सरकारको ध्यानाकर्षण होस्

राजधानी काठमाडौं उपत्यका भित्रका धेरैजसो स्थानीय गन्तव्यमा हिजोआज साँझ ७ बजेपछि सार्वजनिक यातायातका साधन चल्न छाडेका छन् । गत भदौसम्म दिन लामा हुँदा बेलुका ८ बजेसम्म बस चल्थ्यो, तर अहिले दिन छोटा हुँदै गएपछि साँझ ७ बजेपछि बस पाइँदैन । सार्वजनिक यातायातका साधन चल्ने समय छोटिएकै कारण साँझको बेला बसमा निकै भिड बढ्न थालेको छ ।

पहिलो कुरा त दुर्बल ब्यक्तिहरू बसभित्र छिर्न नसक्ने अवस्था देखिएको छ भने दोस्रो कुरा पाकेटमारीको बिगबिगी पनि बढेको छ । बेलुका अबेरसम्म व्यापार व्यावसाय तथा अफिसको काम गर्न चाहनेहरू छिटै बासस्थान फर्कन बाध्य भएका छन् । दिउँसो अफिसको काम भ्याएर साँझपख किनमेल गर्न जाने क्रम बसको समस्याले गर्दा ह्वात्तै घटेको छ । जसका कारण व्यापारीहरू थप मर्कामा परेका छन् । दिन छोटा हुँदै जाँदा विगतमा पनि सार्वजनिक गाडीको समस्या नभएको होइन, तर यसपटक अली बढी नै समस्या भएको गुनासो भुक्तभोगीहरूको छ । अहिलेको युगमा पनि सूर्योदय र सूर्यास्तलाई आधार बनाएर काम गर्ने समय कायम हुनु भनेको अधोगतिको लक्षण हो । दुर्भाग्यबस हाम्रो देश यसरी नै गुज्रिएको छ । देशको सबैभन्दा ठूलो सहर राजधानी काठमाडौं उपत्यकाको त यो हालत छ भने राजधानी बाहिरको हालत के होला ? यो प्रश्न कम पेचिलो छैन ।

२४ घण्टामध्ये आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम भन्ने कुरा विश्वव्यापी मापदण्ड हो । यस हिसाबले पनि हाम्रो देशको राजधानी काठमाडौं सहर दैनिक १८ घण्टा खुला हुनै पर्छ । कम्तिमा पनि राजधानी काठमाडौं उपत्यकामा दैनिक १६ घण्टा सार्वजनिक यातायातका साधन चल्नै पर्छ । तर लामो दिन भएका महिनामा बिहान ५ बजेदेखि बेलुका आठ बजेसम्म १५ घण्टा र छोटो दिन भएको बेला बिहान साढे ५ देखि बेलुका साढे ६ बजेसम्म १३ घण्टा मात्रै सार्वजनिक यातायातका साधन चल्छन् । यस हिसाबले करिव ४० लाख काठमाडौं उपत्याकाबासीको दैनिक करिब तीन घण्टा समय खेर गएको छ । ४० लाख जनाको दैनिक तीन घण्टा समय खेर जानु भनेको देशलाई निकै ठूलो घाटा हुनु हो । यात्रु नपाइएको भन्दै यातायात व्यवसायीहरूले साँझ ७ नबज्दै ग्यारेजमा लगेर बस थन्क्याउने, ग्राहक नआएको भन्दै व्यापारीहरूले ७ नबज्दै सटर बन्द गर्ने, राती किन अबेरसम्म सञ्चालन गरिस् भन्दै प्रहरीहरू १० नबज्दै रेस्टुरेन्ट तथा होटल व्यवसायीलाई दुःख दिन जाने सिलसिलाले जहिलेसम्म निरन्तरता पाउँछ, तहिलेसम्म हाम्रो देशको अवस्था यस्तै रहन्छ ।

गणतन्त्र स्थापना लगत्तै माओवादीको नेतृत्वमा बनेको सरकारले देशमा उत्पादन वृद्धि गर्ने भन्दै राजधानी काठमाडौं सहरलाई दैनिक १६ घण्टा अर्थात बिहान ६ बजेदेखि बेलुका १० बजेसम्म चलायमान बनाउने नीति तथा कार्यक्रम नल्याएको होइन । बेलुका अबेरसम्म राजधानी सहरलाई चलायमान बनाउने पहिलो सर्त भनेकै सार्वजनिक यातायातको सहज व्यवस्था तथा शान्ति सुरक्षा हो । २०६९ मा काठमाडौं महानगरपालिकाको अनुदानमा रात्रिबस सञ्चालनमा नआएको भने होइन, तर डेढ वर्षमै बन्द भयो । १ भदौ ०६९ को बेलुकी तत्कालीन उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठले न्युरोड गेटमा राती ९ बजेदेखि १२ बजेसम्म दैनिक ३ घन्टा मात्रै चल्ने १४ वटा बसको उद्घाटन गरेका थिए । बसको सुरक्षाका लागि सिसीक्यामेरा र हतियारसहितका प्रहरीको व्यवस्था थियो । तर, यात्रु कम भएर घाटा भयो भन्दै सेवा नै बन्द गरियो । चर्का कुरा गर्दै काठमाडौं महानगरपालिकाको मेयर पदमा चुनाव जितेका बालेन्द्र शाहले पनि करिव पौने दुई वर्षको यो कार्याकालमा काठमाडौं सहरलाई चलायमान बनाउने दिशातर्फ सिन्को समेत भाँच्न सकेका छैनन्, बरु बालेन्द्रको कार्यकालमा काठमाडौं सहरको गति घट्न थालेको छ ।

बेलुका जति छिटो सहरलाई बन्द गरायो, शान्ति सुरक्षाको व्यवस्थापन गर्न त्यति नै सहज हुने मानसिकतामा नेपाल प्रहरी देखिनु अर्को दुःखद् पक्ष हो । अन्यत्र नसकिए पनि पुरानो बसपार्कदेखि चक्रपथ सम्मका चार–पाँच वटा गन्तव्य तथा पूरा चक्रपथमा राती ११ बजेसम्म १५–१५ मिनेटको फरकमा सार्वजनिक बस पाइने व्यवस्था मिलाउन सकियो भने राजधानी काठमाडौं सहर बेलुका ११ बजेसम्म मज्जाले चलायमान हुन्छ । रोजगारी बढ्छ, उत्पादन बढ्छ । यस दिशातर्फ सरकारको ध्यान अबिलम्ब जाओस् ।

प्रतिक्रिया