नवलपुर जीप दुर्घटना अपडेट : मृतक चार जनाको परिचय खुल्यो

मध्यविन्दु । नवलपुरको देवचुली नगरपालिका–९ मा जीप दुर्घटनामा परी मृत्यु भएका ६ जनामध्ये चारको परिचय खुलेको छ ।

बौदीकाली गाउँपालिका माझडाँडाबाट दलदले बजारतर्फ आउँदै गरेको लु १ ज ३२७० नम्बरको जीप देवचुली नगरपालिका–९ गोरेघुम्तीमा दुर्घटना हुँदा तीन महिला र तीन पुरुषको घटनास्थलमै मृत्यु भएको हो ।

मृत्यु हुनेमा जीप चालक बौदीकाली–६ माझडाँडाका २६ वर्षीय बहादुर आले मगर, सोही ठाउँका ५५ वर्षीय टेकमान ओनटाकी मगर, ५२ वर्षीया कुमारी राना तथा बुलिङटार गाउँपालिका–४ चुलिबोझाकी १२ वर्षीया करिष्मा ठाडा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) का प्रहरी नायब उपरीक्षक बेदबहादुर पौडेलले जानकारी दिए ।

याे पनि : नवलपुरको देवचुलीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु

मृतकमध्ये दुई जनाको अझै परिचय खुल्न सकेको छैन । जीपमा सात जना सवार थिए । दुर्घटनामा घाइते भएका मध्यविन्दु नगरपालिका–२ मदनपुरका १८ वर्षीय चिरन अर्यालको चितवनको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । जीप अनियन्त्रित भई सडक छेउको घरमा ठोक्किएको थियो ।

प्रतिक्रिया