इलाम । परम्परातग रुपमा कात्तिक पूर्णिमाको अवसरमा इलामको माङसेबुङ गाउँपालका–१ स्थित गजुरमुखी धाममा लाग्दै आएको गजुरमुखी धार्मिक मेला यस वर्ष पनि तयारी गरिएको छ । पश्चिमी इलामको धार्मिक महत्वको गजुरमुखी धाममा आउँदो १०, ११ र १२ मंसिरमा विभिन्न कार्यक्रमसाथ गजुरमुखी धार्मिक मेला आयोजना गर्न लागिएको हो ।
गजुरमुखी पर्यटन विकास केन्द्रको आयोजनामा मेला लाग्ने भएको हो । विगतमा मेला आयोजक समिति गठन गरेर मेलाको आयोजना गरिदैं आएको भएपनि यस वर्ष पर्यटन विकास केन्द्रकै आयोजनामा मेलाको तयारी सुरु भएको हो । परम्परागत रुपमा लाग्दै आएको धार्मिका मेलालाई यसवर्ष पनि निरन्तरता दिन तयारी सुरु गरिएको गजुरमुखि पर्यटन विकास केन्द्रका अध्यक्ष सुरेन्द्र नेम्बाङले जानकारी दिए ।
मेलाको अवसरमा गजुरमुखी देवीको दर्शन, पूजापाठ, स्थानीय जातजातिका साँस्कृतिक झाँकीहरुको प्रदर्शन, विभिन्न सांस्कृतिक कार्यक्रम र प्रथम गजुरमुखी धाम गोल्डकप फुटबल प्रतियोगिता तय गरिएको छ । गजुरमुखी धाम गोल्डकप ६ मंसिरदेखि संचालन हुनेछ ।
मेला भर्न, दर्शन तथा पूजापाठ गर्न इलामसँगै पूर्वी नेपालको झापा, मोरङ, सुनसरी, पाँचथर, ताप्लेजुङ, तेह्रथुम, संखुवासभा, धनकुटाका तथा भारतको सिक्किम, दार्जिलिङ, खर्साङ, कालेङबुङलगायतका ठाउँहरुबाट समेत भक्तजनहरु आउने गरेका छन् ।
इलाम सदरमुकामदेखि करिब ४० किलोमिटर पश्चिममा अवस्थित गजरमुखीको दर्शन गरेमा बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने जनविश्वास रहेको छ । यही जनविश्वासका कारण बर्सेनि हज्जारौंको संख्यामा भक्तजनहरु पाठपू) ागर्न तथा भाकल गर्न गजुरमुखी धाम आउने गरेका छन् । गजुरमुखीमा अहिले दैनिक सयौंको संख्यामा भक्तजनहरुको उपस्थिती रहन थालेको छ ।
मेची लोकमार्ग अन्तरगत इलामको नेपालटार–मंगलबारे–धुसेनी हुँदै मंगलबारेसम्म पक्की र मंगलबारेबाट कच्ची सडकमार्फत गजुरमुखी धाममा पुग्न सकिन्छ । झापाको दमकबाट माङसेबुङ–चतुरे–इभाङ हुँदै पनि धाम पुग्न सकिन्छ ।
वर्षाको समयमा कच्ची सडकमा केही असजिलो हुने गरेको भएपनि हिउँद याममा गाडीहरु चल्ने गरेकाले गजुरमुखी पुग्नका लागि उति असजिलो छैन । जिल्लाका विभिन्न धार्मिक एवम् पर्यटकीय स्थलहरुमध्ये गजुरमुखी पनि एक हो । धार्मिक आस्थाको लागि आउने गरेका आगन्तुकहरु इलाम आएका बेला प्राय गजुरमेखी जान छुटाउँदैनन् ।
दर्शनार्थीहरुको चहलपहल बढ्यो
यसैबीच गजुरमुखी धाममा दर्शनार्थीहरुको चहलपहल बढ्न थालेको छ । मौसम खुलेसँगै कार्तिक पूर्णिमाको अवसरमा लाग्ने धार्मिक मेलालाई लक्षित गरी दर्शनार्थीहरुको चहलपहल बढेको हो ।
‘पशुपतिको जात्रा सिद्राको व्यापार’ भनेझैं गजुरमुखी मेलासँगै देवीको दर्शन समेत गर्न पाउने भएकाले यो सिजनमा गजुरमुखी आउने दर्शनार्थीहरुको संख्यामा उल्लेख्य बृद्धि भएको गजुरमुखी पर्यटन विकास केन्द्रले जनाएको छ ।
यहाँ विगत नेपालको पूर्वी क्षेत्र तथा भारतको मिरिक, दार्जिलिङ, खर्साङ, सिक्किम, सिलिगढी, आसामलगायतका क्षेत्रबाट दर्शन गर्न आउने गरेका छन् । बोलि नआएकाहरुको बोलि आउने र सन्तान नभएकाहरुको सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेकाले यहाँ देवीको दर्शन र पूजा अर्चना गर्न अहिले दैनिक सयौंको हाराहारीमा दर्शनार्थीहरु आउने गरेका छन् ।
मंगलबार र शनिबार बढी मात्रामा दर्शनार्थीहरु आउने गरेको गजुरमुखी पर्यटन विकास केन्द्रका अध्यक्ष नेम्बाङको भनाई छ । सामान्यतया असोजदेखि जेठसम्म दर्शनार्थीहरुको बढी घुईंचो लाग्ने गरेको छ ।
इलाम
प्रतिक्रिया