नेपाली गद्य कविताको प्रारम्भ कवि गोपाल प्रसाद रिमालबाट भएको मानिन्छ । यहि लयमा कवि सुष्मिता नेपाल र सरिता थापाको संयुक्त कृति ‘नदी र मुस्का’ले नेपाली काव्याकाशमा हालै विचरण गरेको छ । उनीहरुले मनलाई नै द्रवित पार्ने सामथ्र्यका कविता लेखेका छन् । उनीहरु कवितामा सचेततापूर्वक प्रस्तुत भएका छन् । यसमा समसामयिकताको दृष्टिगोचर गरिएका, काव्यिक चेतले ओतप्रोत भएका, सुकोमलभावले भरिएका तर जीवनप्रतिको सचेत दृष्टिकोण राख्ने कविताहरु लेखेका छन् । दिदीबहिनीहरु आफ्ना मनमा गढेका गहिरा भावहरु, भोगाइका प्रतिबिम्बहरु उतार्ने हिम्मत गर्छन् । यसमा समाविष्ट कविताहरु सरल र सहज रुपमा आएका छन् । सम्झनाको तरेलीमा आएका कुराहरुको भावानुवाद लाग्छन कविता । यो संग्रहले उनीहरुमा भएको काव्यको वेजोड चेतलाई प्रष्ट पारेको छ ।
‘नदी र मुस्कान’ भित्र सरिता थापाका ५१ थान विषयगत विविधाका कविताहरु परेका छन् । जीवनको गहिराईमा छिरेर लेखिएका छोटा कविताहरु पठनीय छन् । कविले जीवनका आरोह अवरोह, सुखदुख, आफ्ना भोगाई र स्थानीयतामा लछप्पै भिजेका अत्यन्तै मीठा बिम्बप्रयुक्त कविता लेखेको देखिन्छ । सरिताको काव्यिक साधनालाई यहाँ भएका कविताहरुले उजागर गरेका छन् । जीवन जगत, प्रेम, आफ्नोपन, नाता सम्बन्ध लगायतका विषयले कवितामा आफ्नो स्थान बनाएका छन् । मन भित्र उत्पन्न हुने विविध भावहरुलाई शब्दमा उनेर सुन्दर माला गाँस्न सिपालु कवि सरिता शब्दमा मनको भाव पोख्दा अत्यन्तै सुखी र खुशी महसुस गर्छिन् ।
विचार, नैतिकता, लाचारी र अस्तव्यस्ततामा कचमचिएको शहर प्रति कवितामा भाव प्रकट भएको छ । सभ्यताका नाउँमा शहरलाई अग्ला भवनले थिचेकोमा चिन्ता अभिव्यक्त भएको छ । साँझको परिवेशको सुन्दर चित्र उतारेको छ साँझ कविताले । किरणको थोपामा अत्यन्तै मीठासपूर्ण बिम्बहरुको प्रयोग भएको कविता सुन्दर बनेको छ । फूलको सौन्दर्यको जीवन्त कहानी छ त्यहाँ ।
हावाका झोक्कासँगै, जुन, समुन्द्र, म र मेरी मातृभूमी,आकाश निलो भएर मुस्कुरायो, रात, रात जाडोसँगै एक्लै रुन्छ आदि जस्ता कविताहरुमा प्राकृतिक सुन्दरता,प्रकृति प्रेम, शान्त, सुन्दर र सौम्य प्रकृति र समय समेतको मीठो बर्णन छ । समयका विभिन्न पलहरुको सुन्दर चित्र कोरिएको छ । कवितामा समावेश भएका विषयवस्तु प्रति कोरिएका शब्दहरुले पाठकलाई सम्मोहित गराउँछन् । उनी प्रकृतिप्रेमी लाग्छिन र कवितामा प्रकृतिको प्राण भर्छिन् । पाठकलाई प्रकृतिको सुन्दरताभित्र समयका विभिन्न मनोरम पलहरुमा झुम्न बाध्य पार्छिन् ।
कविमनको आफ्नाहरुको बारेमा कोरिएका कवितामा सुन्दर स्मृति छ । ऊनी आफ्नाहरुलाई बेस्सरी सम्झन्छिन । आशावादीको सञ्चार पनि गराउँछिन् । दिदीबहिनीको प्रेमलाई कविताको माध्यमबाट बडो सुन्दर अभिव्यक्ति प्रकट भएको छ । उनी हिउँमा उज्याली दिदी देख्छिन । यहाँ कवितामा आफ्ना प्रतिको अगाध माया र सम्मानभाव जागृत भएको छ ।
तिमी, उ आएन, तिमीसँग टाढा भए पनि, तिम्रो छातीमा ढुकढुकाउन आइपुग्छु, उनी, दिदी, दाजुको स्नेह, आमाका आँखाहरु जस्ता कवितामा नाता सम्बन्ध,तिनीहरुको सम्झनामा हुने भावुकता, वहिनी भएर दिदीसँग पग्लिएको भाव, छोरी भएर आमाप्रति गर्नुपर्ने श्रद्धा समर्पण भावहरु समावेश भएका छन् । उनका कवितामा मायावी स्वादका कुरा प्रकट भएका छन् । भाषिक सरलता र सहजताभित्रका अत्यन्तै धेरै बिम्बहरुले बास पाएका छन् । पाठकलाई अथ्र्याउन गाह्रो पर्ने अथवा दुई अर्थ लाग्ने कुनै कुरा छैनन् । यहाँ विषयगत रुपमा केही फरक फरक विषय समेटिएको भएतापनि सबैजसो कविताहरु कविमनका भावहरु अभिव्यक्त गर्ने माध्यम बनेका छन् । आफ्नै प्रकृति, आफ्नै नाता सम्बन्ध वरिपरि घुमेका छन् । कविमा भएको काब्य चेतनाले उनको शैलीमा कला र भाव मुखरित भएर आएका छन् । आफु बाँचेको समयको सुन्दर चित्रण गर्न सक्ने खुवी सरितामा भएको सबैलाई मान्न करै लाग्छ ।
यसैगरी हिउँको बारेमा पनि उनका केही थान कविता यस संग्रहमा छन् । दिदीले हिउँ छुने रहर गरेको कुरा छ त्यहाँ । पलपल वर्सिने हिउँसँगको अगाध प्रेम भएको कुरा छ त्यहाँ । हिउँ पर्दा सेताम्य हुँदा आफ्ना खुशीहरु बर्षेझैं महसुस गरेर कवि पुलकित भएकी छन् । नगरकोट कवितामा त्यहाँको सुन्दरताको मादकतामा लठ्ठ परेकी कवि त्यहाँकै सौहार्दतामा मोहित भएकी छन् । प्राकृतिक मनोरमताले मानिसको जिन्दगीलाई सुःखद र आनन्दित बनाउने कुरामा जोड दिने कविताहरु यस संग्रहमा धेरै छन् ।
कवितामा देशप्रेमको भावना प्रवल रुपमा उर्लेको छ । जहिल्यै देशको दुःखप्रति बेचैन हुने कवि आफ्ना आँखामा देशका बेदनाले दुःखाएर छचल्किरहेको भाव अभिव्यक्त गर्छिन् । यात्रा कवितामा मध्यरात हिंडिंरहेकी ऊनी जीवनको यात्रा लामो भएको ठम्याउँछिन् । दुःखलाई अत्यन्तै मिठासपूर्वक उतारेकी छिन् दुःख कवितामा । दुःखलाई विभिन्न रड्डका बिम्बमा पोख्न सीपालु छिन । भगवान कविताले आजकोे कुरुप समयमा मानिसका पीडाहरु ओकलेको छ ।
यस्तै विभिन्न कविता मार्फत आएकी छिन् सरिता थापा । मान्छे र उसका विवशतालाई औंल्याएकी उनी गहिरो प्रभाव छोड्न सक्ने सुक्ष्म कविता लेख्छिन् । पाठकलाई उनका कविताहरुले अपनत्व लिन बाध्य पार्न सक्छन् । यहाँ भएका कवितामा परिपक्वता छाएको पनि देखिन्छ । सरल, सहज र सुबोध्य भाषा प्रयोग गरि यी भित्र गहिरो भावहरु प्रकट गर्न सक्नु कविको खुवी हो । कवितामा आक्रोश छैन् कहिं कतै अलिकति पनि छ त केवल शालिनता । जीवनका सौन्दर्यहरुको समुचित अभिव्यक्ति छरिएको छ ।
अर्की कवि सुस्मिता नेपालको मनमा छचल्किएका तरहरु कविता मार्फत आएका छन् । उनी भावका बिम्बसँग मज्जाले खेल्न सक्छिन् । कविताहरु युगीन चेतले भरिएका छन् । विकृति विसंगतिको उजागर गर्छिन् कविता मार्फत । मानवीय संवेदना पोख्छिन् । उनी सचेत छिन् र त जीवनको उज्यालो कविता मार्फत छर्छिन् । यहाँ अनेकानेक बिम्बहरुको सुन्दर रुपमा प्रयोग गरी कविताहरु बनेका छन् । नीजत्वको कविताहरुमा ब्यापक प्रयोग भएको पाइन्छ । भावविधानको हिसावले पनि उनी सजग र सचेत देखिएकी छिन् ।
मेरो गाउँबाट सुरु भएको उनका कविता घण्टाघरमा पुग्दा सकिन्छ । सुस्मिताका कूल ६६ वटा कविताहरु ‘नदी र मुस्कान’मा समेटिएका छन् । मेरो गाउँमा यात्रा गर्दा तिर्र्खाएकी कविलाई गाउँको ह्रदयको कुलकुले खोला नै सापटी दिन सक्ने सामाथ्र्य गाउँको भएको कुरा दर्शाएर बडो बिम्बात्मक रुपमा कविता लेखेकी छन् । यसरी नै उनले गाउँको सुन्दरताले मनमोहक बनाएर हौसिएर कविता लेखेकी छिन् । प्रकृति, मूलबाटो, भञ्ज्याङ र चौतारीहरुको सुन्दर बर्णन छ मेरो गाउँ, म भञ्ज्याङ हुँ, म पृथ्वीले, मौन म गोरेटो बाटो, हिमाल, आकाश, सूर्याेदय, रुखहरु, जस्ता कविताहरुमा उनी प्रकृति प्रेम, जैविक विविधताका कुराहरु चित्रण गरेकी छिन् । आफ्नो गाउँका खेतखलियान, दोवाटो स्मरण गरेकी छिन् । गाउँ, गाउँका जीवन र प्रकृतिलाई प्रतिक बनाएर कविभित्र रहेको प्रकृतिप्रेमलाई यी कविताहरुले मज्जैले उजागर गरिदिएका छन् । प्राकृतिक सौन्दर्यलाई बिम्ब विविधाले लेपन गरिएका कविताहरु प्रस्ुतत संग्रहमा समावेश भएका छन् ।
जीवनका विविध रंगहरु घोलेर कविता लेख्ने कवि सुप्मिताले जीवनको कलात्मक बर्णन पनि गरेकी छिन् । जीवनका अनूभूतिलाई प्रतिबिम्बित गरेकी सुष्मिताका आफ्ना मानसपटलमा छचल्किएका भावहरुको सुन्दर अभिव्यक्तिले कविताहरु भरिएका छन् । यस्ता कविताहरुमा अनुभूति, मनको तलाउ, विवशता उध्रिएको जीवन, भाषा नै नबोकेको आँसुका थोपाहरु, प्रतिबिम्ब, अनुहार आफैंबाट हराउँदा, फाटेको मनको आकाश, मेरो मन, मनको बर्षा जस्ता कविता पर्दछन् । सुष्मिताले आफ्नो भावलाई काव्यिक अन्र्तफ्रेम भित्र कैद गरेकी छिन् । यहाँ कतै कवि मन पुलकित भएको छ त कतै आफ्नाको पर्खाइमा बेचैन भएको छ । जीवनका विभिन्न पक्षहरुको वारेमा कविता फुरेको छ । जीवन दर्शनका मसीना मसीना अनूभूति पोखिएको छ । कतै भावुकता प्रदर्शन गरिएको छ । यति भैकनपनि यथार्थवादी छन् कविता । समयसँगै जीवनका भोगाईहरुको काव्यात्मक प्रस्तुतिले ती कविताहरु ओतप्रोत छन् ।
आफ्नोपन, प्रेमभाव अभिव्यक्ति भएका कविताहरु पनि छन् । आमाको बारेमा विभिन्न कविताहरु यसमा सामेल गरिएका छन् । दुःखका सुस्केराहरु पनि सुसाएका छन् । हाम्री आमा, पर्खिरहेकी छु, आमाको अस्तित्व, मनको तलाउ, उध्रिएको जीवन, तिम्रो प्रतिक्षा, तिम्रै अनुहार आदि कविताहरु यस कोटीमा पर्छन् । जहाँ आमाको ममत्वमाथि बिम्बहरु मिसाइएको छ । आफ्नो प्यारो मान्छेलाई चियाको बिम्बमा स्मरण गरिएको छ । एकान्तवास रोज्ने मनको तलाउको भाव अभिव्यक्त भएको छ । मानिसका सम्बन्धका अनेकानेन डोरीहरु बाटिएको छ । कल्पनामा उडान भरिएको छ । जीवनका पाटाहरुको सपाट बर्णन गरिएको छ । देशको पीडामा दुःखी बनेकी उनी कोठाभित्र सजिएकी गमलाको रुपमा आफ्नो चित्रण गर्छिन् । शुन्यतामा मनलाई राखेर टोलाउँछिन् । सपना कोर्छिन् जिन्दगीको । जीवनका रेखाहरु हेरेर जिन्दगी सहज रुपमा नबग्ने कुरा ठोकुवा गर्छिन् ।
मानवीय भावले ओतप्रोत कविताहरु पनि यसमा परेका देखिन्छन् । भाव र अर्थको गहिराईमा गएर टिपिएका बिम्बहरुले भरपूर कविताहरु जहाँ अत्याधिक काव्यचेत निपूर्णता मुखरित भएको छ । भाषा नै नबोकेको आँसुका थोपाहरु, हिउँमा मिसिएका कविताहरु, कहाँ छ मेरो पुग्ने ठाउँ, शून्यताले च्यापेको मन, अक्षरहरुका चामल आदि यस्ता कोटीमा पर्ने कविता हुन् ।
छोरीलाई बिम्ब बनाएर लेखिएका कविता पनि यस संग्रहमा समावेश भएका छन् । मौलिक लाग्ने यस्ता कवितामा चुलबुले अनूभूतिहरु, छोरी र अक्षरहरु यस कोटीमा पर्दछन् । जहाँ कलात्मकतामा बालमनोविज्ञान छरिएको छ । सुकोमल मनकी नेपाल वालवालिकाको विषयवस्तुमा छोरीलाई काव्य रचनाको आधार बनाएर कविता लेख्न सफल भएकी छिन् ।
प्रस्तुत कृति ‘नदी र मुस्कान’को संरचनात्मक रुपमा हेर्दा आकर्षक आवरण सहित कृति आएको छ । कविताका आयामगत संरचना हेर्दा छोटा र मझ्यौला संरचनामा कविताहरु रचिएका छन् । सौन्दर्यात्मक बिम्बविधानको प्रयोगले कविताहरु भरिएका छन् । कविताहरुमा स्वतंत्र चेत देखिन्छ । मानविय संवेगहरु, प्रकृतिको माया, आमा र आफन्तहरुको माया सहितका भाव संयोजन गरिएका कविताहरुको यहाँ बर्चस्व छ ।
‘नदी र मुस्कान’ शिर्षक आकर्षक छ तर यो नामाकरणमा कृति भित्रका कुनैपनि शिर्षकका कविता छैनन् । शैलीशिल्पका हिसावले सबै कविताहरु गद्यात्मक लयमा रचिएका छन् । सान्दर्भिकता र आवश्यकता हेरेर कवितामा बिम्ब, प्रतिकहरुको यथोचित प्रयोग गरिएको छ । प्रयोग गरिएका बिम्ब तथा कविताका शब्दहरु सरल र स्वभाविक लाग्दा छन् । कुनैपनि कविता दुर्बोध्य छैनन् । मानवीय भाव प्रबल रुपमा मुखरित भएर कविताहरु आएका छन् । आकारको हिसावले कविताहरु छोटा र मझ्यौला छन् । बान्की पार्नको लागि यथेष्ठ बिम्ब, प्रतीकहरुको प्रयोग गरिएको छ । काव्यिक लहरले लहरिएका कविताहरु छन् । गुणवत्तायुक्त कविता पठनिय लाग्छन् । प्रस्तुत संग्रहका कविताहरु मज्जैले माझिएका छन् । यसमा अनुभूति र भाव प्रधान कविता धेरै छन् । दुवैको निजात्मक अनुभूतिबाट बहेका कविताहरु यस कृतिमा परेका छन् ।
म मा समीक्षाको तुलो त छैन् । यति भन्न सक्छु यो कृति मज्जैले बगेको छ । यो कृति मसीना कुराहरुमा गहिरिएर स्वादिलो बिम्बविधान प्रयुक्त गर्न सक्ने खुवी भएका कवि दिदी बहिनीहरुको सँयुक्त संग्रह हो । ऊनीहरुले हर कुरा सुन्दर भावभंगीमा उतारेका छन । आशावादीता जगाउन सफल छन् पाठकलाई । जीवनको मोह गर्न सिकाएका छन् । आफ्ना भोगाइका अनुभूतिहरु पाठकलाई बाँडेका छन् । कविता पढ्दा कहिं कतै पट्यार लाग्दो लाग्दैन् । आफ्ना कवितापुन्ज मार्फत जीवनका सबै खाले गुञ्जनहरु लहरिएर लेख्न सक्षम कवि द्धय दिदी बहिनीलाई हार्दिक बधाई ।
प्रतिक्रिया