स्वदेशमै कृषिः बार्षिक आम्दानी १५ लाख

कालिकोट । कालिकोटका एक एक युवाले स्वदेशमै कृषि कर्मबाट मनग्यढ आम्दानी गर्न थालेका छन् । कृषि क्षेत्रमा काम गर्दै आएका विकास शाहीले बार्षिक १५ लाख भन्दा बढि आम्दानी गर्दै आएका छन् । ८ जनाको परिवारलाई उनले नर्सरी फर्मबाटै आर्थिक खर्चको जोहो गरेका छन् ।

खाँडाचक्र नगरपालिका वडा नं ६ का २४ बर्षिय विकास शाही सानो उमेर देखि कृषि क्षेत्रमा चासो राख्दै आएका हुन् । शाहीले २९ महिने कृषि जेटिए र आईएस सि एजी अध्ययन गरेका हुन । जिल्लामै ब्यवसायिक नर्सरी स्थापना गरी शाहीले कालिकोट जिल्ला लगायत छिमेकी जिल्लाहरुमा पनि बिरुवाहरु बिक्रि बितरण गर्दै आएका छन् । शाहीको नर्सरी र काममा लगाएको जागर देखेर एनसिसि एसपी २ ले ६१ लाख रुपैया नर्सरीलाई सहयोग गरेको छ ।
खाँडाचक्र नगरपालिका मोल्फा स्थित शाहीको समाज विकास कृषि फर्मले कालिकोट जिल्लामा नर्सरी , तरकारी तथा फलफुल खेति गर्ने गरेको छ ।
कालिकोटमा परम्परागत खेति गर्ने चलन रहेकोमा जिल्लामा विभिन्न तरकारी तथा नर्सरीका विरुवाहरुको अनुसन्धान समेत आफ्नो फर्मले गरेको संचालक विकास शाहीले बताएका छन् । समाज विकास कृषि फर्मले नर्सरीका सम्पुर्ण विरुवा उत्पादन गर्ने,टनेल बनाउने उद्योग,तरकारी तथा फलफूलका बोटविरुवाहरु उत्पादन गरी विक्री वितरण गर्ने र कृषकहरुलाई आवश्यक सल्लाह दिने लक्ष रहेको शाहीको भनाई छ । संचालक शाहीले हाल सम्म २ करोड ५० लाख लगानी फर्ममा लागेको बताए ।

विभिन्न संघ संस्थाको सहयोग र आफ्नो ब्यक्तिगत लगानीमा उनले नर्सरी सम्बन्धि विभिन्न काम गरिरहेका छन् । शाहीले नर्सरीका बिरुवा,फलफूल तथा तरकारी बाटै बार्षिक १५ लाख बढि आम्दानी गरिरहे छन् । स्वदेशमा नै मिहिनेत गरेर घरपरिवारको खर्च जोहो गरि भबिष्यमा आईपर्ने आर्थिक संकट टार्न सक्ने सम्म आफू भएको शाहीले बताए । रोजगारका लागि विदेशिने नागरिकहरुलाई स्वदेशमा नै केही गर्न सुझाव उनको छ । आफ्नो फर्ममा दस जना सम्मलाई रोजगारीको ब्यवस्था गर्ने सोचमा रहेको उनी बताउछन् ।
हाल शाहीको नर्सरी फर्ममा ४० हजार ओखरका बिरुवा, १० हजार टिमुर, ५ हजार सल्लो, ५ हजार देवदार, ६ हजार डालेघासका बिरुवा हुर्किरहेका छन् ।

हस्त चौलागाँई

कालिकाेट

प्रतिक्रिया