भुक्तानीको माग गर्दै पूर्वाधार विकास कार्यालयमा तालाबन्दी

धनुषा । उपभोक्ता समितिले बक्यौता रकमको भुक्तानी माग्दै पूर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरेको छ ।
चालु आर्थिक वर्ष २०७८/७९ मा सम्पन्न भइसकेका कामको बक्यौता भुक्तानी नहुँदा आक्रोशित उपभोक्ता समितिका पदाधिकारीले आइतबार भुक्तानी माग्दै पूर्वाधार विकास कार्यालय जनकपुरधाममा तालाबन्दी गरेका हुन् ।

आक्रोशित उपभोक्ता संघर्ष समितिका अध्यक्ष प्रमोद यादवले आफूहरूले कार्य सम्पन्न गरेर २३ असार अगावै सम्पन्न योजनाको फाइल कार्यालयमा जम्मा गरिसकेको अवस्थामा कार्यालयका इन्जिनियर र लेखापालले सर्भर डाउन रहेको कारण देखाउँदै चेक नबनाएको गुनासो गरेका छन् ।

उनले आफूहरूको बक्यौता रकम चाँडै भुक्तानी नभए आगामी चरणमा सडक आन्दोलन गर्ने चेतावनीसमेत दिए । उनले भौतिक पूर्वाधार विकास मन्त्रालय र प्रदेशसभा सदस्यको गरी करीब दुई सय उपभोक्ता समितिको एक अर्बको हाराहारीमा भुक्तानी हुन बाँकी रहेको बताए । मधेस प्रदेशमा यसअघि आर्थिक वर्ष २०७५÷७६ मा समेत सयौँ योजनाको भुक्तानी हुन सकेको थिएन ।

उपभोक्ता समितिको चरणबद्ध आन्दोलनपश्चात प्रदेशसभाबाट छानबिन समिति गठन भई समितिको प्रतिवेदनको आधारमा दुई वर्षपछि २०७७÷७८ मा पहिलो पटकका लागि भनी विनियोजन विधेयकमा छुट भुक्तानी भनेर विशेष व्यवस्था गरी भुक्तानी गरिएको थियो । दाबी गरिएको १ अर्ब १५ करोड बक्यौता भुक्तानीमा संसदीय छानबिन समितिले सदर गरेअनुसार ८७ करोड रुपैयाँ उपभोक्ता समितिलाई भुक्तानी गरिएको थियो ।

प्रतिक्रिया