नवलपुर जिप दुर्घटना अपडेट : जिपमा सवार सातै जनाको मृत्यु, ६ जनाको सनाखत

नवलपुर । पूर्वी नवलपरासीको (नवलपुर) देवचुलीमा जिप दुर्घटना हुँदा उक्त जिपमा सवार सातै जनाको मृत्यु भएको छ । मृतकमध्ये ६ जनाको सनाखत भएको छ ।

मृत्यु हुनेमा जिल्लाको पहाडी बौदीकाली गाउँपालिका– ६ माझडाँडा बस्ने जिप चालक वर्ष २९ का छनबहादुर आले, सोही स्थान बस्ने वर्ष ५५ का टेकमान वान्टकी, लाहटे बस्ने वर्ष ५२ की कुमारी राना, बुलिङटार गाउँपालिका– ४ चुलीबोझा बस्ने वर्ष १२ की करिश्मा ठाडा, सोही स्थान बस्ने अन्दाजी ४० वर्षकी कमला वान्टक्की रहेको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीले जनाएको छ ।

त्यस्तै गम्भीर घाइते मध्यबिन्दु नगरपालिका– २ मदनपुर बस्ने वर्ष १८ का चिरन अर्यालको समेत पुरानो मेडिकल कलेज भरतपुर चितवनमा उपचारको क्रममा मृत्यु भएको छ । एक जना मृतकको भने अझै सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

जिल्लाको पहाडी इलाका बौदीकाली गाउँपालिकाबाट देवचुली नगरपालिकाको दलदलेतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जिप आज बिहान ११ः३० बजेको समयमा देवचुली नगरपालिका– ९ स्थीत गोरेघुम्तीमा दुर्घटना हुँदा गाडीमा सवार सात जनामध्ये ६ जनाको घटनास्थलमै र एक जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पूर्वी नवलपरासीका प्रहरी नायव उपरीक्षक वेदबहादुर पौडेलले जानकारी दिए ।

जिप अनियन्त्रीत भएर घरको भित्तामा ठोक्किन पुग्दा सो दुर्घटना भएको प्रहरी नायव उपरीक्षक पौडेलले बताए ।

याे पनि : नवलपुरको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

याे पनि : नवलपुर जीप दुर्घटना अपडेट : मृतक चार जनाको परिचय खुल्यो

प्रेम न्याैपाने

नवलपुर (पूर्वी नवलपरासी)

प्रतिक्रिया