनराज वास्तविक

लोकतन्त्र शासन मात्र होइन, सुशासन पनि हो । लोकतन्त्रले स्वतन्त्रताको नाममा स्वच्छन्दता र अराजकता किमार्थ स्वीकार गर्दैन । आज नेपाली लोकतन्त्रले ससाना संकट बेहोरिरहेको देखिन्छ । स्वतन्त्रताको नाममा भइरहेका स्वच्छन्दताका स्वरहरू संकटको पर्खाल बन्ने खतरा उत्तिकै देखिन्छ । जुन संकटलाई समयमै समाधान गरेर नेपाली लोकतन्त्रलाई उन्नत बनाउनु गणतन्त्रवादी नेता कार्यकर्ताको मुख्य कर्तव्य हो ।

आज विभिन्न समूहसँगै राजावादीहरू आज सडकमा छन् । उनीहरूले सडकबाट उठाएका सवालहरूलाई गणतन्त्रवादीहरूले राम्रोसँग सुन्नुपर्छ भन्नेमा दुईमत छैन । तर, यसको अर्थ यो होइन, लोकतन्त्रको नाममा नेपालमा जसले जे बोले पनि हुन्छ, जसले जे गरे पनि हुन्छ, मनलाग्दी गाली गर्न पाइन्छ र पाउनुपर्छ । यस्ता अराजक व्यक्ति र अस्थिर पक्षलाई लोकतन्त्रवादीहरूले टुलटुल हेरेर बस्न मिल्दैन । स्वतन्त्रताको नारा जपेर आफ्ना अधिकार उपभोग गर्ने नाममा अरूको मान मर्दन गर्न पाइँदैन । अरूको हक अधिकार खोस्न पाइँदैन । अरूलाई जानीजानी छेउ पार्न काम लोकतन्त्र विरोधी काम हो । कसैले यस्ता लोकतन्त्र विरोधी काम गर्छ भने त्यसको डटेर सामना गर्नु लोकतन्त्रवादीहरूको अनिवार्य कर्तव्य हो ।
तर, हाम्रो नेपालमा जसले अरूको बदनाम गर्छ, चर्को स्वरले गाली गर्छ, मिथ्यांक प्रस्तुत गर्छ र ठुलो स्वरमा बोलेर जित्न खोज्छ, तर्क र स्वरले अरूलाई होच्याउन खोज्छ त्यो व्यक्ति नै अभियन्ता कहलिन्छ । उही व्यक्तिलाई निर्वाचनमा जनताले जिताउने काम गर्छन् । आखिर किन हुन्छ यस्तो ? किन यस्तो गरिँदै छ ? सडकका जम्मै सबालहरू जायज हुन्छन् ? सडकबाटै सबै मागहरू पूरा हुन्छन् ? आज हामीले यस्ता प्रश्नहरूलाई बहसको विषय बनाउनु पर्छ ।

कलिलो लोकतन्त्रमाथि कडा प्रहार

हामीले पटकपटक भनेका छौँ कि नेपालमा लोकतन्त्रको उल्टो लहर चल्नेवाला छ । यसलाई लोकतन्त्रवादी नेताहरूले राम्रोसँग बुझून् । साथै जनताका बीचमा गएर समस्या सुनुन् । खासगरी कम्युनिस्ट र कांग्रेसको मूल नेतृत्व र तीनका वरिपरी घुमेर रजाइ गर्ने केही व्यक्तिहरूले लोकतन्त्र विरोधि काम गरेका छन्÷गरिरहेका छन् । जसका कारण हुर्कंदै गरेको लोकतन्त्रमाथि प्रहार हुन थाल्योे । लोकतन्त्रवादीहरूका गैरराजनीतिक प्रवृत्ति र प्रतिगामीहरूका गलत र भ्रामक कठोर हावाले लोकतन्त्रमाथि प्रहार भइरहेको छ ।

मूलतः हामीले नेपालमा लोकतन्त्र हासिल गरेको करिब दुई दशक पुग्न थाल्यो । यो अवस्थामा हामीले केके ग¥यौँ ? त्यो कुरा जनताले बुझ्नेगरी र सुन्नेगरी भन्नुप¥यो । जनताले पनि अनावश्यक रूपमा नेतालाई गाली गरेर देश बन्छ भन्ने निरपेक्ष बुझाइ राख्नु भएन । मुलुक निर्माणमा सबै पक्षको उत्तिकै जिम्मेवारी र कर्तव्य रहन्छ भन्ने कुरा भुल्नु भएन । राजनीतिको मुहान जनता हुन् । जनताले स्थानीय नेता कस्तो जन्माउँछन्, स्थानीय नेताले जिल्ला तहको नेता कस्तो निर्माण गर्छन्, जिल्ला तहको नेताहरूले प्रदेश तहमा कस्तो नेतालाई पठाउँछन्, प्रदेशले संघीय राजधानी काठमाडौँका निम्ति कस्तो खालको नेता पठाउँछन् भन्ने कुराले मुलुकको राजनीति निर्भर रहन्छ । तथापि राजनीति सबै नीतिको पनि मूल नीति भएकै कारण दलका नेताहरू नै नैतिक, निष्ठा र इमानमा बाँचेको हुनुपर्छ । नेताहरू नै उदाहरणीय बन्नुपर्छ । मुलुक र जनताको भरोसा र आशाको केन्द्र बन्नुपर्छ ।

दिवस मनाएर मात्रै लोकतन्त्र बाँच्दैन

दोस्रो जनआन्दोलनले तत्कालीन राजा ज्ञानेन्द्र शाहको निरंकुश शासनलाई घुँडा टेकाएको दिन हो वैशाख ११ गते । जसको सम्झनामा नेपाल सरकार, विभिन्न राजनीतिक दलहरूले १९औँ लोकतन्त्र दिवस मनाए । सुन्दा तितो र रूखो सुनिएला । लोकतन्त्रको नाम जपेर वा दिवस मनाएर मात्रै लोकतन्त्र बाँच्दैन । सत्य आफैँ जित्दैन । सत्यलाई जिताउनु पर्छ भनेझैँ लोकतन्त्र आफैँ बाँच्दैन । यसलाई हुर्काउने र यसको रक्षा गर्ने काम गणतन्त्रवादीहरूबाट भएपछि मात्रै लोकतन्त्र बाँच्छ ।

हामीले गणतन्त्रलाई बचाउने काम गरिराखेका छौँ कि के गरिरहेका छौँ ? यस सवालको उचित जवाफ खोजौँ । लोकतन्त्रमाथि खतरा कुन शक्ति र व्यक्तिबाट भयो ? त्यसको उचित प्रमाण खोजौँ । अनि आजको संकटलाई चिर्न सकिन्छ ।

अर्को बुझ्नैपर्ने र भन्नैपर्ने कुरा भनेको लोकतन्त्र दिवसका अवसरमा नेपाली लोकतन्त्रमाथि देखिन थालेका समस्या र समाधानबारे आजको पुस्ता जानकार हुनुपर्छ । आजको पुस्ताले डाटामा विश्वास गर्नुप¥यो । हावामा कुद्न भएन । जसले जे भन्छ त्यही सत्य हो भनेर उसका पछि दौडिन भएन । यसरी त तिनै घटना दोहोरिनेबाहेक अर्को प्रगति हुने देखिन्न । त्यसैले आजको पुस्ताले इतिहासका पानाहरू पल्टाउन अल्छी मान्नु भएन । मूलतः आजको पुस्ताले लोकतन्त्रबारे जान्नुपर्छ । बुझ्नुपर्छ । नागरिक बनिसकेका जनताहरू रैती बन्ने कुरा असम्भव प्रायः हो । लोकतन्त्र जनताको व्यवस्था हो । लोकतन्त्र सत्यलाई जिताउने व्यवस्था हो । पुनः स्मरण रहोस्, लोकतन्त्र आफैँ जित्ने व्यवस्था नभएका कारण यसलाई लोकतन्त्र पक्षधर शक्ति र लोकतन्त्रका मालिक जनताहरूले नै जिताउनुपर्छ । जनताले लोकतन्त्रलाई हार्न र मार्न दिनु हुँदैन । लोकतन्त्रले जिते मात्र जनता र मुलुकले जित्ने हो ।

स्वतन्त्रताको मूल्य नबुझेको नेपाली समाज

कस्तुरीले आफ्नो आङमा रहेको बिना खोजेजस्तै केही व्यक्तिहरू आज लोकतन्त्रले के दियो भन्दै तथानाम बोलिरहेको सुनिन्छ । जो व्यक्ति लोकतन्त्रका विरूद्धमा जसरी मुख फोहोर देखिनेगरी बोलिरहेका छन्, त्यसरी बोल्ने छुट दिने व्यवस्था पनि त लोकतन्त्र नै हो । लोकतन्त्रले नेपाली समाजलाई समाजवादको यात्रा तय गर्ने सुनौलो बिहानी खडा गरेको छ । स्वतन्त्रको मूल्य सदैव सजीव र साश्वत हुन्छ ।

नेपाली राजनीतिको कुरा गर्दा राणाहरूको पालामा नेपालीले गुजारेको कालरात्री, महेन्द्रले गरेको प्रजातन्त्रमाथि गरेको बलात र २०६१ माघ १९ मा ज्ञानेन्द्रले गरेको ‘कु’ लाई नजिनकबाट देखेका र भोगेकालाई खासमा स्वतन्त्रताको मूल्य के हो ? भन्नेबारेमा राम्रोसँग थाहा छ । तर, दोस्रो जनआन्दोलनपछि जन्मिएको नयाँ पुस्तालाई यी जम्मै घटनाका बारेमा थाहा छैन । थाहा हुने कुरा पनि भएन । जसले आमाबुबा, दाजुभाउजुको कमाइ खाइरहेका छन् । भनेको पाइएको छ । मनपर्दी बोल्न पाएका छन् । कुनै ठाउँ जान रोक छैन । यस्तो अवस्थामा यत्ति भन्न सकिन्छ, हाम्रो नेपाली समाज स्वतन्त्रताको मूूल्यलाई मिच्न खोज्दै छ । यो सर्वथा हानिकारक हुन्छ ।

अन्त्यमा, लोकतन्त्रका यी दुई दशक समयमा जति घटना भए । जति विकास भयो । समृद्धिको यात्रा तय भयो, यो नै काफी छ भन्ने कुरा छैन । तर, जति भएको छ, त्यसको प्रचार र त्यसलाई स्वीकार गर्नुको विकल्प छैन । निराशा बाँड्ने र भ्रम फैलाउने काम भइरहेका छन् । यस्ता कार्यहरू प्रतिगामी र यथास्थितिवादीहरूबाट भइरहेका छन् । यही स्वतन्त्रताको जगमा उभिएर केही व्यक्तिहरू उदाए । तिनीहरूले ‘म नै राज्य हुँ, राज्य नै म हुँ’ भन्ने खालका व्यवहार देखाए र देखाइरहेका पनि छन् । त्यस्ता अराजक मान्छेहरूले बुझुन् नेपाली लोकतन्त्र र स्वतन्त्रताको जग त्यति कमजोर छैन, जो सानो हावाको झोक्काले ढलोस् । नेपाली लोकतन्त्र हजारौँ सहिदहरूको बलिदानको आस्था र विचारमाथि उभिएको छ । नेपाली लोकतन्त्रको जरा जनताको मनमा गाडिएको छ । लोकतन्त्र दिवस २०८२ को हार्दिक शुभकामना ।

प्रतिक्रिया