पार्टीलाई जनतासँग जोड्न जागरण अभियान : माधव नेपाल

समाजवादी जागरण अभियानको दोस्रो दिन इटहरी सभा

सुनसरी । विभिन्न पार्टी परित्याग गरेर १९३ जना नेता कार्यकताहरू नेकपा (एकीकृत समाजवादी)मा प्रवेश गरेका छन् । एकीकृत समाजवादीको जारी समाजवादी जागरण अभियान २०८० को दोस्रो दिन इटहरीको सभामा नेता कार्यकताहरू प्रवेश गरेका हुन् ।

नवप्रवेशीलाई पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिवलगायतले स्वागत गरेका थिए ।

सो अवसरमा बोल्दै अध्यक्ष नेपालले देशको वर्तमान अवस्थाका बारेमा जानकारी गराए । उनले आगामी दिनमा पार्टीले लिने रणनीति र कार्यदिशा जनतासमक्ष जानकारी गराउन १२ सय किलोमिटरको समाजवादी अभियानको सुरुवात गरिएको जानकारी दिए । अभियानले पार्टीलाई जनतासँग जोड्ने बताउँदै अध्यक्ष नेपालले युवालाई रोजगार, कृषि उत्पादनमा जोड लगातयका जनताको जनजीविकाको सवालमा हातेमालो गर्न जागरण अभियान सुरु गरिएको स्पष्ट पारे।

सभामा पार्टीका सम्मानित नेता झलनाथ खनाल, पार्टीका उपाध्यक्ष, महासचिव, उपमहासचिव, सचिव लगायतका केन्द्रीय नेताहरूले सम्बोधन गरेका थिए ।

पार्टी केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आफ्नो पार्टी सानो भएपनि राज्यको जिम्मेवार शक्ति भएको दाबी गरिन् । झाँक्रीले भनिन्, ‘हामीलाई अब रवि लामिछानेको भाष्य बोल्न छुट छैन । सानो पार्टी भए पनि हामी राज्यको जिम्मेवार शक्ति हौं । अब हामी संवैधानिक कुरा गर्छौं । संविधानमा संकट आयो भने हामीले बचाउनुपर्छ, भन्छौं ।’

प्रतिक्रिया