मुगु । जिल्लाको छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक सवभत्स हत्या गरिएका चारै जनाको शुक्रबार दाहसंस्कार गरिएको छ । घटना भएको आठ दिन र शवको पोष्टमार्टम भएको चार दिनपछि हत्या गरिएका आमा र तीन छोरा–छोरीको दाहसंस्कार गरिएको हो ।
घटना कसरी घट्यो ? के कारण घट्यो र हत्यारा को हो ? भनेर प्रहरीले पत्ता नलाएको भन्दै मृतकका श्रीमान् दिपक बोहोरा र आफन्तले शव बुझ्न मानेका थिएनन् । घटना गत ८ गते बुधबारको भए पनि प्रहरीले त्यसको दुई दिनपछि १० गते शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचना पश्चात् जानकारी पाएको थियो ।
सो जानकारी पश्चात् घटनास्थल पुगेको प्रहरीले २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र ८ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो । वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोरा शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्याएको थियो ।
घटनामा जानकारी आएलगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशंका गरी प्रहरीले शनिबार ११ गतेदेखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालिम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटिइ अनुसन्धान तीव्र बनाउदै आएको छ ।
जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो । घटनाको प्रकृति,अनुसन्धानको प्रगतीबारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थलमै आफै पुगेका छन् ।
घटना भएको सिंगो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको ९ दिन बितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायव उपरिक्षक वीरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरिकै घटना गतिविधिहरुमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेका हुन् ।
अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशंकामा प्रहरीले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बन्धीत व्यक्तिहरुसँग भेरिफाइ गर्न कम्तिमा १ देखि २ दिनसम्म लाग्ने प्रहरीले जनाएको छ । यत्रो चार–चार जनाको हत्या भएको छ, कयौँ व्यक्रिहरुसँग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो नभएको प्रहरीको जिकिर छ ।
‘मुगु सुगम जिल्ला होइन, यहाँ अनेकौँ कठिनाइका वावजुद काम गर्नुपर्छ, एक त घटनाको सूचना प्रहरीसम्म ढिला पुग्यो, फोन, नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धानसम्बन्धी कृयाकलाप गर्न घटनास्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक–पटक आवतजावत गर्न कठिनाइ छ, यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भइरहेको छ’, प्रनाउ थापाले भने ।
प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेटमध्य एक सेट भेटिए पनि अर्को भिजोवल स्मार्ट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उदेश्य र कारोवारोले हत्या भएको हुन सक्ने अनुमान गरी प्रहरीले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाई छाड्ने प्रहरीले दाबी गरिरहेको छ । हप्ता दिन बित्यो घटनाको केही क्लु फेला परेको छैन ।
के थप अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान टोली आउन लागेको हो ? भन्ने पत्रकारहरुले सोधेको प्रश्नमा प्रनाउ वीरेन्द्र थापाले भन्नुने, ‘कुनै क्लु नभेटाइ केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) मुगु झिकाउनु भनेको समय खेर फाल्नु हो, त्यसैले अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्याराबारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइबी टोली पनि मुगु आउन सक्छ ।’
जिल्ला अस्पतल मुगुमा शव राख्ने कोल्ड हाउस नहुँदा शवहरु गल्दै गएकाले समय मै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा गन्ध फैलिने त्रास थियो । चिकित्सक अर्जुन भामले भने, ‘प्रहरीले अनुसन्धान गरिरहेको छ, सुक्ष्म अध्ययनका लागि शव परिक्षण पनि भइसक्यो, आफन्तहरुले शव बुझिदिनु भयो, अब हाम्रो त्रास हट्यो ।’ हत्यारा र हत्याको कारण पत्ता नलाग्दै शवहरु बुझ्न दबाब परेपछि मानसिक तनावमा रहेका मृतक श्रीदेविका श्रीमान् दिपक बिहीबार बिहानैदेखि बेपत्ता भएका थिए ।
सबैतिर प्रहरी र स्थानीयहरुले खोजी गर्दा राति ८ बजे छायाँनाथ रारा नगरपालिका– ४ भामवाडा गाउँमा आफन्तको घरमा दिपक फेला पारेका थिए । शुक्रबार बिहान नगरप्रमुख विष्णुकुमार भाम, आफन्तहरुको सम्झाइ बुझाइ गरेपछि दिपक शव बुझ्न र दाहसंस्कार गर्न सहमत भएका थिए ।
आमा श्रीदेवी बोहोरा र ११ वर्षीय छोरा मनोज बोहोराको शव जलाइएको छ भने ८ महिने छोरा रहर बोहोरा र ८ वर्षीया छोरी अप्सरा बोहोराको शव जमिनमा गाडिएको नगरप्रमुख भामले बताए ।
मुगु
प्रतिक्रिया