पूरा होला त जनकपुरधाम नगरप्रमुखको सपना ?

जनकपुरधाम । मधेस प्रदेशको राजधानी जनकपुरधाम उपमहानगरपालिकाको नगरप्रमुखमा निर्वाचित भएमा मनोजकुमार साहले २१ बुँदे प्रतिबद्धता पत्र सार्वजनिक गरेका थिए । तर, उनी निर्वाचित भएको करिब डेढ वर्ष नबित्दै उनले घोषणा गरेका २१ बुँदे प्रतिबद्धता पत्रअनुसार कार्यहरू किन भइरहेको छैन भनी जनकपुरधामवासीबीच चर्चा चुलिन थालेको छ ।

उनले सार्वजनिक गरेको प्रतिबद्धतापत्र अनुसार पहिलो बुँदामै ‘हाम्रो जनकपुरधाम ः राम्रो जनकपुरधाम, सुन्दर जनकपुरधाम र सफा जनकपुरधाम’ बनाउने दाबी गरेका थिए । गत वैशाख २१ मा पत्रकार सम्मेलन आयोजना गर्दै जनकपुरधाम उपमहानगरका नगरप्रमुख साहले जनकपुरधाम उपमहानगरलाई सुन्दर, आकर्षक र समृद्ध बनाउने संकल्पका साथ जनकपुरधाम उपमहानगरपालिकाको मेयरमा आफूले उम्मेद्वारी दिएको बताएका थिए ।

उनले जारी गरेको प्रतिबद्धता–पत्रमा जनकपुरधाम उपमहानगरपालिकाभित्र फोहोर व्यवस्थापनका लागि सेनेटरी ल्यान्डफिल साइट निर्माण तत्काल सुरु गराउने, फोहोर व्यवस्थापनका लागि आवश्यक उपकरण र जनशक्ति परिचालन गरिने, फोहोर व्यवस्थापन कार्यमा आधुनिक तथा वैज्ञानिक प्रणाली अपनाई यसबाट घरेलु कार्यमा प्रयोग हुने ऊर्जा तथा कम्पोस्ट मल उत्पादन गरी कृषिकार्यमा जैविक प्रविधिको प्रोत्साहन तथा जनस्वास्थ्यमा पर्ने नकारात्मक असरको जोखिम न्यूनीकरण गर्ने, आवश्यकताअनुसार सामुदायिक संस्था एवं निजीक्षेत्रको सहभागितामा समेत फोहोर व्यवस्थापनमा तीव्रता ल्याइने उल्लेख गरेका थिए ।
नगरप्रमुख साहले जनकपुरधाम उपमहागरपालिकाका प्रत्येक वडामा यथासम्भव हुनेगरी सुरक्षित एवं साधन सम्पन्न फोहोर संकलन केन्द्र स्थापना तथा सञ्चालन गरिने, फोहोर संकलन केन्द्रबाट तत्काल फोहोरमैला ल्यान्डफिल साइटसम्म पु¥याउने व्यवस्था गराइने, सडकपेटी व्यवस्थापन गरी व्यवसायी तथा पर्यटकमैत्री बनाइने, ऐतिहासिक, धार्मिक, पुरातात्विक तथा सांस्कृतिक सम्पदाको मर्मत सम्भार, नियमित रेखदेख तथा थप सौन्दर्यीकरण गरिने लगायतका बुँदाहरू आफ्नो प्रतिबद्धता–पत्रमा समावेश गरेका थिए ।

यसका साथै ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक धरोहरहरूका विषयमा खोजीनीति, अध्ययन अनुसन्धान तथा तिनका विषयमा अन्तर्राष्ट्रिय तथा राष्ट्रिय स्तरमा सूचना प्रवाह गरी जनकपुरधामको आर्थिक गतिविधिका एउटा प्रमुख स्रोतका रूपमा पर्यटन व्यवसाय प्रवद्र्धन गर्ने, जनकपुरधामस्थित ऐतिहासिक र धार्मिक महत्वका बाह्रविग्घा (रंगभूमि) मैदानलाई स्वच्छ, सफा, हराभरा बनाइने बुँदा पनि उनको प्रतिबद्धता–पत्रमा समेटिएको थियो ।

त्यस्तै विभिन्न पोखरीको सरसफाइ गरी डिलको सौन्दर्यीकरणमार्फत रमणीय ठाउँका रूपमा विकास गरिने, उपमहानगर क्षेत्रभित्र सुरक्षा प्रबन्धनका लागि आवश्यक ठाउँमा २४सै घन्टा काम गर्नेगरी सिसिटीभी क्यामेरा जडान गराइने तथा हरेक वडालाई फ्री इन्टरनेट वाइफाइ क्षेत्र बनाइने नगरप्रमुख साहको प्रतिबद्धता–पत्रमा उल्लेख गरिएको थियो ।

जनकपुरधाम विमानस्थलको स्तरोन्नतिका लागि सम्बद्ध निकायहरूसँग गम्भीर समन्वय गरिने तथा पर्यटकीय सहर वा क्षेत्रसँग जोड्न विमानसेवा सञ्चालन गराउन पहल गरिने, उपमहानगलाई महानगरपालिकामा स्तरोन्नति गर्न आवश्यक पूर्वाधारका रूपमा आउटर रिङरोडसँगै अन्य भौतिक तथा मानवीय पूर्वाधार तयारीमा आरम्भबाटै जुट्ने प्रतिबद्धता पनि उनले जनाएका थिए ।

उपमहानगरको कामकाज पारदर्शी बनाउन उपमहानगरपालिकाद्वारा गरिने कामबारे नियमित जानकारी प्रदान गरिने, भ्रष्टाचारमा शून्य सहनशीलता अपनाई उपमहानगरपालिका र मातहतका कार्यालयमा प्रशासन यन्त्रलाई चुस्तदुरुस्त बनाई सेवा प्रवाहमा सरलता एवं सहजता ल्याइनुका साथै कार्यालयलाई सेवाग्राहीमैत्री बनाउन, उजुरी र गुनासा सुन्ने तथा तत्काल समाधान गर्ने हटलाइनको व्यवस्था गरिने उनले बताएका थिए ।

त्यस्तै जनकपुरधाम उपमहानगरपालिकाबाट लामखुट्टे नियन्त्रण गर्न दीर्घकालीन नीति बनाई कार्यान्वयन गर्ने, दलित, जनजाति, उत्पीडित तथा सीमान्तकृत समुदायको पहिचान गरी उनीहरूको आर्थिक, सामाजिक, शैक्षिक, राजनीतिक पहुँच बढाई आत्मनिर्भर बनाउन कार्ययोजना बनाइने उनको प्रतिबद्धता रहेको थियो ।
जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्र रहेका ग्रामीण वडाहरूमा किसानलाई कृषिउपज बढाउनका लागि आवश्यक मलखाद, बिउवीजन, सिँचाइ सेवा, कृषिउपकरण र कृषिउपजको बजार व्यवस्थापन गरिने तथा कृषकका लागि चाहिने प्रविधिजन्य ज्ञान विस्तारका लागि कार्यक्रम ल्याइने, आधुनिक फलमन्डी (फलबजार) निर्माण गराई फलफूलको व्यापार प्रवद्र्धन गरिने तथा फल व्यवसायीका लागि फलफूल आयातमा विशेष सहुलियतको व्यवस्था गरिने लगायतका प्रतिबद्धताहरू उनले जनाएका थिए ।

उनले अतिविपन्न नागरिकहरूको पहिचान गरी आवासबाट वञ्चित भएका व्यक्तिहरूलाई घर बनाई हस्तान्तरण गरिने, २५ वटै वडासम्म सडक सञ्जाल तयार पारी सार्वजनिक परिवहनको व्यवस्था गरिने, उपमहानगरपालिकाभित्र अत्याधुनिक बस स्ट्यान्ड निर्माण गर्न पहल गरिने, जनकपुरधाम उपमहानगरपालिका क्षेत्रभित्रका २५ वटै वडामा सुलभ शौचालय निर्माण गरिने, सामुदायिक विद्यालयहरूमा गुणस्तरीय शिक्षा प्रदान गर्न आवश्यक पूर्वाधार, जनशक्ति व्यवस्थापनका साथै सेमीबोडर्स लगायतका विशेष कार्यक्रमहरू ल्याइनुका साथै स्वास्थ्य संस्थाहरूको गुणात्मक तथा संरचनात्मक विकास गरिने कुरामाथि आफ्नो जोड रहने दाबी गरेका थिए ।

उनका ती प्रतिबद्धताहरूमाथि विश्वास गर्दै जनकपुरधामका जनताले वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमार्फत उनलाई जनकपुरधामको नगरप्रमुखमा अत्याधिक मतले निर्वाचित गरे । जेठ ९ गते आएको मतपरिणामअनुसार नगरप्रमुख साहले पाँच वर्षअघि आफ्नो पोल्टामा पार्न नसकेको नतिजा पाँच वर्षपछि ‘पासा पल्टाएर’ आफ्नो गोजीमा हाल्न सफल पनि भए ।

नगरप्रमुखको रूपमा सपथ तथा पदभार ग्रहण गर्दै मनोज साहले जनकपुरधाम उपमहानगरपालिकाले वडा कार्यालयमार्फत फोहोर व्यवस्थापन गर्ने निर्णयसमेत गरे । उनले जनकपुरधामको फोहोर व्यवस्थापन वडा कार्यालयमार्फत गराउने निर्णय गरे । २१ बुँदे निर्णय मध्येका फोहोर व्यवस्थापनसम्बन्धी आलोचना बढ्दै जानथालेपछि उनले एक वर्षपछि हरेक वडालाई फोहोर व्यवस्थापनका लागि ट्रयाक्टर उपलब्ध गराएका छन् ।

करिब डेढ वर्षको अवधि नबित्दै उनले गरेका विभिन्न वाचाहरू पूरा गर्नतर्फ नगरप्रमुख साह बेवास्ता गरिरहेको आरोप पनि लाग्न थालेको छ । डेढ वर्षको अवधिमा जनकपुरधाम नगरभित्र जनताले प्रत्यक्ष देख्ने गरी कुनै पनि काम नभएको स्थानीय युवा अखिल मधिकर्मीले आरोप लगाएका छन् ।

प्रतिक्रिया