विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काटियो

दाङ । नेपाल विद्युत प्राधिकरण, दाङले समयमा विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेको छ । लामो समयसम्म विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरिएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र, घोराहीका प्रमुख दिवाकर प्याकुरेलले जानकारी दिए ।

विद्युत महसुल नतिर्नेमा उद्योग कलकारखानादेखि सरकारी कार्यालय तथा व्यक्तिसमेत रहेका छन् । पटक–पटक सार्वजनिक सूचना जारी गरी समयमै विद्युत महसुल भुक्तानी गर्न ताकेता गर्दा पनि अटेरी गर्ने परिपाटी बढेपछि प्राधिकरणले अभियानकै रूपमा लाइन काट्न थालेको प्रमुख प्याकुरेलले बताए । ‘बारम्बार ताकेता गर्दा पनि विद्युत महसुल नतिर्ने ग्राहकको लाइन काट्न सुरु गरेका हौं’, प्रमुख प्याकुरेलले भने । कोही कसैको लाइन काट्न नपरोस् भन्ने हो तर ग्राहकले महसुल भुक्तानी नगर्दा बाध्य भएर लाइन काट्न परेको छ ।

विद्युत प्रयोग गरेबापत ग्राहकले प्रत्येक दुई–दुई महिनामा महसुल तिर्नुपर्ने व्यवस्था भए पनि प्राधिकरण घोराही वितरण केन्द्रको विगत ६ वर्षदेखिको १ अर्ब ९६ करोड ७६ लाख ७ हजार रुपैयाँ उठ्न बाँकी देखिएको छ । बक्यौता रकम ठूला उद्योगदेखि व्यक्तिगत लाइन प्रयोगकर्तासम्मको रहेका छन् । सर्वसाधारण नागरिकदेखि ठूला उद्योगसम्मले विद्युतको पैसा तिरेका छैनन् ।

विद्युत प्राधिकरण घोराहीका अनुसार घोराही सिमेन्ट उद्योगले ६६ करोड ८५ लाख ३५ हजार नौ सय ९० रुपैयाँ र सोनापुर मिनरल्स एन्ड आयल्स प्रालिको ६३ करोड ५२ लाख १९ हजार रुपैयाँ रहेको छ । ठूला उद्योगले विद्युत जडान गर्दा ननडेडिकेटेड लाइन जडान गरी महसुल भुक्तानी गर्दै आएकोमा पछि प्राधिकारणले नै डेडिकेटेड लाइनअनुसार भुक्तानी गरेमा महसुलमा छुट पाइने बताएपछि ठूला उद्योगले महसुल नतिरेपछि उनीहरूको बक्यौता रकम बढ्दै गएको छ । यद्यपि उनीहरूले हरेक महिना न्यूनतम महसुल बुझाउने गरे पनि बक्यौता रहेको रकम थपिँदै गएको प्राधिकरण घोराही वितरण केन्द्रका सहायक इन्जिनियर नन्दलाल शर्माले जानकारी दिए ।

उनका अनुसार ठूला उद्योगदेखि साना उद्योगसँगै सर्वसाधारण नागरिकसम्म समयमा विद्युत महसुल नतिर्ने संख्या करिब ११ हजार ४ सय ७३ बाट विद्युत महसुल उठ्न बाँकी छ । न्यूनतम दुई महिनादेखि विद्युत नतिर्ने ग्राहकको लाइन काट्ने अभियान चले पनि जिल्लामा करिब ६ वर्ष चार महिनासम्म विद्युत महसुल नतिर्ने ग्राहकहरू रहेको उनले बताए । ‘विद्युत प्रयोग गर्ने तर लामो समयसम्म पनि महसुल नतिर्ने देखिएपछि प्राधिकरणले केन्द्रबाटै अभियानका रूपमा अघि बढाएको हो’, सहायक इन्जिनियर शर्माले भने ।

प्राधिकरण घोराही वितरण केन्द्रअन्तर्गत घोराही र बंगलाचुली गाउँपालिकामा ४८ हजार ९ सय ६२ ग्राहक रहेका छन् । जसअन्तर्गत सर्वसाधारण व्यावसायिक ३ सय ६८, घर ४७ हजार ८७, उद्योग ३ सय ७२, सिँचाइसम्बन्धी ४ सय ७२, गैरव्यावसायिक २ सय ९२ लगायतका विभिन्न ग्राहक रहेका छन् । प्राधिकरण, तुलसीपुरले यो अभियानलाई तीव्र बनाएको छ । बक्यौता रकम उठाउन सेवाग्राहीलाई सूचनामार्फत अनुरोध गरे पनि विद्युत महसुल नतिरेपछि लाइन काट्न सुरु गरेको प्राधिकरण तुलसीपुर वितरण केन्द्रका प्रमुख शिव गोसेलीले जानकारी दिए । तुलसीपुर वितरण केन्द्रमा करिब ३ करोड बढी रकम उठ्न बाँकी रहेको छ । लमही वितरण केन्द्रले पनि यो अभियानलाई निरन्तरता दिएको जनाएको छ ।

प्रतिक्रिया