चिरञ्जीवी वाग्ले नेकाभित्रको गुटगत राजनीतिमा उपयोग गरिएका सबैभन्दा ठूलो नाम हो । भनिन्छ, संसदीय व्यवस्थालाई अफाप देखाउने राजा ज्ञानेन्द्रको खेलमा यिनीको राजनीतिक समाप्तीमा देउवा साक्षी बने । निरीह साक्षी भने होइन । अहिले कतै काली गण्डकीको किनारतिर बसेर शायद नेपाली कांग्रेसको इतिहास लेख्दै छन् । यिनले समातेका गुटको बहना पक्रेर शेरबहादुर आठौँ १०औँ पटक प्रधानमन्त्री हुन पर्खिबसेका छन् ।
नेपालको राजनीतिमा एउटा समवयी पुस्ता, प्रजातन्त्र स्थापनाको आन्दोलनमा जसको अतुल्य योगदान रहेको थियो छिन्न भिन्न भए । कोही संघर्षका लागि असमर्थताका कारणले, कोही आफ्नै दौँतरीहरूका कोप भाजनका कारणले, कोही अमुक नेताको असीम प्रेम तथा सीमान्त घृणाका कारणले सिद्धिए । असमयमा असान्दर्भिक भए । यदि आज तपार्इं यस पुस्ताको सामान्य फेहरिस्त हेर्नुभयो भने नेपाली कांग्रेसका सर्व शक्तिमान सभापति शेरबहादुर देउवा बिरलै आफ्ना कुनै पुराना साथीका माझ देखिनुहुन्छ । धेरै जीवित छन् तर तिनका प्रति देउवाको कुनै सद्भाव वा प्रेमको चासो देखिन्नन् ।
जेल तथा प्रवासमा रहेका कारण उमेरमा समवयी भए पनि शैलजा आचार्य, प्रदीप गिरी, चक्र बास्तोलाहरू जो धेरैजसो जेल तथा प्रवासमा रहे । नेकाभित्र उनीहरूको भूमिका नेपालभित्रै रही जेलनेल खेपेका भन्दा भिन्न रह्यो । आफ्नो राजनीतिक जीवनमा देशभित्र केही काल जेलमा रहेको, र भारत प्रवासमा पनि केही समय जेल परेका, अनि बढी समय निर्वासनमै रहेको सुशील कोइराला एक अपवाद भए । उनी बडो कठिन संक्रमणकालमा मुलुकको प्रधानमन्त्री भए । यही हाराहारीका भीमबहादुर तामाङ, ढुंडीराज शर्मा शास्त्री सांसद भए, मन्त्री भए । शास्त्रीजी एक गुटका नेतामा सीमित हुन पुगे । भूबिक्रम नेम्बाङ बिलक्षण प्रतिभाका थिए । यद्यपि चुनावी राजनीति उनको अनुकूल रहेन । नेम्बाङ अन्तिम बेलामा नेपाली कांग्रेसभित्र भूमिकाविहीन नै रहे । मेची अञ्चलभित्र उनको सिके प्रसाईसँग मेल भएन । केन्द्रमा उनी गिरिजा बाबुसँग जोडिएका थिए । किसुनजीले उनलाई बुझ्न सकेनन् । उनको देहावसान भइसकेको छ ।
विद्वता, संगठन र सक्रियताका संगम रहेका सिके प्रसाई आफ्नो समयका सर्वाधिक चर्चित एवं प्रभावकारी नेता थिए । प्रवासका दौरान बिपीका पक्षधर भनी दरिएका कारण सूवर्णशमशेरबाट माया नपाएका उनी पछिल्लो समयमा यो थाहा पाउन सकेनन् कि उनी किसुनजीका बढी नजिक छन् कि उनका सहोदर दाजु रामबाबु प्रसाई ? रामबाबु प्रायसः किसुनजीको कार्य समितिमा कोषाध्यक्ष थिए । गिरिजा बाबुसँग सिकेको कुरा मिल्दथ्यो । तर, झापाको राजनीतिमा चक्र बास्तोलासँग उनको पटक्कै मेल रहेन । उनी नेताहरूको दलदलमा परेर बडो निराश अवस्थामा देहत्याग गरे । ताप्लेजुङका सूर्यमान गुरूङ ऊ बेलाको बृहत् धनकुटा जिल्ला रहेको बेला नेपाली कांग्रेसको जिल्ला सभापति थिए, जो पछि शायद एकपटक सांसद भई राजनीतिक परिदृश्यबाट हराए । इलामका केबी गुरूङ र केबी भट्टराईको बडो नाम थियो । आफ्ना समयका प्रखर व्यक्तित्व थिए दुबै । केबी गुरूङ सांसद भए, एकाधपटक मन्त्री भए । अहिले वृद्ध भए, तर यसअघिदेखि नै निष्कृय हुन पुगे । उनी सकृय रहुन्जेल गिरिजाबाबुको नजिक रहे । तर, गुटगत रूपमा सुशील कोइरालालाई नेता मान्दथे । फलतः शेरबहादुर देउवाले उनलाई कहिल्यै सम्मान दिएनन् ।
२०२६–२७ सालमा नेपाल विद्यार्थी संघको जन्म हुनुअघि प्रवासमा नेपाली छात्र संघको बडो भूमिका थियो । भारतका ठूला सहरहरू दिल्ली, कोलकाता, बनारस, इलाहावाद, पटना तथा सीमावर्ती सहरहरू गोरखपुर, दरभंगा, सीतामढी, मधुवनी आदिमा छात्र संघ अत्यन्त सक्रिय थियो । यस मध्येका सीमावर्ती क्षेत्रमा सक्रिय रहेका महेश्वरप्रसाद सिंह, महन्थ ठाकुर कांग्रेसमा महत्वपूर्ण स्थान पाए । चर्चित नै रहे । सप्तरीका हिम्मत सिंह पनि थिए । सप्तरीदेखि कपिलबस्तुसम्ममा यस्ता कैयौँ प्रतिभावान मानिसहरू थिए, जसले प्रवासमा निकै सकृयता रहेको थियो । यिनीहरूलाई नेपालमा नेविसंघवालाहरूले कहिल्यै उचित संज्ञानमा राखेनन् ।
नेपाल विद्यार्थी संघको संस्थापकको रूपमा पनि तथा यसको जन्ममा सकृय तथा प्रेरक रहेकाहरूमध्ये मार्शल जुलुम शाक्य, कमल चित्रकार, पिएल सिंह, वीरनाथ कर्माचार्य, शंकर घिमिरे, दमननाथ ढुंगाना, हरिबोल भट्टराई, राजेन्द्र खरेल, ध्यानगोबिन्द रंजितकार, बीरेन्द्र भक्त श्रेष्ठ लगायतका को भूमिका बिशिष्ठ रहेको छ । यी सबैको इतिहासको अभिलेखमा लामो चर्चा छ । मार्शल जुलुम शाक्य ०४७ को केपी भट्टराई नेतृत्वको अन्तरिम सरकारमा मन्त्री हुनु भएबाटै उनको भुमिकाको महत्व थाहा पाउन सकिन्छ । स्व. कमल चित्रकार, हरिबोल भट्टराई र पिएल सिंह विभिन्न खण्डमा काठमाडौंका प्रधानपञ्च तथा मेयर भए । पिएल सिंह केही समय मन्त्री पनि भए । गणेशमानजीसँगको अटुट पारिवारिक सानिध्यताका कारणले पिएल कांग्रेस भित्र ‘भिल्लको देशमा मणिको महत्व’ झैं रहे ।
दमन ढुंगाना अर्को प्रतिभा हुन् । कोइराला परिवारको ज्वाईं पनि । सभामुख भए, पछि कैयौँ संसदीय निर्वाचनहरूमा पार्टीका तर्फबाट उम्मेद्वारसम्म बनाइएन, पछिल्लो समयमा टिकट पाए, पराजित भए । दमनजी सभामुखको रूपमा जुन व्यावसायिक योग्यता देखाए, गिरिजाबाबुले सभामुखको तेस भूमिकालाई कहिल्यै न्याय गर्न सकेनन् । आजका जीवित कांग्रेसजनमा सायद सबभन्दा खारिएका मानिस दमनजी शेरबहादुरजीले बिरलै संझिने नाम होला । वीरनाथ कर्माचार्य (काठमाडौं) र शंकर घिमिरे(काठमाडौं) को असामयिक निधन भयो । आज धेरैलाई यी दुबैको नाम पनि याद छैन होला । वीरनाथकी श्रीमती शिलुप्यारी कर्माचार्यलाई पछि राष्ट्रिय सभामा ल्याइयो । ओमकार श्रेष्ठ उही पुस्ताका सर्वाधिक यातना तथा जेल जीवन बिताएका नेता हुन् । उनी लगातार १५÷१६ वर्ष जेलमा बसेर रिहा भएका हुन् । खरो र स्पष्ट बोल्ने ओमकारजी गणेशमानजी तथा किसुनजीको बढी सामिप्य थिए । तर, गुणदोषका आधारमा गिरिजाबाबुका प्रति पूर्वाग्रही थिएनन् । जबकि, देउवा र पौडेलहरूले ओमकारलाई रूचाउँदैनथे । आज उनी स्वस्थ्य छन् तर भूमिकामा छैनन् । श्यामलाल श्रेष्ठ काठमाडौंका उही श्रेणीका नेता हुन् । पुराना एक मित्रले भनेको संझिन्छु, शालीनताले नै श्यामलाललाई ठूलो हुन दिएन । तर उनी असल भने अवश्य हो । माथि उल्लिखित नामहरू बडो योगदान दिएका प्रतिभावान नामहरू हुन् । तर, यस प्रतिभावान पुस्तालाई नेविसंघका संस्थापक भनिने कालान्तरमा नेकाका नेतृत्व सम्हालेका शेरबहादुर–रामचन्द्र पौडेलजीहरूले पन्छाए । एकाध अपवादबाहेक कसैको उदीयमान संभावनालाई राष्ट्र र प्रजातन्त्रको हितमा उपयोग हुन दिइएन ।
नेविसंघको संस्थापकका साथै यसका पदाधिकारीसमेत रहेकाहरू मध्ये रामचन्द्र पौडेल, बिपिन कोइराला, शेरबहादुर देउवा, स्व. मच्छेन्द्र पाठक(नुवाकोट), चिरञ्जीवी वाग्ले, स्व.शिवबहादुर खडका(रामेछाप), स्व. पुरूषोत्तम बस्नेत(सोलु), अर्जुननरसिंह केसी, आनन्द ढुंगाना(धनुषा), रामशरण महत, स्व. अशोक कोइराला (मोरङ), देबेन्द्रलाल नेपाली(पर्सा), दुर्गा आचार्य (मोरङ, पछि घिमिरे), स्व. हरि न्यौपाने (मोरङ), राम सिटौला(झापा), दामोदर गौतम (काठमाडौं), सीताराम निरौला(सोलु), पिताम्बर दाहाल, कृष्णबहादुर राउत(मोरंङ), अनारसिंह कार्की, तारानाथ राणा भाट, अर्जुन खडका (उदयपुर), हेरम्बबहादुर थापा(उदयपुर) वसन्त गुरूङ(महोत्तरी), दुर्गा पोखरेल(धनकुटा), वीरेन्द्रभक्त श्रेष्ठ(काठमाडौं), गोविन्दराज जोशी(तनहुँ), शुक्रराज शर्मा(कास्की), शेषकान्त अधिकारी(चितौन) हरू २०१७ सालपछि नेपाली राजनीतिमा आ–आफ्ना योगदानका कारणले चर्चामा रहेका छन् ।
मच्छेन्द्र पाठकको बहुदल नआउँदै रहस्यमय निधन भयो । विपिन कोइराला र शिवबहादुर खडका पञ्चायती व्यवस्थाको अन्तिम समयतिर केही कालका लागि पञ्चायत प्रवेश गरे, पछि मातृ पार्टी नेपाली कांग्रेसमै फर्केर विपिन कोइराला थोरै समय मन्त्री भए । चिरञ्जीवी वाग्ले नेका भित्रको गुटगत राजनीतिमा उपयोग गरिएका सबैभन्दा ठुलो नाम हो । भनिन्छ, संसदीय व्यवस्थालाई अफाप देखाउने राजा ज्ञानेन्द्रको खेलमा यिनीको राजनीतिक समाप्तीमा देउवा साक्षी बने । निरीह साक्षी भने होइन । अहिले कतै काली गण्डकीको किनारतिर बसेर शायद नेपाली कांग्रेसको इतिहास लेख्दै छन् । यिनले समातेका गुटको बहना पक्रेर शेरबहादुर आठौँ १०औँ पटक प्रधानमन्त्री हुन पर्खी बसेका छन् । प्रकाशशरण महतलाई प्रवर्धन गरेर देउवाले आफ्नै समकक्षी तथा नेविसंघका महामन्त्रीसमेत भएका रामशरण महतलाई सायद अवकाशमा पु¥याएका छन् ।
अर्जुननरसिंह केसी अत्यन्त लोकप्रिय नेता हुन् । उनी पञ्चायतमा लागेका थिए । त्यस बखतसमेत मन्त्री तथा जिल्ला पञ्चायतका सभापति भए । बहुदल आएपछि यिनी गणेशमानजीको बडो नजिक भए । नुवाकोटकै डा.रामशरण चुनाव हारे पनि गिरिजा बाबुबाट योजना आयोगको उपाध्यक्ष बनाइए । भनिन्छ, गणेशमान जी र गिरिजाबाबुको पहिलो मतभिन्नताको जरो डा.महतको यही नियुक्ति हुन गयो । अर्जुननरसिंह केसी पनि गणेशमानजीसँग रहेनन् । गिरिजाबाबुकै खेमामा आए । जबकि उही बेलादेखि शेरबहादुर देउवा र रामचन्द्र पौडेलहरूले अर्जुनलाई कहिल्यै राम्रो मानेनन् । आज अर्जुनजी शेर बहादुरका अनेकन् गलत काम कुरोको खुला विरोध गरिरहेको भेटिन्छ ।
यसै समयका टिका पोखरेल बडो कठिन समयमा नेबिसंघका महामन्त्री थिए, पछि राजनीतिको मूलधारमा देखिएनन् । नवीनप्रकाश जंग शाह(धादिङ) थाइल्यान्डका लागि राजदूतसम्म बनाइए । यिनको पारिवारिक गाथा उतुलनीय छ । टेकबहादुर चोख्याल कैलालीबाट प्रतिनिधीसभामा केहीपटक निर्वाचित भए । मन्त्री पनि बनाइए । यिनी सदैव देउवासँग रहे जबकि तारिणी दत्त चटौत (कञ्चनपुर) को बडो योगदान गरेको पारिवारिक पृष्ठभूमि पनि छ । उनी मन्त्री पनि भए, तर लाउडा एयर प्रकरणमा भ्रष्टाचारको मुद्दा लागेर छेउ किनारमा बस्नुप¥यो । सुदूरपश्चिमको कांग्रेसी राजनीतिमा देउवाले तारिणीलाई निमिट्यान्न नै बनाएर छोडे ।
सिद्धराज ओझा सुदूरपश्चिमका एक हस्ती हुन् । उनी गिरिजा बाबुका पक्षमा रहे पनि त्यताको शक्ति सन्तुलनका लागि देउवाले यिनलाई सहेरै बसे । यस भेगबाट खेमराज भट्ट मायालुको नाम बिर्सन सकिन्न । राष्ट्रिय राजनीतिमै यो एक ठुलो नाम हो । बीचको समयमा यिनी नेपाली कांग्रेस परित्याग गरी रामराजाप्रसाद सिंहको जनवादी मेर्चामा सिंह पछिको नेता थिए । राजतन्त्रको विरोधमा सशस्त्र अभियान चलाए । पञ्चायत कालमा सर्वस्वसहित मृत्युदण्डको सजाय सुनाइएको थियो, पछि आममाफी पाएपछि पुनः नेपाली कांग्रेसमै फर्किए । सुदूरपश्चिममा मायालुको नाम देउवाभन्दा ठूलो थियो । तर, जब खेमराज नेपाली कांग्रेसमा फर्किए–देउवा निकै ठूलो भइसकेका थिए । फलतः चुनाव लडनका लागि यिनी डडेलधुराबाट तल झरेर बर्दिया आए । शेरबहादुरले यिनलाई जीवन पर्यन्त मन पराएनन् । हालै यिनको देहावसान भयो ।
गोपालमान श्रेष्ठहरू पटकपटक सांसद–मन्त्री भए । गोपालमान देउवाका नजिक छन् । मोरङका बद्रीनारायण बस्नेत एक उद्भट क्रांतिकारी हुन् । सदैव कोइराला निवासको नजिक रहे । तर, कोइराला परिवारले यिनलाई हुत्याइदिए । यिनी देउवा क्याम्पतिर लागे, शायद देउवाले पनि यिनको सान्दर्भिकतालाई जोगाइ दिएनन् ।
होमनाथ दाहाल (ओखलढुंगा) पनि एक स्तुत्य नाम हो । कांग्रेसमा लामो इतिहास भएको, राष्ट्रपुकार साप्ताहिकको सम्पादक । जुन राष्ट्रपुकारका कारणले नेविसंघको एक पुस्ता, देउवाहरूको पुस्ताले पहिचान पाए, त्यही देउवाको पुस्ताले होमनाथ दाहाललाई मूलधारको राजनीतिमा उठन नदिनका लागि सम्पादकको सम्पादक नै बनाइराख्न चाहे । यिनले सांसद र थोरै समय मन्त्री भए पनि यथोचित स्थान एवं मूल्यांकन पाउन सकेनन् । ऋषिकेश गौतम(बारा) पनि थोरै थोरै समय मन्त्री भए । हिम्मत सिंह(सप्तरी), मेघनाथ अर्याल(गुल्मी), गौरी राणा जोशी(काठमाडौं) को नेपालको प्रजातान्त्रिक आन्दोलनमा बडो ठूलो योगदान रहेको छ । यस्ता कैयौँ दर्जन नामहरू छन् । लगभग सबैले पाँच÷सात पृष्ठका इतिहासलाई पठनीय बनाउन सक्छन् । आज यिनीहरू नेपाली कांग्रेस, प्रजातन्त्र स्थापनाको आन्दोलनको भग्नावशेषमा दबेर रहेका छन् । कोही भने जाज्वल्यमान भएका छन् । सर्वकालिक र सबै युगका लागि आफूलाई अविश्वमरणीय बनाइसकेका छन् ।
यहाँसम्म लेख्दा म स्वयंले बिर्सिसकेँ कि म यो फेहरिस्त किन लेखे ? तैपनि यी पंक्तिहरू लेखेँ, सानो अभिलेखको रूपमा ।
प्रतिक्रिया