टी–२० विश्वकप छनोटको लागि नेपाली टोली घोषणा, सन्दीप पनि सहभागी

काठमाडौं । आइसिसी टी–२० विश्वकप क्रिकेट एसिया क्षेत्र छनोटको लागि नेपाली टोलीको घोषणा भएको छ । टी २० विश्वकप एसिया क्षेत्र छनोट खेल आगामी सोमबारदेखि सुरु हुने खेलमा लेग स्पिनर सन्दीप लामिछाने पनि सहभागी हुने भएका छन् ।

यसअघि परिवारलाइ समय दिने भन्दै लामिछानेले त्रिकोणात्मक टी–२० आई सिरिज खेलेका थिएनन् । उक्त खेलको लागि सन्दीपले आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिएका थिए ।

नाबालिक बलात्कार आरोप लागेका सन्दीपले सामाजिक सञ्जालमा एक पोष्ट गर्दै आगामी प्रतियोगिताबाट आफ्नो नाम फिर्ता लिने घोषणा गरेका थिए । टोलीको अन्तिम १५ मा विकेटकिपर विनोद भण्डारी र विवेक यादवले स्थान बनाएका छन् ।

यसअघि त्रिकोणात्मक सिरिजमा भएका सूर्य तामाङ, लोकेश बम, सागर ढकाल र श्याम ढकाल भने बाहिरिएका छन् । टी–२० विश्वकप एसिया क्षेत्र छनोट कात्तिक १३ देखि २० गतेसम्म हुनेछ । खेलहरु मुलपानी र टियु क्रिकेट मैदानमा हुनेछन् ।

नेपाल रहेको समूह ‘ए’ मा सिंगापुर, ओमान र मलेसिया रहेका छन् । समूह ‘बी’ मा यूएई, बहराइन, हङकङ र कुवेत छन् ।

फाइनलमा पुग्ने दुई टोलीले आगामी वर्ष अमेरिका र वेस्टइन्डिजमा हुने टी– २० विश्वकपमा स्थान बनाउनेछन् ।नेपाल २०१४ पछि पहिलो पटक टी–२० विश्वकप खेल्ने योजनामा छ ।

यी हुन् नेपालको टोलीमा समेटिएका खेलाडी

रोहित पौडेल (कप्तान), कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, दीपेन्द्रसिंह ऐरी, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, करण केसी, अविनाश बोहरा, प्रतिश जिसी, विवेक यादव, सन्दीप लामिछाने, ललित राजवंशी र विनोद भण्डारी ।

प्रतिक्रिया