मुगु । छायाँनाथ रारा नगरपालिका–६ मन्दु गाउँमा वंश नै नाश हुने गरी भएको सामूहिक विभत्स हत्या भएको हप्ता दिन पुगेको छ । घटना भएको हप्ता दिन पुगिसक्दा पनि प्रहरीले घटना कसरी घट्यो के कारण घट्यो र हत्यारा को हो भनेर अझै पत्ता लगाउन सकिरहेको छैन । तर घटनाको सघन अनुसन्धान भइरहेको भने प्रहरीले बताउन छोडेको छैन ।
घटना गत ८ गते बुधबारको भए पनि प्रहरीले त्यसको दुई दिनपछि शुक्रबार बिहान ९ बजे स्थानीयवासीको सूचना पश्चात् प्रहरिले २८ वर्षीया आमा श्रीदेवी बोहोरा, ११ वर्षीय छोरा मनोज, आठ वर्षीया छोरी अप्सरा र आठ महिनाका छोरा रहर बोहोरालाई घरभित्रै मृतावस्थामा फेला पारेको थियो ।
वैदेशिक रोजगारीको सिलसिलामा कतारमा रहेका मृतक श्रीदेवीका श्रीमान् दीपक बोहोर शनिबार घर पुगेपछि सोही दिन प्रहरीले चारै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल मुगुमा पुर्याइयो । सोमबारसम्म चार वटै शवको परीक्षण गरिसकिए पनि मृतक श्रीमती र छोराछोरीको हत्यारा पत्ता नलागेसम्म दीपकले शव नबुझ्ने अड्को थापेपछि शवहरुको दाहसंस्कार हुन सकेको छैन ।
घटनामा जानकारी आएलगतै जिल्ला प्रहरी कार्यालय मुगुबाट प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापासहितको विशेष अनुसन्धान टोली घटनास्थलमा खटिएर हत्याको सूक्ष्म अनुसन्धान गरिरहेको छ । सो घटना मृत्यु नभई सामूहिक हत्या भएको आशंका गरी प्रहरीले शनिबार ११ गतेदेखि कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतको विशेष अनुसन्धान ब्यूरो टोली र कोहलपुरबाट तालीम प्राप्त कुकुरसहित खोज अनुसन्धान टोली खटिएर अनुसन्धान तीव्र बनाएको थियो
। जुम्लाबाट पनि हत्या घटनाको अनुसन्धान कार्यलाई सघाउन प्रहरीको विशेष अनुसन्धान टोली मुगु पुगेको थियो । घटनाको प्रकृति, अनुसन्धानको प्रगतीबारे नजिकबाट बुझ्न कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक भीमप्रसाद ढकाल १२ गते घटनास्थल मै आफै पुगेका छन् । उनले भने, ‘अनुसन्धानलाई सघन बनाएर लगिएको छ, सम्भव भएसम्मका सबै उपाय अवलम्बन गरेका छौँ, हत्यामा संलग्न दोषी पत्ता लगाउने तहसम्म जतिसक्दो चाँडो प्रहरी पुग्नेछ ।’
घटना भएको सिंगो गाउँलाई उच्च निगरानीमा राखेर अनुसन्धान गरिएता पनि घटना घटेको हप्ता दिन बितिसक्दा पनि खासै तथ्य भने प्रहरीले भेटाउन सकेको छैन । प्रहरी नायव उपरिक्षक विरेन्द्र थापाका अनुसार प्रदेश प्रहरीले प्रदेशभरकै घटना गतिविधिहरुमा मुगु घटनालाई उच्च प्राथमिकता राखेर प्रदेश प्रहरी प्रमुख घटनास्थलमा पुगेका हुन् ।
अनुसन्धानका क्रममा एक व्यक्तिलाई घटनामा संलग्न भएको आशंकामा प्रहरिले नियन्त्रणमा लिएर सोधपुछ गरिरहेको छ । विभिन्न कोणबाट अनुसन्धान गर्दा सम्बधीत व्यक्तिहरुसँग भेरिफाइ गर्न कम्तिमा एकदेखि दुई दिनसम्म लाग्छ । यत्रो ४–४ जनाको हत्या भएको छ कयौँ व्यक्तिहरुसँग सोधपुछ र भेरिफाइ गर्दा धेरै दिन लाग्नु अनौठो होइन ।
‘मुगु सुगम जिल्ला होइन यहाँ अनेकौ कठिनाइका वावजुद काम गर्नुपर्छ, एक त घटनाको सूचना प्रहरीसम्म ढिला पुग्यो, फोन नेटले भनेको बेला काम गर्दैन, भौगोलिक कठिनाइका कारण अनुसन्धानसम्बन्धी क्रियाकलाप गर्न घटनास्थल, सदरमुकाम र आसपास क्षेत्रमा पटक–पटक आवतजावत गर्न कठिनाइ छ, यस्तै विविध समस्याले अनुसन्धान प्रभावित भइरहेको छ’, प्रनाउ थापाले भने ।
प्रहरीले अहिले प्राविधिक र मेनुल्ली दुई तरिकाबाट मुगु घटनाको अनुसन्धान भइरहेको जनाएको छ । घटनाको प्रकृति हेर्दा श्रीदेवीले लगाएका गहना र उनले प्रयोग गर्दै आएको मोबाइल २ फोन सेटमध्य एक सेट भेटिए पनि अर्को भिजोवल स्मार्ट सेट नभेटिएकाले लुटपाट गर्ने मनसायले भन्दा अर्कै उदेश्य र कारोवारले हत्या भएको हुन सक्ने अनुमान गरी प्रहरिले विभिन्न कोणबाट अनुसन्धान गरिरहेको छ ।
प्रहरीले हालसम्म पनि घटनामा संलग्न व्यक्तिबारे ठोस प्रमाण फेला पार्न नसके पनि घटना अनुसन्धान कार्य भने जारी रहेकाले दोषी कुनै पनि हालतमा पत्ता लगाई छाड्ने प्रहरीले दाबी गरिरहेको छ । हप्ता दिन बित्यो घटनाको केही क्लु फेला परेको छैन ।
के थप अनुसन्धान गर्न केन्द्रिय अनुसन्धान टोली आउन लागेको हो ? भन्ने पत्रकारहरुले सोधेको प्रश्नमा प्रनाउ विरेन्द्र थापाले भने, ‘कुनै क्लु नभेटाइ केन्द्रिय अनुसन्धान ब्युरो (सिआइबी) मुगु झिकाउनु भनेको समय खेर फाल्नु हो, त्यसैले अहिले फिल्डमा खटिएको टोलीले हत्या र हत्याराबारे केही क्लु भेटाएमा थप अनुसन्धान गर्न सिआइबी टोली पनि मुगु आउन सक्छ ।’
शवहरुको परिक्षण सोमबारै सकिएकाले अब घटनाबारे शुक्ष्म अध्ययन र अनुसन्धान हुने पनि प्रनाउ थापाले जानकारी दिए । यता जिल्ला अस्पताल मुगुमा शव राख्ने कोल्ड हाउस नहुँदा शवहरु गल्दै गएकाले समयमै दाहसंस्कार नभए अस्पताल क्षेत्रमा गन्ध फैलिने त्रासमा रहेको चिकित्सक अर्जुन भामले बताए । उनले भने, ‘प्रहरिले अनुसन्धान गरिरहेको छ, शुक्ष्म अध्ययनका लागि श परिक्षण पनि भइसक्यो अब आफन्तहरुले शव बुझिदिए राम्रो हुने थियो ।’
मुगु
प्रतिक्रिया