नगरस्तरीय चौथो राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन

कालिकोट । ‘राष्ट्रका लागि खेलकुद स्वास्थ्यका लागि खेलकुद’ भन्ने मुल नाराकासाथ खाँडाचक्र नगरपालिकाले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उद्घाटन गरेको छ । खाँडाचक्र नगरपालिका– ९ पाँखास्थित जनज्योति माध्यमिक विद्यालयमा उद्घाटन भएको हो ।

नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिका भित्रका सम्पूर्ण विद्यालयहरु सहभागी भएका छन् । खाँडाचक्र नगरपालिकाका ११ वटै वडाबाट विद्यार्थीहरुलाई सहभागी गराई विभिन्न खेलहरु सञ्चालन भइरहेका छन् ।

आगामी कार्तिक २१ गते हुने १४औँ जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका लागि खेलाडी छनोट गर्न र जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी गराउन नगरपालिकाले नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डको आयोजना गरेको प्रशासकिय अधिकृत अविराज शाहीले जानकारी दिए ।

जनज्योति माध्यमिक विद्यालय पाँखाका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवप्रसाद अधिकारीको अध्यक्षता, संविधान सभा सदस्य तुलराज विष्टको प्रमुख आतिथ्यता तथा कर्णाली प्रदेशसभा सदस्य दुर्गबहादुर रावत, खाँडाचक्र नगरप्रमुख कमलबहादुर शाहीको विशेष आतिथ्यतामा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्लास्थित राजनीतिक दलका प्रमुख प्रतिनिधि, सरकारी तथा गैरसरकारी संस्थाका प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । नगरस्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभीगि अतिथिहरुले प्रतियोगिता सफलताको शुभकामना दिँदै लगनशिल र राम्रो खेलाडी छनोट गर्नसमेत अनुरोध गरेका थिए ।

खेलाडीहरुलाई आवतजावत गर्नका लागि भने निठै कठिनाई र कष्टकर सडक छ । खाँडाचक्र नगरपालिकाको पिली बजारदेखि वडा नम्बर ९ पाँखासम्म पुग्नका लागि खनिएको सडकखण्ड भने जिर्ण छ । साँघुरो सडक, भिरको बाटो गाडी ओहर दोहरसमेत गर्न कठिनाई छ ।

बेलाबेलामा रकम विनियोजन गरे पनि सडकको अवस्था जिर्ण नै छ । सडक सुधारका लागि रकम विनियोजन भए पनि नगरपालिकाका जनप्रतिनिधिलगायत सरोकारवालाहरुको चासो भने देखिएको छैन । यस विषयमा प्रशासकिय अधिकृत अविराज शाहीलाई सोध्दा सडक सुधार गर्नका लागि नगरपालिकाले रकम विनियोजन गरेको थियो । दसैँको बिचमा भएको हुँदा सडक सुधार भएको छैन ।

लगत्तै सडक सुधार गरेमा रकम भुक्तानी दिने उनले बताए । नगरस्तरीय राष्ट्रपति रनिङ शिल्डमा सहभागी खेलाडीहरुलाई असहजता भए पनि स्थानीय नागरिकहरुलाई सहजता गर्नका लागि रकम विनियोज गर्ने र नगर सरकारसमक्ष विनियोजनको माग गर्ने उनले बताए । खाँडाचक्र नगरपालिकाका प्रमुख कमलबहादुर शाहीले रकम विनियोजन गरे पनि भौगोलिक कठिनाइका कारण काम गर्न असहजता देखिएको बताए ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया