राजश्व छलेर ल्याएको ९२ बोरा चिनीसहित ट्रक चालक नियन्त्रणमा

काभ्रे । राजश्व छली गरेर ल्याएको ९२ बोरा चिनीसहित एक जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । बिहीबार दिउँसो १ बजेको समयमा इलाका प्रहरी कार्यलय बनेपाबाट खटिएको प्रहरी टोलीले उक्त परिमाणमा चिनी बरामद गरिएको जनाएको छ ।

जिल्ला काभ्रेपलाञ्चोक बनेपा नगरपालिका– ७ स्थित अरनिको राजमार्ग सडक खण्डमा सवारी साधन चेकजाँच गर्ने क्रममा पनौतीबाट बनेपातर्फ आउँदै गरेको जिल्ला काभ्रेपलाञ्चोक धुलिखेल नगरपालिका– २ बस्ने ३७ वर्षीय राजु तिमल्सिनाले चलाएर ल्याएको ना ६ ख ६२१९ नम्बरको ट्रक रोकेर चेकजाँच गर्दा उक्त ट्रकभित्र राजश्व छली गरी धानको बोराले छोपी लुकाई छिपाई गरी अवैधरुपमा ल्याएको ५० किलोको ९२ बोरा चिनी अन्दाजी पाँच लाख ९८ हजार र २८ बोरा धान अन्दाजी ४२ हजार मूल्यको फेला पारेको प्रहरीले जनाएको छ ।

उक्त चिनी खरिद गरेको निज चालक तिमल्सिनासँग कुनै पनि कागजात नरहेको हुँदा अवैध चिनी ओसारपसार गर्न प्रयोग गरिएको ना ६ ख ६२१९ नम्बरको ट्रक, उक्त चिनी र धान नियन्त्रणमा लिएको इलाका प्रहरी कार्यालय बनेपाका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक लालध्वज सुवेदीले जानकारी दिए ।

पक्राउ परेका ट्रक चालक तिमल्सिनालाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान विभाग हरिहर भवन ललितपुर पठाइएको प्रहरी नायब उपरीक्षक सुवेदीले बताए ।

प्रतिक्रिया