काठमाडौं । अन्तर्राष्ट्रिय वित्त निगम (आइएफसी) र नेपाल क्लियरिङ हाउस लिमिटेड (एनसिएचएल) बीच डिजिटल भुक्तानी इकोसिस्टमलाई सुदृढ बनाउँदै नेपालमा डिजिटल भुक्तानीको क्षेत्रलाई प्रवद्र्वन गर्ने सम्बन्धी सम्झौता भएको छ ।
उक्त सम्झौतामा आइएफसी नेपालका आवासिय प्रतिनिधि बाबाकार सेदिख फाये र एनसिएचएलका प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका हुन् । सो सम्झौतासँगै आइएफसिले एनसिएचएललाई नेशनल पेमेन्ट स्विच (एनपिएस) को प्रारम्भिक रोल आउटलगायतका कार्यान्वयनका लागि विभिन्न गतिविधिहरूमा प्राविधिक सहायता उपलब्ध गराउने पनि सम्झौतामा उल्लेख छ ।
उक्त सहायता अनुरुप आइएफसिले मुख्य सञ्चालन नियमहरू, प्राविधिक तथा सुरक्षा मापदण्डहरूको समीक्षाका लागि एडभान्जरीको भूमिका निर्वाह गर्नेछ । एनसिएचएलको नयाँ डिजिटल पहलहरू डिजाइन सञ्चालन गर्न, क्रस बोर्डर पेमेन्ट, इन्डस्ट्री स्यान्डबक्स स्थापना गर्न र विभिन्न वित्तीय क्षेत्रको क्षमता अभिवृद्धि गर्न सहयोग गर्नेछ ।
आइएफसी र एनसिएचएलबीचको उक्त सम्झौतालाई डिजिटल भुक्तानी इकोसिस्टममा महत्वपूर्ण मानिएको छ । नेपालमा डिजिटल पहलहरूलाई थप सुदृढ गर्न आइएफसीको सहयोग र अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरूमार्फत् महत्वपूर्ण आयाम थप्ने अपेक्षा गरिएको छ ।
प्रतिक्रिया