पार्टीले टिकट नदिएपछि पूर्वअध्यक्ष च्याङ्ग्रा व्यापारमा

कास्की । बझाङको साइपाल गाउँपालिका–१ का राजेन्द्रबहादुर धामीले २०६८ सालदेखि पोखरामा च्याङ्ग्रा झार्न थालेका हुन् ।
उनले गाउँमा च्याङ्ग्रा पालन गरी बर्सेनि दसैँको समयमा बेच्न पोखरा ल्याउने गर्थे । २०७४ सालको स्थानीय तहको निर्वाचनमा उनले बझाङको साविकको काँडा गाउँपालिका अध्यक्ष पदमा विजयी भए ।

यसलगत्तै उनी सबै काम छाडेर गाउँलेको सेवामा लागे । गाउँलेकै आग्रहमा काँडा गाउँपालिकाको नाम साइपाल गाउँपालिकामा परिवर्तन गरे । जनप्रतिनिधि भएर काम गर्दा उनले च्याङ्ग्रा व्यापार धेरै सम्झिए ।

गाउँको सेवामा लागिरहँदा यसमै लत बसिसकेको थियो । जनताको सुखदुःखमा साथ दिँदादिँदै पाँच वर्ष बित्यो । २०७९ सालमा पुनः स्थानीय तहको निर्वाचन हुने भयो । उनलाई फेरी जनप्रतिनिधि भएर काम गर्ने मन थियो । तर, पार्टीले टिकट दिएन । ‘पाँच वर्ष सेवा गरे अझै काम गर्ने मन थियो’, उनले भने, ‘पार्टीले टिकट दिएन् अनि फेरि परिवारले सम्हालेको च्याङ्ग्रा पालनतिर लागे ।’

उनलाई पूर्वगाउँपालिका अध्यक्ष हुँ भन्ने दम्भ कहिल्यै भएन । काम भनेको सानो ठूलो हुँदैन भन्ने उनको सिद्धान्त छ । ‘म त पूर्वजनप्रतिनिधि हुँ भन्ने कहिल्यै लागेन । अहिले पनि गाउँलेको सेवामा हाजिर हुन्छु’, उनल भने, ‘काम सानो ठूलो लाग्दैन । मैले च्याङ्ग्रा पालनसँगै जडीबुटी खोज्ने र व्यापार पनि गर्छु ।’
धामी अहिले पोखरामा च्याङ्ग्रा धपाइरहेको अवस्थामा भटिन्छन् । उनी दसैँका लागि १ सय २७ च्याङ्ग्रा लिएर शुक्रबार पोखरा आएका हुन् । ‘दसैँमा पोखरामा च्याङ्ग्रा धेरै बिक्री हुन्छ । यसैले बझाङदेखि तीन दिन तीन रात काटेर च्याङ्ग्रा लिएर आएको हुँ”, उनले भने, ‘मैले ल्याएको १ सय २७ च्याङ्ग्रा मध्ये आफैँले पालेको ८० वटा छ । अरू गाउँलेसँग किनेर ल्याएको छु ।’
सप्तमीसम्म ल्याएको च्याङ्ग्रा सबै बिक्री हुनेमा उनी विश्वस्त छन् । यहाँको व्यापारबाट भएको आम्दानीले दसैँ धुमधामले मनाउने उनको योजना छ । ‘सप्तमीसम्म सबै बिक्छ । यसबाट दुई लाख जति नाफा होला कि भन्ने सोचेको छु । के थाहा घाटा पनि हुनसक्छ’, उनले भने, ‘अष्टमीतिर घर फर्कने अनि दसैँ मनाउने भन्ने योजना छ ।’ उनले पोखरा ल्याएको च्याङ्ग्राको मूल्य २५ हजारदेखि ५० हजारसम्म मूल्य तोकेका छन् ।

उनले अन्य समयमा बझाङमै च्याङ्ग्रा बेच्ने गर्छन । यो व्यापारबाट उनले एक वर्षमा १० देखि १२ लाख आम्दानी गर्ने गरेको उनले बताए । ‘गाउँपालिका अध्यक्षमा जिताएर त्यहाँका जनताले अनुभव गर्ने अवसर दिएका थिए । मैले उहाँहरूको सेवा पनि गरेँ’, उनले भने, ‘अहिले यो व्यापार गरिरहेको छु । दुवैतिर दुःख नै छ । मलाई जनप्रतिनिधि हुँदा र व्यापारी हुँदा उस्ताउस्तै लागेको छ ।’ अवसर पाए पुनः जनताको सेवा गर्ने इच्छा रहेको बताउने उनी पार्टीले नपत्याए आफ्नै व्यापार व्यवसाय अघि बढाउने सोचमा छन् ।

प्रतिक्रिया