काठमाडौं । एनआईसी एशिया बैंकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रमा प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु ५१ लाख सहयोगको घोषणा गरेको छ ।
मुलुकभर फैलिएका शाखा सञ्जालहरूमार्फत आफ्ना लाखौँ ग्राहक महानुभावहरूमाझ गतिशील बैंकिङ सेवा प्रदान गर्दै आइरहेको एनआईसी एशिया बैंक लिमिटेडले जाजरकोट भूकम्पबाट प्रभावितहरुको लागि उद्दार तथा राहत वितरण गर्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत प्रधानमन्त्री दैवी प्रकोप राहत उद्दार कोषमा रु ५१ लाख नगद सहयोग रकम प्रदान गर्ने घोषणा गरेको जनाएको छ ।
२०८० कार्तिक १७ गते राति कर्णाली प्रदेशको जाजरकोट जिल्ला केन्द्र विन्दु भई गएको विनाशकारी भूकम्पले जाजरकोट, रुकुमपश्चिमलगायत वरपरका जिल्लामा परेको ठूलो जनधनको क्षतिमा राहत उपलब्ध गराउन उक्त रकम बैंकले उपलब्ध गराउने घोषणा गरेको हो । यस विनासकारी भूकम्पमा परी ज्यान गुमाउने सम्पूर्णमा यस बैंकले हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै घाइते हुनुभएका सम्पूर्णमा शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
एनआईसी एशिया बैंक मुलुकमा सबैभन्दा धेरै बैंकिङ सञ्जालहरू भएको बैंकहरू मध्येको बैंक हो । यस बैंकले मुलुकभर ३६० शाखा कार्यालयहरू, ६४५ एटिएम, ११० वटा विस्तारित काउन्टर एवं ६१ वटा शाखा रहित शाखा सञ्जाल विस्तार गरेको छ । देशको कुल जनसंख्यामध्ये २० वर्षदेखि ५० वर्ष उमेर समूहसम्मको आर्थिक रूपमा सक्रिय जनसंख्याको करिब २५ प्रतिशत जनतालाई सेवा दिन यस बैंक सफल भएको छ ।
प्रतिक्रिया