अज्ञात समूहद्धारा धानमा आगजनी

रौतहट । रौतहटको फतुवा विजयपुर नगरपालिकाका एक किसानको खेतमा भित्र्याउन ठिक्क पारेको धानमा अज्ञात समूहले हिजोराती आगो लगाएर जलाइदिएको छ । फतुवा विजयपुर–२ का किसान लक्ष्मी नारायण यादवको पौने २ बिगाह खेतमा लगाएको धान शनिवार राती साढे ९ बजेतिर आगो लगाएर पूर्ण रुपमा नष्ट पारिदिएका छन् । आगलागीबाट सबै धान जलेर खरानी भएको किसान यादवले बताए ।

खेतको धान एकै ठाउँ थुपारेर आइतबार थ्रेसर लगाउने तयारीमा रहेका किसान यादबको धानमा पेट्रोल छर्किएर आगो लगाइएको यादवको भनाइ छ । आगलागीबाट करिब ३ लाख बराबरको क्षति भएको छ । घटनाको बारेमा प्रहरीलाई जानकारी गराइसकेको जनाउँदै दोषीलाई पक्राउ गरेर कानुनी कारवाहीको दायरामा ल्याउन माग गरेका छन् ।

प्रतिक्रिया