बोदे बर्साईनमा लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न

सप्तरी । बोदे बर्साईन नगरपालिकाको आयोजनामा एक कार्यक्रमका बीच आइतबार लैंगिक हिंसाविरुद्ध १६ दिने अभियान सम्पन्न भएको छ ।

मंसिर ९ गतेदेखि २४ गतेसम्म १६ दिन विभिन्न कार्यक्रम गरी लैंगिकविरुद्धको अभियान आज भब्य कार्यक्रमको आयोजना गरी सम्पन्न गरिएको बोदे बर्साईन नगरपालिकाले जनाएको छ ।

कार्यक्रमको प्रमुख अतिथि बोदे बर्साईन नगरपालिककी कार्यवाहक नगरप्रमुख रेणुकुमारी साह रहेकी थिइन् । सो अवसरमा हिंसा महिलामाथि मात्रै नहुने र पुरुषहरुलाई पनि हुने साहले बताइन् । सो कार्यक्रम बोदे बर्साईन नगरपालिकाको महिला, बालबालिका तथा ज्येष्ठ नागरिक शाखाको अध्यक्षतामा भएको थियो ।

कार्यक्रमका विशिष्ठ अतिथि बोदे बर्साईन नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिलिपकुमार यादवले हिंसा भएको वा देखेमा सम्बन्धित स्थानमा सूचना गरी सहयोग गर्नुपर्ने बताए । यस्ता कार्यक्रमहरुले समाजमा चेतना अभिवृद्धि गराउन सहयोग पुर्याउने यादवको भनाई थियो ।

कार्यक्रममा प्रमुख यादवले स्वाभिमानपूर्वक बाँच्न सबैले पाउन पर्ने बताए । हिंसाविरुद्ध एकबद्ध भएर लाग्नुपर्ने उनले बताए । नगरपालिकाको भवनबाट सुरु भएको र्यालीले बोदे बर्साईन बजार परिक्रमा गरि पुनः अनसन चौतारीमा आइ कार्यक्रम गरेएको थियो ।

उक्त र्यालीमा ’महिला हिंसा अन्त्य गरौँ’, ’सामाजिक न्यायको प्रवर्द्धन गरौं’, ’बाचौं, बचाऔ, अन्यायको विरुद्ध एक हौँ’ लगाएतका नारा लेखिएको प्ले कार्ड सहित बोदे बर्साईन बजार परिक्रमा गरिएको हो । कार्यक्रममा म हिंसा गर्दिन भन्ने प्रतिबद्धतासहित हस्ताक्षरसमेत गरिएको थियो ।

प्रतिक्रिया