काठमाडौं । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुगमनका क्रममा तीन सय ४७ फर्मलाई कारबाही गरेको छ । चालु आर्थिक वर्ष सुरु भएदेखि असोज १२ सम्ममा एक हजार एक सय ४६ व्यावसायिक फार्ममा अनुगमन गरी तीन सय ४७ लाई कारबाही गरिएको विभागका सूचना अधिकारी आनन्दराज पोखरेलले जानकारी दिए । उनका अनुसार कारबाही गरिएका फार्मलाई ९२ लाख २५ हजार मूल्य बराबर जरिवाना गरिएको छ । त्यसैगरी, ३४ फार्मबाट एक करोड एक लाख ९० हजार मूल्य बराबरको वस्तु नष्ट गरिएको विभागले जनाएको छ ।
तीन सय ३२ फार्मलाई सुधारका लागि निर्देशन दिइएको र थप अध्ययनका लागि कागजात माग भएको पनि पोखरेलले बताएका छन् । उनका अनुसार विभागले दैनिक उपभोग्य वस्तु, तरकारी तथा फलफूल, मासुपसल, औषधि, मिठाइ पसल तथा होटललगायत क्षेत्रमा अनुगमन गर्दा तोकिएकोभन्दा चर्को मूल्यमा बिक्री वितरण भइरहेको, न्यून गुणस्तर, लेभल नभएका वस्तु बिक्री गरेको, कृत्रिम अभाव सिर्जना गरेकोलगायतका समस्या देखिएका थिए ।
करिब ९८ प्रतिशत व्यावसायिक फार्ममा कुनै न कुनै किसिमको कैफियत तथा समस्या भेटिएको पनि विभागले बताएको छ । गत साउनयता विभागले एक हजार एक सय ४६ व्यावसायिक फर्ममा अनुगमन गरेकामा २६ वटा मात्रै सामान्य अवस्थामा रहेका भेटिएको जनाएको छ । अहिले विभागले दैनिक औसत ३५ व्यावसायिक फार्ममा अनुगमन गरिरहेको छ । दसँै, तिहारलगायत चाडबाडका बेला उपभोक्ता बढी ठगिने र बजारमा बढी समस्या देखिने भएकाले अनुगमनको संख्या बढाउन लागिएको विभागले जनाएको छ ।
चाडपर्वलाई लक्षित अनुगमनका लागि वाणिज्य विभागको नेतृत्वमा वातावरण, खाद्यप्रविधि तथा गुण नियन्त्रण, गुणस्तर तथा नापतौल, औषधि व्यवस्था र आन्तरिक राजस्व विभाग तथा जिल्ला प्रशासन कार्यालयसँग समन्वयमा गरिरहेको पोखरेलले बताए । उनका अनुसार विभागले एक्लै र संयुक्तरुपमा बजार अनुगमन गर्दै आएको छ ।
त्यस्तै, चाडपर्व लक्षित अनुगमनतर्फ आगामी हप्ताबाट थोक बिक्रेता, गोदाम र अधिक मूल्यवृद्धि भएका वस्तुको अनुगमनलाई तीव्र बनाउने विभागले जनाएको छ । अवाञ्छित मूल्यवृद्धि, न्यून गुणस्तर तथा कृत्रिम मौज्दातजस्ता सूचना भए पैसा नलाग्ने टेलिफोन नम्बर ११३७ मार्फत जानकारी दिन पनि विभागले अपिल गरेको छ ।
प्रतिक्रिया