दाङको तुलसीपुरमा बन्द कोठाभित्र मृत फेला परे दाजुभाइ

दाङ । दाङको तुलसीपुर उपमहानगरपालिका– ६ गाइडहरमा एकै घरका दुई दाजुभाइ बन्द कोठाभित्र मृत फेला परेका छन् । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार तुलसीपुर उपमहानगरपालिका–१६ डोक्रेना घर भइ तुलसीपुर उपमहानगरपालिका ६ गाइडहरमा कोठा भाडामा बस्दै आएका ३४ वर्षीय पूर्णबहादुर बस्नेत र भाइ ३० वर्षीय टेकबहादुर बस्नेत मृत फेला परेका हुन् ।

उनीहरु बस्ने घरमा घरबेटी बस्दैनथे । मृतक पूर्णबहादुर परिवारका साइला र टेकबहादुर कान्छा सन्तान रहेको इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी ठाकुरप्रसाद पोखरेलले बताए । मृतक टेकबहादुरकी श्रीमती रुकुम पश्चिमस्थित माइतीमा गएकाले उनी फर्केपछि मात्रै शव निकाल्ने प्रहरीको भनाइ छ ।

मंगलबार शव निकालेर परीक्षण गरेपछि घटनाका बारेमा विस्तृत विवरण आउने प्रहरी नायब उपरीक्षक पोखरेलको भनाइ छ ।

डीएसपी पोखरेलका अनुसार सोमबार साँझ मात्रै उनीहरू कोठामा मृत अवस्थामा फेला परेको सूचना प्रहरीलाई आएको हो । एउटै कोठाको दुई खाटमा उनीहरु मृत फेला परेका हुन् । शव गनाइसकेकाले उनीहरुको दुई तीन दिनअघि नै मृत्यु भएको अनुमान प्रहरीले गरेको छ । पोस्टमार्टमपछि मात्र दाजुभाइको मृत्युको बास्तविक कारण खुल्ने डीएसपी पोखरेलले बताए ।

प्रतिक्रिया